नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा-३ बाट उम्मेदवार रहेका नेता निधिले कांग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको जिकिर गरे। ‘अहिलेको अवस्था राम्रो छ, नेपाली कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ,’ निधिले भने, ‘हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापाको युवा उर्जा देखिएको छ। यसलाई मैले सकारात्मक रुपमा लिएको छु।’
अहिले कांग्रेसमा देशभर एकता रहेको उनको भनाइ छ। ‘एउटा कुरा मैले देखिरहेको छु, अहिले कांग्रेसमा आन्तरिक एकता रहेको छ,’ उनले थपे, ‘म के भन्न सक्छु भने कांग्रेसले बहुमत प्राप्त गर्छ।’
आन्तरिक मतभेदलाई आफैँले पनि रुची लिएर समेट्ने कोसिस गरिरहेको उनले बताए। ‘आन्तरिक मतभेदलाई म आफैँ पनि रुची लिएर समेट्ने कोसिस गरिरहेको छु, जसमा सफलता पनि पाएको छु,’ उनले भने।
प्रतिनिधि सभाको निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्य र सुशासनको काम गर्ने उनको भनाइ थियो। ‘अब हामीले आधुनिक प्रणालीलाई विकास गर्नुपर्छ। डिजिटल गभर्नेन्स सिस्टम अर्थात् ई-गभर्नेन्स सिस्टमलाई अघि बढाउनुपर्छ। यो सिस्टमले भ्रष्टाचारको न्यूनीकरण, पारदर्शिता र सुशासनको कुरा सम्बोधन हुन्छ,’ निधिले भने।
नयाँ ड्राइभरले गाडीलाई जतिबेला पनि दुर्घटना गराउन सक्ने भन्दै उनले सचेत भएर मतदान गर्न आग्रह गरे। ‘जसले काम गरेर देखाएकै छैन, जसको कामको कुनै अनुभव नै छैन, त्यसले नयाँ काम गर्छु भन्दैमा भरोसा गर्ने ठाउँ छैन,’ रास्वपालाई लक्षित गर्दै निधिले भने, ‘नयाँ ड्राइभरले त जतिबेला पनि दुर्घटना गराइदिन सक्छ। लिकभन्दा बाहिर पुर्याइदिन सक्छ।’
राष्ट्रिय राजनीतिको एजेन्डामा संविधानलाई लिकमा ल्याउने, क्षतिग्रस्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सफल कार्यान्वयन गर्ने विषय मूल भएको बताए। त्यसका लागि निर्वाचित सरकार आवश्यक रहेको उनको भनाइ थियो।
उनले जनकपुर धार्मिक पर्यटनको विकासका लागि महत्त्वपूर्ण स्थान रहेको बताउँदै राम-जानकी स्टेडियमलाई जतिसक्दो छिटो निर्माण गर्न लगाउने प्रतिबद्धता जनाए।
Shares

प्रतिक्रिया