राजनीति


मधेश प्रदेशका सबै निकायलाई तीन महिनामा भ्रष्टाचारमुक्त बनाउँछु : मुख्यमन्त्री यादव

मधेश प्रदेशका सबै निकायलाई तीन महिनामा भ्रष्टाचारमुक्त बनाउँछु : मुख्यमन्त्री यादव

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०७९ बुधबार १८:४८, जनकपुरधाम

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गरेका छन्। 

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ उक्त प्रतिवद्धता व्यक्त गरेका हुन्। 

मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारालाई शुन्यमा पुर्‍याउने प्रतिवद्धता जनाएको उनले स्मरण गरे। 

त्यही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाइ थियो। 

उनले भ्रष्टाचार छानबिनका लागि आफूले ५ सदस्यीय समिति गठन गरेको पनि स्मरण गराए। 

मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर अघि बढने कार्ययोजनासमेत सार्वजनिक गरे। 

सरकारको नीति तथा कार्यक्रमसमेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाइ थियो।

‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो। अब मैले तीन महिनाभित्र प्रदेश सरकारका कार्यालयहरुलाई भ्रष्टाचार शून्य गरिदिन्छु', उनले भने, 'सबै दललाई मिलाएर एकसाथ लग्नेछु। पाँच वर्ष प्रदेश सरकारबाट भएका कामको छानबिन गर्न छानबिन समिति गठन गरिदिएको छु। सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउनेछु। आवश्यक परे पुरक बजेट पनि ल्याउन सकिन्छ।’

उनले मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा विश्वासको मत पाएका छन्। प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई बतए। 

१०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहेका थिए। यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएका छन्। 

गत पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका थिएनन्। 

तर पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका छन्। 

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो। प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि पक्षमा मतदान गरेको छ।

अब मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही छैनन्। मुख्यमन्त्री यादवले कांग्रेससहित १० वटै दलको विश्वास जुटाउन सफल भएका छन्। प्रदेशसभामा हाल १०५ सांसद छन्। माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .