समाज


महोत्तरीमा बेपत्ता बालक परालभित्र मृत, बाबु र सौतेनी आमा पक्राउ

महोत्तरीमा बेपत्ता बालक परालभित्र मृत, बाबु र सौतेनी आमा पक्राउ

घटनास्थल


शैलेन्द्र महतो
साउन १५, २०७८ शुक्रबार ८:१७,

महोत्तरीमा अघिल्लो दिन हराएका ५ वर्षीय बालक भोलिपल्ट मृत फेला परेका छन्। रामगोपालपुर नगरपालिका ६ विशम्भरपुर निवासी चन्द्रकिशोर यादवका छोरा रितेशकुमारको शव भेटिएको हो। 

बुधबार अपराह्न करिब ५ बजेदेखि हराइरहेका रितेश बिहीबार दिउँसो घरबाट ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा मृत फेला परेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

उनका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा बालकको हत्या भएको देखिन्छ। 

पोस्टमार्टमका लागि शव प्रदेशिक अस्पताल (जनकपुर) पठाइएको छ। रिपोर्ट आएपछि घटनाको वास्तविकता थाहा पाइने अपेक्षा गरिएको डीएसपी विष्टले बताए। 

बालकको हत्यामा सौतेनी आमा–बाबुको संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनापश्चात् सम्पर्कविहीन भएका बुबा चन्द्रकिशोर र कान्छी आमा रागनी मुखियालाई पक्राउ गरिसकिएको डीएसपी विष्टले नेपालखबरलाई जानकारी दिए। 

बुबालाई गाउँबाटै र सौतेनी आमा रागनीलाई माइत धनुषाको बटेश्वर गाउँपालिका ५, शान्तिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानीयले उनीहरूले नै बालकको हत्या गरेको दाबी गरेका छन्। 

दोस्रो विवाहपछि घरमा खटपट
स्थानीयका अनुसार चन्द्रकिशोरले एक वर्षअघि शान्तिपुरकी रागिनीसँग दोस्रो विवाह गरेका हुन्। त्यसयता घरमा झैझगडा भइरहेको थियो। 

सात वर्षअघि विवाह गरिएकी जेठी रजनी यादवतर्फका जेठा छोरा थिए– ५ वर्षीय रितेशकुमार। कान्छा छोरा ३ वर्षका छन्। घरमा विवाद हुन थालेपछि रजनी दुवै छोरालाई चन्द्रकिशोरको जिम्मा लगाई केही महिनादेखि माइतमा छिन्। 

बुबा र कान्छी आमाको अपहेलनामा परेका रितेश केही दिनदेखि घरनजिकैको शिव मन्दिरमा बस्ने गरेका थिए। बुधबार अपराह्न ५ बजे उनलाई सौतेनी आमा रागिनीले घर ल्याएकी थिइन्। लगत्तै बालक बेपत्ता भएको स्थानीय बताउँछन्। 

यसपछि रागिनी बालक खोज्न भन्दै माइत लागेकी थिइन् भने बुबा चन्द्रकिशोरलाई भाइ राजकिशोर यादवले रितेश खोज्न बिहीबार बिहान दबाब दिएका थिए। चन्द्रकिशोर साइकल लिएर निस्के र यता स्थानीयले वरपर खोज्दा परालले छोपेको अवस्थामा रितेशको शव भेट्टाएका हुन्। 

तीन महिनाअघि छोरा रितेशलाई बुबा चन्द्रकिशोरले बेच्न पनि खोजेको स्थानीय बासिन्दाको दाबी छ। त्यसको सुइँको पाएपछि त्यसबेला चन्द्रकिशोरालई गाउँलेले कुटपिट पनि गरेको स्थानीय बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .