समाज


कोरला नाका जोड्न छुसाङमा बन्यो मोटरेवल पुल

कोरला नाका जोड्न छुसाङमा बन्यो मोटरेवल पुल

नेपालखबर
असोज २९, २०७६ बुधबार ३:५५,

कोरला नाका जोड्ने बेनी-जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ।

छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ।

यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सिधा सवारी सञ्चालन हुने गरेको थियो।

पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छुसाङका मुखिया विनोद गुरुङले जानकारी दिए।

अब कालीगण्डकी नदीबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको छ। ७७.२ मिटर लामो पुल ११ मिटर फराकिलो छ।

‘पुल बनेपछि जोमसोमदेखि लोमान्थाङसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ,’ मुखिया गुरुङले भने, ‘सडक यातायात सहज भएपछि देशका विभिन्न ठाउँबाट उपल्लो मुस्ताङ भ्रमणमा आउनेको सङ्ख्या बढेको छ।’

पुल बनेपछि जोमसोमदेखि उपल्लो मुस्ताङको दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । दैनिक उपभोग्य, खाद्यान्न र निर्माण सामग्री ढुवानी सहज भएको छ।

डोलिडारले पुल निर्माणका लागि लुम्बिनी बिल्डर्ससँग चार करोड ७३ लाख ८८ हजार ६८ मा विसं २०७३ असार ११ मा सम्झौता गरेको थियो।

गलत डिजाइनका कारण पुल निर्माणका क्रममा बस्तीतर्फ कटान हुने र खोला एकातिर पुल अर्कोतिर बन्ने अवस्था सिर्जना भएपछि अलपत्र बनेको थियो।

विसं २०७४ मा सांसद प्रेमप्रसाद तुलाचनको पहलमा डोलिडारका अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयवासीबीच पुलको डिजाइन परिवर्तन गरेर बस्तीलाई असर नपर्ने र प्रयोग हुने गरी डिजाइन परिवर्तन गराउने सहमति भएपछि पुल निर्माण अघि बढेको थियो।

छुसाङको बस्ती संरक्षणका साथै पुल निर्माण भएपछि कोरला नाकासम्मको सडक पहुँच सहज भएको सांसद तुलाचनले बताए।

‘छुसाङ र पाण्डाखोलामा मोटरेबल पुल बनिसकेको छ’, तुलाचनले भने, ‘जोमसोम–कोरला खण्डको ११० किलोमिटर सडक सात प्याकेजमा स्तरोन्नतिसँगै विभिन्न ठाउँका खोलामा मोटर चल्ने पुल बनाउने काम भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad