समाज


मेयरका भाइले १० बाख्रा वितरण गरी सय वटाको भुक्तानी लिए

मेयरका भाइले १० बाख्रा वितरण गरी सय वटाको भुक्तानी लिए

लखन दास- कालाे ज्याकेट लगाएका बिचकाे कुर्चीमा ।


शैलेन्द्र महतो
साउन २४, २०७८ आइतबार १५:५२, जनकपुरधाम

धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासका भाइ लखन दासले बाख्रा वितरणको नाममा झण्डै पाँच लाख रुपैयाँ अनियमितता गरेको रहस्य खुलेको छ। 

नगरपालिकाका निमित प्रशासकीय अधिकृत संजिव साहको मिलेमतोमा लखनले १० वटा मात्रै बाख्रा वितरण गरी ४ लाख ७० हजार रुपैयाँ भुक्तानी लिएको खुलासा भएको हो। 

लखनले विदेह नगरपालिका ७ स्थित भगवती बाख्रा पालन कृषि समूह जोगियाबाट एक सय वटा बाख्रा खरिद गरेको बिल नगरपालिकामा पेश गरी ४ लाख ७१ हजार भुक्तानी लिएको कार्यालय श्रोतले जनाएको छ। दासले ९।१० वटा मात्र बाख्रा वितरण गरी निमित प्रशासकीय अधिकृत साहसँग साँठगाँठ गरी एक सय वटाकाे प्रमाण बनाएर नगरपालिकाबाट सो रकम झिकेका हुन्।

लखनले नगरपालिकाबाट बाख्रा वितरणको नाममा झिकेको ४ लाख ७० हजार बाख्रा खरिद गरेको भनिएको भगवती बाख्रा पालन कृषि समूहका सञ्चालक हरिशंकर यादवलाई मात्र ४५ हजार दिएका छन्। बाँकी सबै रकम ४ लाख २५ हजार आफैँ राखेको सुन्नमा आएको नगरपालिकाका कृषि तथा बालि विकास अधिकृत चन्देश्वर ठाकुरले बताए।

तर नगरपालिकाले सय वटा बाख्रा वितरण गरेको कागजी प्रमाण चुस्त राखेको छ। 

वडा नं. ४ का वडाध्यक्ष विनोद गोहितमानले मेयरका भाइ लखन दासले बाख्रा वितरणको नाममा नक्कली बिल भर्पाइ बनाएर भ्रष्टाचार गरेको आरोप लगाए। उनले बाख्रा वितरण अनियमिततामा निमित प्रशासकीय अधिकृत साह, मेयर दास र उनका भाइ लखनको संलग्नता रहेको दावी गरे। 

अधिकृत ठाकुरले मेयरका भाइ लखनले एक सय बाख्रा वितरण गरेको भन्दै असारको अन्तिम साता कार्यालयमा आएर आफूसँग जवर्जस्ती भर्पाइ समेत गराएको प्रतिक्रिया दिए। 

‘एक सय बाख्रा वितरण भयो भनेर मेयरका भाइले मसँग जवर्जस्ती भर्पाइ गराउनु भयो। वितरण भयो कि भएन मलाई थाहा भएन। पछि चेक भगवती फारमको नाममा बन्यो’ अधिकृत ठाकुरले नेपालखबरसँग भने, ‘४ लाख ७० हजारबाट ४५ हजार काटेर बाँकी रकमको चेक फारमबाट काटेर लखनले लिनु भो। यो कुरा फारमका सञ्चालक हरिशंकरले नै मलाई सुनाए।’ 

यता बाख्रा फारमका सञ्चालक हरिशंकरले नगरपालिकाले आफूसँग एक सय बढी बाख्रा किनेको दावी गरे। आफू बाहिर रहेकोले कति बाख्रा दिएको र कतिको बिल दिएको कुरा भेटेपछि मात्र जानकारी दिन सक्ने भन्दै पन्छिए।

उनले नगरपालिकालाई काटेर दिएको बिलको प्रतिलिपी समेत आफूसँग नभएकाले नगरपालिकामै बुझ्न आग्रह गरे। 

नगरप्रमुख बेचन दास र निमित प्रमुख प्रशासकीय अधिकृत संजिव साहले भने बाख्रा वितरण भएको दावी गरेका छन्। साहले बाख्रा वितरण भएको सबै प्रमाण नगरपालिकासँग रहेको बताए। 

नगरप्रमुख दासले सय वटा नै बाख्रा वितरण भएको दावी गर्दै गाउँमा गएर बुझ्न आग्रह गरे। 

विदेह नगरपालिकामा मेयर दासले तल्लो तहका कार्मचारी इन्जिनियर साहलाई निमित प्रशासकीय अधिकृत बनाएर धेरै योजनाहरु कागजमै काम गरी करोडौं रुपैयाँ अनियमितता गरेको स्थानीय बासिन्दाको आरोप छ। 

नगरपालिकामा कुनै पारदर्शीता नभएको स्थानीयले गुनासो गरेका छन्। सूचनाको हक प्रयोग गर्दा पनि गरेको अनियमितताको भण्डाफोर हुने डरले सूचना दिन निमित प्रशासकीय अधिकृत साहले जालझेल गर्दै आएको चन्द्रदीप यादवले आरोप लगाए।

साहले राष्ट्रिय सूचना आयोगको आदेशलाई पनि वेवास्ता गर्दै आएका छन्।

मेयर दासले कार्यालय सहयोगीसँग कार्यकक्षमै मालिस गराएको तस्बीर भाइरल भएपछि उनी अहिले चर्चामा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .