प्रधानमन्त्री बन्ने प्रयास असफल भएपछि काठमाडौँबाट धरान फर्केका मेयर हर्क साम्पाङ आफूलाई खिसीटिउरी गरिएको भन्दै पत्रकार सम्मेलनमै धरधरी रोएका छन्।
काठमाडौँबाट फर्किएलगत्तै मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्रीमा दाबी गर्दाका अनुभव सुनाउँदै भक्कानिएका हुन्।
‘प्रधानमन्त्री बन्न गयो यो भनेर मलाई कति जनाले भनिराख्नुभएको छ, तीन करोड नेपालीमा हर्क साम्पाङ मात्रै हो- विषम परिस्थितिलाई म ह्यान्डल गर्छु भनेर आँट गरेर जाने मान्छे। योचाहिँ बुझ्नुस् तपाईंहरूले। मलाई प्रधानमन्त्री बनाउने, मलाई के बनाउने भन्ने कुरा होइन, म त यो देश बनाउन ढुंगा बोकिरहेको मान्छे हो। मेरो देशै छैन भने कहाँ ढुंगा बोक्ने म’, रुँदै उनले भने, ‘विदेशमा ढुंगा बोक्नुपर्ने भए त म एउटा भिसा लगाएर गइहाल्छु नि! मलाई धेरै मानिसहरूले पदलोलुप भनेर आरोप पनि लगाउनुभयो। खिसीटिउरी गर्नु भो। तर सच्चा नेपाली साथ मलाई रहिराखेकै छ।’
उनको थप भनाइ यस्तो छ:
प्रधानमन्त्री को बन्ने, कल्लाई बनाउने भन्ने कुराहरू त्यहाँ निस्क्यो। त्यसो हुँदाखेरि जेनजी भन्नेबत्तिकै योङ जेनेरेसन हो, योङ्गेस्ट जेनेरेसन हो। त्यो योङ्गेस्ट जेनेरेसनको चाहनाचाहिँ के रहेछ भने बालेनले गरिदेओस् भन्नेरैछ। तर बालेनजीले गर्न नमानेर उहाँले सुशीला कार्कीको नाम सिफारिस गर्नुभाछ भन्ने कुराहरू आयो। सुनेको कुरा, बुझेको कुरा भन्ने हो हामीले। अनुसन्धानको विषय फाल्टै होला। अनि त्यो सुशीला कार्की त अब जे भए पनि मैले उहाँलाई अपमान गरेको होइन। किनभने प्रधानमन्त्री भइसक्नुभाछ। त्यतिखेरको सिचुएसन यहाँ मैले भन्नुपर्छ। उहाँ त वृद्ध हुनुहुन्छ। एउटा वृद्धलाई हटाएर, केपी ओली वृद्धलाई हटाएर अर्काे वृद्धलाई किन ल्याउने हामीले? जेनजी भन्नुको मतलब योङ्गेस्ट जेनेरेसनको म्यान्डेट त योङ मान्छेले चलाओस्। बालेनले चलाउँदैन भने हर्क साम्पाङले चलाउँछ भनेर त्यहाँ कुरा भयो। र्याली भयो। र्यालीमा मैले भनेँ– नगर प्रमुख भएर पछाडि बस्ने कुरा भएन। अगाडि ब्यानरमै, सबै युवाहरू खुसी हुनुहुन्थ्यो। राम्रो काम गरेरै होला। नत्र भने म त्यहाँ निस्किँदा कुटाइ खान्थेँ होला। त्यत्रो मान्छेहरूले भनिसकेपछि मलाई लाग्यो– म त यो देश बनाउन आको मान्छे हो। (रोए)। हिम्मत हारेको भन्नुहुन्छ के तपाईं, मजत्तिको गतिलो कोही पनि छैन हेर्नुस्। कुरा बुझ्नुस्। तँलाई गोली लाग्छ सक्न भन्ने कुराहरू थ्यो त्याँ। ठिक छ, लाग्छ भने लागोस्। म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिराख्याथ्यो नेता भनाउँदाहरू त्यतिखेर। सबै मान्छे घरमा लुकिरहेका बेला यो देशलाई बचाउनका लागि दनदनी बलिरहेको आगोमा हाम फालेँ मैले, हाम फाल्ने निर्णय गरेँ। पाँच सय किलोमिटरको यो हामी।
भिडिओ-
Shares

प्रतिक्रिया