जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ का उम्मेदवार शिवचन्द्र कुशवाहाले मतदान गरेका छन्।
महागढीमाई नगरपालिका २ बरैयाटोलस्थित स्वास्थ्य चौकीको मतदान केन्द्रमा आइतबार बिहान ठिक सात बजे उनले मतदान गरेका हुन्।
कुशवाहा सोही ठाउँका स्थानीय बासिन्दा हुन्। गाउँकै मतदान केन्द्रमा आफूले मतदान गरेको कुशवाहाले बताए।
‘आज यो केन्द्रमा पहिलो मतदान मैले नै गरेँ,’ कुशवाहाले नेपालखबरसँग भने, ‘यहाँ बिहानैबाट शान्तिपूर्ण ढंगले मतदान सुरु भएको छ।’
तर, बारा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादव भने आफैँलाई मतदान गर्न नपाउने भएका छन्।
आफ्नो मतदाता नामावली सुनसरीमा रहेकाले आफूले यसपटक मतदान गर्न नपाएको यादवले नेपालखबरलाई बताए।
‘यो क्षेत्रको मतदाता नामावलीमा मेरो नाम समावेश छैन,’ उनले नेपालखबरसँग भने, ‘त्यसैले मैले यसपटक मतदान गर्न पाइँन।’
बारा क्षेत्र नम्बर २ मा आज भएको उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी ३४ जनाबीच प्रतिस्पर्धा हुँदैछ।
यो क्षेत्रमा मुख्यरुपमा जसपा अध्यक्ष यादव र तीन साताअघि मात्रै माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका कुशवाहाबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया