आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सत्ता जोगाउन जेनजी युवाको हत्या गर्ने र सत्ता पाउनको लागि युवालाई उक्साउने दुवै थरी अतिवादीबाट देशलाई जोगाउनुपर्ने बताएका छन्।
बुधबार वीरगन्जको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले अतिवादले देशलाई अगाडि लग्न नक्सने बताए। ‘जेनजी पुस्ताले देशमा सुशासन कायम गर्न, भ्रष्टाचारीलाई कारबाही गर्नको लागि सचेततापूर्वक आन्दोलन गरे, तर सत्ता जोगाउन केपी ओलीहरूले गोलीको वर्षा गराए, युवाहरुको हत्या गराए। अनि उता युवालाई बलिको बोको बनाएर सत्तारोहण गर्ने रवि लामिछाने र बालेन शाहहरूबाट यो देशलाई बचाउनुपर्छ। दुवै अतिवादीलाई कारबाही हुनुपर्छ,’ साहले भने।
गत भदो २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको औचित्यमाथि पनि उनले प्रश्न गरेका छन्। तोकिएको समयमा काम गर्न नसक्नु आयोगको असफलता भएको उनको टिप्पणी छ।
उनले प्रधानमन्त्री सुशीला कार्कीलाई जाँचबुझ आयोगको प्रतिवेदन नरोक्न आग्रह गरे। ‘सरकारको आयु नै सकिने बेला भईसक्यो, तर तपाईंले गठन गरेको आयोगको म्याद चाहीँ लम्बिएको लम्बिएछ,’ साहले भने, ‘प्रतिवेदन तयार भईसक्यो भनेर पदाधिकारीले सार्वजनिक रुपमा बोलिसकेका छन्, अनि त्यो प्रतिवेदन सार्वजनिक गर्न के को समय चाहिन्छ? सार्वजनिक गर्नुहोस।’
अहिलेको निर्वाचनमा जनताले असल नेताको खोजी गरेको भन्दै नक्कली नायकको भ्रम फिजाएर जनमत लिने कोशिस भइरहेको उनले आरोप लगाए। ‘अहिले लडाईं सत्यवादी र शक्तिवादीबीच भइरहेको छ। हामी संख्यामा होइन, सत्यमा विश्वास गर्छौं। जनताले न्याय दिनुहुनेछ भन्ने विश्वास छ,’ साहले भने।
उनी प्रतिनिधि सभाको निर्वाचनका लागि रौतहट-३ बाट उम्मेदवार बनेका छन्।
Shares

प्रतिक्रिया