राजनीति


सभामुख आकाशबाट आउने होइन, मलाई एमालेको सभामुख भन्न मिल्दैन: मधेसका सभामुख मण्डल (अन्तर्वार्ता)

‘म छँदाखाँदाको शिक्षकको जागीर छाडेर, १० वर्ष जनयुद्ध लडेर आएको हुँ’
सभामुख आकाशबाट आउने होइन, मलाई एमालेको सभामुख भन्न मिल्दैन: मधेसका सभामुख मण्डल (अन्तर्वार्ता)

जनार्दन पोखरेल
मंसिर ३, २०८२ बुधबार १२:३८, काठमाडौँ

ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते बिहान बर्दिवासको एक होटलमा एमाले नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मधेस प्रदेश सभा र मधेस सरकार विवादमा फसेको छ। यही विवादकाबीच मधेसका सभामुख रामचन्द्र मण्डलविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन आज उपसभामुख बबिता कुमारी राउतले प्रदेश सभाको बैठक आह्वान गरेकी छन्।

‘पदअनुकूल आचरण नगरेको’ भन्दै एमाले बाहेकका दलले गएको कात्तिक २७ गते सभामुख मण्डलविरुद्ध प्रदेशसभा सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमाथि बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुँदैछ। उपसभामुखले बैठकमा सभामुख मण्डललाई पनि खबर गरेको जानकारी दिएकी छन्। सरकार गठनको किचलोकाबीच बैठकमा उपस्थित नभएको आरोप लगाउँदै सभामुख मण्डलले पदमुक्त गरेका पाँचजना सांसदलाई सर्वोच्च अदालतले तत्काल पदबाट नहटाउन आदेश दिएको छ। मधेसमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै जाँदा एमाले बाहेकका सातदल एक ठाउँमा उभिएका छन्। यसै सन्दर्भमा नेपालखबरले मधेसका सभामुख रामचन्द्र मण्डलसँग गरेको संक्षिप्त वार्ता:

सभामुखज्यू जनकपुरतिरै हुनुहुन्छ? 
होइन, म अहिले काठमाडौँमा छु। 

तपाईँ काठमाडौँमा हुनुहुँदो रहेछ, उता मधेसमा तपाईँविरुद्धको महाअभियोग पारित गर्न आज प्रदेस सभाको बैठक बस्दै छ रे!

म विरुद्ध दर्ता भएको भनिएको महाअभियोग प्रस्ताव मधेस प्रदेशसभा सचिवालयको रेकर्डमै छैन। उपसभामुख प्रभावमा पर्नुभयो। उहाँले नै मविरुद्धको महाअभियोग दर्ता गर्नुभयो। यो प्रदेशसभा संचालन नियमावलीविरुद्धमा छ। कुनै पनि अभियोग प्रदेससभा सचिवालयका सचिवकहाँ दर्ता हुनुपर्ने हो, यसमा त्यो प्रक्रिया अपनाइएको छैन। अहिले प्रदेशसभा सचिवालयमा कुनै कर्मचारी नै छैनन्। उपसभामुखको हातमा भएको अभियोगमा के को छलफल? बल प्रयोग गरेर उहाँहरू यो सबै गर्न खोज्दै हुनुहुन्छ। यसले विवाद अझ बढ्छ जस्तो लाग्छ। 

तपाईँले पाँचजना सांसदलाई पदमुक्त भनेर गरेको निर्णयलाई सर्वोच्चले उल्टाइदियो, नव नियुक्त मुख्यमन्त्रीलाई पनि काम नगर्न भनेको छ, यसमा तपाईँको धारणा के छ? 
समस्या देखिँदा विधिमा हल गर्नुपर्छ। मुख्यमन्त्री नियुक्ति प्रदेश प्रमुखले गर्नु भएको हाे, शपथ गराउनु भएको हाे। यो सबै संवैधानिक प्रक्रिया अनुसार नै मैले गरेको हुँ भनेर निवर्तमान मुख्यमन्त्री भन्दै हुनुहुन्छ। कुन धाराअनुसार मुख्यमन्त्री नियुक्त गर्ने भन्ने कुरा प्रदेश प्रमुखको विषय भयो। त्यता म गइँन। यता प्रदेश सभालाई पनि विवादित बनाउने प्रयास गरिँदैछ। त्यसो नगर्दा हुन्थ्यो भन्ने मलाई लाग्छ। यसरी बल प्रयोग गर्न खोज्दा अवस्था विग्रन्छ नि। समस्या बढाउने काम गर्छ। मेरो विरुद्धको प्रस्ताव छ भने सचिवालयमा आएर दर्ता गर्नु पर्थ्याे नि। त्यतिबेला म आफैँ राजीनामा दिन्छु।  तर, सबै प्रक्रिया विधिसम्मत हुनुपर्‍या। मेराे लागि पद ठूलो कुरा होइन। 

सर्वाेच्च अदालतले तपाईँले गरेको निर्णयविरुद्ध फैसला दिएपछि पाँचजना प्रदेशसभा सदस्यलाई तपाईँले पूर्वाग्रही भएर पदमुक्त गर्नु भएको पुष्टि भएन र? 
ती मैले पदमुक्त गरेका पाँच जना सांसद लगातार १० पटकभन्दा बढी गैर हाजीर हुने सांसद हुन्। उनीहरूको विषयमा सर्वोच्चले गरेको अल्पकालीन आदेश मात्रै हो। त्यो मुद्दा अहिले पनि सर्वोच्चमै छ। त्यसलाई मिचेर काम अघि बढाउन खोजिँदै छ। मविरुद्ध दर्ता भएको भनिएको महाअभियोगमाथिको छलफल एकहप्ता पछि गर्दा पनि हुन्थ्यो। मेरो विरुद्धको प्रस्ताव विधिवत रुपमा प्रदेश सचिवालयका सचिवकोमा दर्ता गराउनु पर्थ्याे। त्यसरी दर्ता भएपछि म पनि त्यसलाई स्वीकार गर्थेँ। महाअभियोग लगाएपछि मलाई जानकारी हुनुपर्ने थियो। गणपुरक संख्या पुगेको छ कि छैन, मैले पनि बुझ्न पाउनु पर्‍याे नि। 

उपसभामुखले तपाईँलाई पनि बोलाउनु भएको छ रे, आजको बैठकमा जानुहुन्छ? 
म जाने कुरै भएन नि। उपसभाुखले आह्वान गरेको बैठकमा म कसरी जाने? जान्न। 

मैले अघि उपसभामुखसँग पनि कुरा गरेको थिएँ, उहाँले तपाईँलाई बैठकमा उपस्थित हुन खबर गरेको छु भन्दै हुनुहुन्थ्यो। तपाईँविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकाले तपाईँले बैठक राख्न नमिल्ने भएकाले उहाँले बैठक बोलाउनु भएको रे?
महाअभियोग लगाउने प्रक्रिया नै गलत छ। यौ मैले अघि नै भनिसकेँ त तपाइँलाई। 

गएको कात्तिक २२ गते तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था देखेपछि राजीनामाको घोषणा गर्नुभयो। त्यतिबेला तपाईँले विपक्षी दलहरूलाई छलफलको लागि समय दिनु भएन र यो अवस्था आयो भन्ने आरोप एमाले बाहेकका दलले लगाइरहेका छन् नि?
त्यतिबेला मुख्यमन्त्री सोनल जीले राजीनामा दिएपछि उहाँले फेरि आफैँ विश्वासको मत लिने कुरा गर्नु भएको थियो। सदनमा मुख्यमन्त्रीले राजीनामा घोषणा गरेपछि त्यसपछिका बाँकी प्रक्रियाको लागि सदन अघि बढाउन मैले उपयुक्त देखिनँ। नदेखेपछि मैले बाँकी प्रक्रिया स्थगन गरेर विषय अघि बढाएको हो। विषयबस्तु यत्ति न हो। मुख्यमन्त्रीले राजीनामा दिएपछि मैले यो गर्नु त उपर्युक्त नै थियो नि। 

तपाईँ एमालेबाट सभामुख बन्नु भएको मान्छे। एमालेकै अनुकूलतामा सदन चलाउनु भयो, एमालेकै डिजाइनमा काम गर्नुभयो, अरु दलका कुरा सुन्नु भएन, छलफलको लागि समय पनि दिनु भएन भन्ने आरोप अरु दलले लगाएका छन् नि! 
संसारमा कहीँ नभएको जात्रा अहिले मधेसमा देखाइँदैछ। त्यतिबेला मुख्यमन्त्रीले सदनमा सम्बोधन गरेर विषयवस्तु राख्नुभयो। स्पष्टीकरण दिनुभयो। १० मिनेट सदन स्थगित गर्न समय माग्नुभयो। उहाँकै माग अनुसार मैले सदन स्थगित गरेँ। त्यसको एकघण्टा पाँच मिनेटपछि मात्रै फेरि सदन सञ्चालन भएको हाे। त्यसबीचमा उहाँहरूले फ्लोर क्रस गर्ने घोषणा गरेका दुईजना सांसदलाई फकाउने काम गर्नुभयो। त्यतिमात्रै होइन, बैठकमा अनुपस्थित भएका सांसदलाई पनि घरमै गएर ल्याउने प्रयास भयाे। हामीले बोलाएको छलफलमा उहाँहरू आउनु नै भएन। यता कांग्रेस र एमालेले मलाई प्रेसर गरेका गरै गरे। सदन चलाउन दबाब दिए। 

मधेसमा अहिले जे-जे हुँदैछ, त्यसमा तपाईँबाट कुनै त्रुटि भएकै छैन त? 
हेर्नुस्, संविधान र कानुनले देश चल्ने हो। संविधानले प्रदेश सांसदको स्थान रिक्त हुने निश्चित व्यवस्था गरेको छ। राजनीनामा दिएमा, मृत्यु भएमा, लगातार १० वटा बैठकमा अनुपस्थित भएमा सांसदको पद रिक्त हुने व्यवस्था संविधान र कानुनले गरेको छ। मैले पदमुक्त गरेका काेही सांसद १२ वटा, काेही १५, कोही १६, कोही १८ वटा बैठकमा अनुपस्थित भएका छन्। त्यो पनि लगातारका बैठकमा। यदि यो लागू हुँदैन भने संविधानमा किन लेख्नुपर्थ्याे? 

उपसभामुख त सभामुखले पदमुक्त गरेका सबै सांसद नियमित बैठकमा आइरहनु भएको थियाे भन्दै हुनुहुन्छ।
उपसभामुखको कुरा छाड्नुस्। यी सबै कुरा संसद्को रेकर्डमा देखिने कुरा हुन्। हाजीरी अभिलेखले के भन्छ त्यसमा विश्वास गरौँ न हामी। 

मधेसलाई संघीयताको जननी प्रदेशको रुपमा बुझिन्थ्यो। अहिले मधसकै कारण संघीयताकै बदनाम हुने अवस्था सिर्जना भयाे जस्तो लाग्दैन तपाईँलाई? 
यी सबै किचलोको राजनीतिक निकास निकाल्नुपर्छ। छलफलबाटै समस्या समाधान हुनुपर्छ। 

त्यस्तो छलफलको लागि सभामुख नै बाधक हुनुहुन्छ भन्ने आरोप विपक्षी दलले लगाउँदै छन् नि? 
मविरुद्ध महाअभियोग उहाँहरूले दर्ता गर्ने। अनि म कसरी बाधक भएँ? 

तपाईँ एमालेको डिजाइनमा काम गर्नुहुन्छ रे, अरु दलका कुरा सुन्नु हुन्न रे! 
मैले कसरी एमालेको डिजाइनमा काम गरे? सभामुख कुनै दलबाट निर्वाचित भएकै बन्ने हुन्। एमालेबाट निर्वाचित भएको मान्छेलाई किन सभामुख बनाएको त? हेनुस् सभामुख कुनै पनि दलबाटै निर्वाचित भएको व्यक्ति बन्ने हाे। सभामुख आकाशबाट आउने होइन। उपसभामुख पनि कुनै दलकै हुनुहुन्छ। एमालेको पक्षमा सभामुखले यो-यो काम गरे भनेर अन्य दल पुष्टि गर्न सक्छन्? यसअघि मेरो कार्यकालमा तीन जना मुख्यमन्त्री भइसक्नु भएको थियाे, ती मुख्यमन्त्री एमालेका थिए र? अहिले उपसभामुखले गरिरहेको क्रियाकलापलाई के भन्ने? 

संसदीय व्यवस्थामा त बहुमतको कदर हुनुपर्ने होइन र? बहुमत सांसद एकातिर हुँदाहुँदै ठूलो दलको भनेर सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्न मिल्थ्यो प्रदेश प्रमुखले? 
बहुमत समयमा विधि पुर्याएर आउनु पर्‍याे नि। बहुमत भन्दैमा जे भन्दा पनि हुन्छ? बहुमत बनेर आए त म आफैँ पनि राजीनामा दिन्छु नि। 

उहाँहरूसँग दुई तिहाइ मत छ रे, आज तपाईँलाई पदमुक्त गर्ने रे सभामुखबाट! 
ठिक छ गरुन्। हेर्नुस् राजनीतिको लागि मैले छँदाखाँदाको शिक्षकको जागीर छाडेको हुँ। १० वर्ष जनयुद्ध लडेको हुँ। पहिला पनि कुरो नमिलेपछि मैले सांसद पद छाडेको थिएँ। मैले सभामुखको लागि मरिहत्ते गरेको होइन, विधिको मात्रै कुरा गरेको हुँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad