ad ad

राजनीति


बाजुरामा बद्रीले कांग्रेसको विरासत फर्काउलान् कि कर्णले एमालेको जित जोगाउलान्?

पाण्डेलाई गठबन्धनको भर, थापालाई एमालेकै डर
बाजुरामा बद्रीले कांग्रेसको विरासत फर्काउलान् कि कर्णले एमालेको जित जोगाउलान्?

फाइल तस्बिर


गोकुल जोशी
कात्तिक १६, २०७९ बुधबार ६:५७, कञ्चनपुर

आसन्न चुनावमा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको बाजुरामा मुख्य भिडन्त प्रमुख सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका दुई प्रभावशाली नेताबीच हुँदै छ। 

सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डे र एमाले सुदूरपश्चिमका सह-इन्चार्ज कर्णबहादुर थापा पहिलोपटक आमनेसामने भएका छन्। 

पाण्डे प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवापछि  सुदूरपश्चिमबाट कांग्रेस पदाधिकारीमा अटाएका नेता हुन् भने थापा एमालेका  सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट पछिका सुदूरपश्चिमका ठूला एमाले नेता हुन्।

नेकपा एमालेलाई ०७४ सालको विरासत जोगाउनुपर्ने चुनौती छ। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामले एमाले उत्साहित छ।

नेपाली कांग्रेस सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथले ०७४ को नतिजा उलटफेर गर्ने रणनीतिका साथ मैदान उत्रिएको छ।

पाण्डे र थापाबाहेक बाजुरामा प्रतिनिधि सभातर्फ राप्रपाका जंगबहादुर गिरी, जनसमाजवादी पार्टीका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल पनि चुनावी दौडमा छन्।

एमालेले प्रदेश सभा (१) मा बलदेव रेग्मी र प्रदेश सभा (२) मा लालबहादुर थापालाई उम्मेदवार बनाएको छ। सत्तारुढ गठबन्धनबाट प्रदेश सभा (१) मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुवैको उम्मेदवारी छ।

माओवादी केन्द्रबाट कर्णबहादुर विश्वकर्मा र नेकपा एकीकृत समाजवादीबाट नरेशकुमार शाही मैदानमा छन्। प्रदेश सभा (२) मा नेपाली कांग्रेसका पदमबहादुर शाही उम्मेदवार छन्।

०६४ पछि जितविहीन कांग्रेस
नेपाली कांग्रेसले बाजुरामा ०६४ सालको पहिलो संविधान सभा चुनावपछि प्रतिनिधि सभामा जित निकाल्न सकेको छैन।

बहुदलपश्चात् अहिलेसम्म भएका ६ वटा निर्वाचनमध्ये नेपाली कांग्रेस र एमालेले ३/३ वटा संसदीय चुनाव जितेका छन्।

०४८ सालको चुनावमा नेपाली कांग्रेसका देवराज जोशीले एमालेका हिक्मतबहादुर शाहीलाई हराउँदै संसद् यात्रा तय गरेका थिए।

त्यसपछि ०५१ को चुनावमा एमालेका शाहीले कांग्रेसका जोशीलाई हराउँदै ०४८ को बदला लिए। त्यसयता ०५६ र ०६४ को चुनावमा लगातार कांग्रेसले बाजी मार्‍यो।

०५६ मा कांग्रेसका जनकराज गिरीले एमालेका कर्णबहादुर थापालाई उछिन्दै बाजुरामा कांग्रेसको झण्डा फहराए। यस्तै, ०६४ को पहिलो संविधान सभा चुनावमा कांग्रेसका देवराज जोशीले एमालेका थापालाई हराएका थिए।

त्यसयता कांग्रेसले बाजुरामा जित्न सकेको छैन। ०७० दोस्रो संविधानसभा चुनावमा एमालेका कर्णबहादुर थापाले कांग्रेसका मानबहादुर रावललाई उछिन्दै पहिलोपटक संसदको यात्रा तय गरेका थिए।

०७४ को चुनावमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका एमालेका लालबहादुर थापाले कांग्रेसका कविराज पण्डितलाई हराएका थिए। यसपटकको चुनावमा नेपाली कांग्रेस १५ वर्षपछि जितमा ‘कमब्याक’ गर्ने रणनीतिमा छ।

कांग्रेस उम्मेदवार बद्री पाण्डे

बद्रीले विरासत फर्काउलान्?
कांग्रेसको विरासत फर्काउने जिम्मेवारी सहमहामन्त्री पाण्डेको काँधमा छ। उनी पहिलोपटक प्रत्यक्षतर्फबाट संसदीय चुनावको सामना गर्दै छन्।

यसअघि ०७० सालको संविधान सभाको चुनावमा पाण्डे समानुपातिक तर्फबाट सांसद भए भने ०७४ मा उनी राष्ट्रिय सभाको सदस्य बनेका थिए।

उनले वि.सं. ०४३ मा नेपाल विद्यार्थी संघबाट राजनीति थालेका हुन्। ०४७ मा वाल्मीकि क्याम्पसमा एकाइ सदस्य हुँदै ०४९ मा एकाइ सचिवमा चुनिएका थिए।

०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी ०५२ मा वाल्मीकिमै एकाइ अध्यक्ष भए। ०५३ मा वाल्मीकिको स्ववियु र ०५४ मा स्ववियु परिषदको सभापति बनेका थिए– पाण्डे।

उनी ०५६ मा नेविसंघको केन्द्रीय सदस्य हुँदै ०५९ मा उपाध्यक्ष भए। उनी ०६४ को १०औँ महाधिवेशनमा प्रदीप पौडेलसँग हारे। 

उनले ०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य पद जिते। पाण्डे ०७२ मा भएको १३औँ महाधिवेशनमा खुलाबाटै केन्द्रीय सदस्य बने। 

त्यसपछि उनी कांग्रेसको १४औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री चुनिए। उनै पाण्डे जित हासिल गर्दै ०६४ यता बाजुरामा गुमेको कांग्रेसको पुरानो साख फर्काउन कस्सिएका छन्।

सत्तारुढ गठबन्धनका दलहरूको साथ पाएकाले जित हासिल गर्न सहज हुने कांग्रेस बाजुराका सभापति रामसिंह रावल बताउँछन्।

‘गठबन्धनका दलहरूको साथले हामी यहाँ बलियो छौँ, विगतमा जितेको एमालेले जनताको पक्षमा काम गर्न सकेन’, उनले भने, ‘हामीलाई विश्वास छ– जनताले गठबन्धनलाई जिताउँछन्।’

उनका अनुसार स्थानीय निर्वाचनमा कांग्रेस गठबन्धन नगरेर एक्लै चुनावमा होमिएको थियो। ‘कतिपय ठाउँमा एमाले, माओवादी र एकीकृत समाजवादी मिलेका थिए’, उनले भने, ‘अहिले गठबन्धन मजबुत छ, गठबन्धनले जित्नेमा म ढुक्क छु।’

एमाले उम्मेदवार कर्णबहादुर थापा

कर्णलाई विरासत जोगाउने चुनौती
एमालेका कर्णबहादुर थापा बाजुरामा चौथोपटक संसदीय चुनाव लड्दै छन्। यसअघिका तीन चुनावमा उनले दुईमा हार र एकमा जित हासिल गरेका छन्।

थापा पहिलोपटक ०५६ सालमा हारे, त्यसपछि ०६४ मा पनि उनले जित्न सकेनन्। ०७० को चुनाव जितेर उनले संसदको यात्रा तय गरेका थिए।

०७४ मा पनि जितेको नेकपा एमालेलाई यसपटक पनि जित दिलाउने दाउका साथ थापा चुनावी मैदानमा छन्। आफ्नो पुरानो हारको घाउ मेटाउन उनी जितको खोजीमा चुनावी अभियानमा व्यस्त छन्। 

एमालेको भ्रातृ संस्था अनेरास्ववियुबाट राजनीति गरेका थापा नेपाल ल क्यापसमा स्ववियु सभापति बनेका थिए। 

त्यसपछि उनले बाजुराबाट एमालेको जिल्ला राजनीति थाले। थापा बाजुरामा तीनपटक एमाले अध्यक्ष बनेका थिए। त्यसपछि उनी अञ्चल कमिटी हुँदै केन्द्रीय कमिटीको सदस्य बनेका थिए। 

पार्टी विभाजनको पीडाबाट गुज्रिरहेको एमालेको मत यथावत् राख्दै गठबन्धनको मत तान्नुपर्ने चुनौतीमा छन्– थापा। उनलाई एमालेबाटै पनि असहयोग हुनसक्ने अनुमान छ।

थापालाई गठबन्धनको मत तान्नुका साथै एमाले नेता भीम रावल निकटको मन जित्नुपर्ने चुनौती छ। अछाममा रावललाई उम्मेदवार हुनबाट वञ्चित गराउन थापाले मुख्य भूमिका खेलेको एमाले वृत्तमा चर्चा छ। बाजुरामा रावलनिकट कार्यकर्ताको निर्णायक भोट छ।

नेकपा एमाले बाजुराका अध्यक्ष कालीबहादुर शाही प्रतिनिधि र प्रदेश दुवै सभाका सदस्यमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्छन्।

‘बाजुरामा चुनावको माहोल बनिरहेको छ, महागठबन्धन भए पनि हाम्रा लागि केही समस्या हुँदैन’, उनले भने, ‘हामी सहज ढंगले पराजित गर्ने अवस्थामा छौँ, त्यसमा पनि गठबन्धनभित्र ठूलो अन्तर्विरोध छ, त्यसैले एमालेको जित सुनिश्चित छ।’ 

एमाले अनुकूल परिणाम
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा बाजुरामा गठबन्धनविरुद्ध नेकपा एमाले बलियो देखिन्छ।

बाजुराका ९ पालिकामध्ये नेकपा एमालेले ६ पालिका प्रमुख र कांग्रेसले ३ पालिका प्रमुख पद जितेका छन्। नेकपा एमालेका पालिका प्रमुखका उम्मेदवारले ३१ हजार २२ मत बटुलेका छन्। 

नेपाली कांग्रेसले २६ हजार ६५१ मत बटुल्दा नेकपा एकीकृत समाजवादीले १ हजार ३४३ र माओवादी केन्द्रले २३१ मत बटुलेको छ।

यसरी पालिका प्रमुखका उम्मेदवारले पाएको मतका आधारमा सत्तारुढ गठबन्धनका पक्षमा कूल २८ हजार २५५ मत छ। तर केही स्थानीय तहमा नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए।

कूल ६९ वडामध्ये नेकपा एमालेले ३८, कांग्रेसले २७ र माओवादी केन्द्रले ४ वटामा जित हासिल गरेका छन्। 

संख्यामा वडा बढी जिते पनि एमाले वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धनभन्दा पछाडि देखिन्छ। 

निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरूको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत ल्याएको छ। प्रतिस्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत छ। 

माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सय ७२ मत र स्वतन्त्रतर्फका उम्मेदवारहरूले ५ सय ८४ मत प्राप्त गरेका छन्।
०७४ को हिसाब

०७४ सालको चुनावमा प्रतिनिधि र प्रदेश सभातर्फ बाजुरामा नेकपा एमालेले बाजी मारेको थियो।

वाम गठबन्धनका साझा उम्मेदवार एमालेका लालबहादुर थापाले प्रतिनिधि सभा सदस्यमा जितेका थिए। उनले २८ हजार ६५ मत ल्याउँदा कांग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याएका थिए।

प्रदेश सभा १ (१) मा नेकपा एमालेका बलदेव रेग्मी ९ हजार ८४० मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार ३०१ मत ल्याएका थिए।

यस्तै, प्रदेश सभा (२) मा एमालेका प्रकाशबहादुर शाह १८ हजार १८६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका प्रकाशबहादुर शाहीले १४ हजार ९७७ मत ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .