ad ad

समाज


केबलकार बनिरहेको चुरे पर्‍याे चिराचिरा, विज्ञ भन्छन् : काम रोक्नुपर्छ

केबलकार बनिरहेको चुरे पर्‍याे चिराचिरा, विज्ञ भन्छन् : काम रोक्नुपर्छ

सुदीप भण्डारी
असोज १३, २०७८ बुधबार ७:४३, काठमाडौँ

भदौ १३ गते बुटवलको ज्योतिनगर क्षेत्रमा पहिरो जाँदा दुई दर्जनजति घरपरिवार विस्थापित भए। त्यसपछि पनि वर्षा हुँदा यहाँ पटकपटक पहिरो खसेर क्षति पुर्याइरहेको छ। बुटवलको यही ठाउँमा २०५५ सालमा पहिरो गएको थियो। त्यसबेला ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि फेरि अहिले पहिरो खस्न थालेको हो। ​

पहिरो खसेको क्षेत्रमै केबुलकार निर्माण हुन लागेको छ। लुम्बिनी केबुलकार प्रालिले बनाउन लागेको केबुलकार गत फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। 

बुटवल–३, बमघाटबाट माथि वसन्तपुर डाँडासम्म पुग्नेगरी केबलकार बनाउन लागिएको छ। तीन किलोमिटर केबलकार यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा–सम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना निर्माण गर्ने तयारी छ। 

तर केबलकार निर्माणमा हालै खसेको चुरेको पहिरोले चुनौती थपिदिएको छ। केबलकार बनाउन दुईतिर स्टेसन, बीचमा तार टाँग्न टावरहरू राख्नुपर्ने हुन्छ। 

राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिले आसपासका अरू ठाउँको तुलनामा बुटवलमाथिको चुरे निकै कमजोर र संवेदनशील रहेको जनाएको छ। 

वसन्तपुर डाँडासँगै बुटवलको मुख्य बजारबाट तिनाउपारि पनि केबुलकार निर्माण हुँदै छ। पर्यटकीय स्थल नुवाकोटगढी जान सिद्धार्थ केबलकार प्रालिले केबलकार बनाउँदै छ। यो केबलकारको पनि शिलान्यास भएर निर्माण अघि बढिसकेको छ।

उता चुरे क्षेत्रकै हिलपार्कमा विशाल बुद्ध मूर्ति बनाउनेगरी बुटवल उपमहानगरपालिकाले योजना अघि सारेको छ। ४० किलोमिटर टाढाबाट पनि देख्न सकिनेगरी बुद्धको ठूलो मूर्ति र पार्क बनाउन  १ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान छ। बुद्ध मूर्तिको डिजाइन तयार भए पनि ईआईए भने भएको छैन। 

वातावरणबारे कलम चलाउने बुटवलका लेखक युवराज कँडेलले अहिले बुटवल क्षेत्रको चुरे भौगोलिक रूपमा धेरै कमजोर देखिएकाले यहाँ बन्ने पूर्वाधार धान्न नसक्ने बताए। 

‘राणाकालमा पनि बुटवलमाथिको चुरे क्षेत्रमा बस्ती बस्न दिइएको थिएन। अहिले चुरेको फेदीमा बसेका बस्तीको असरसमेत माथि देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘रुपन्देहीको सालझण्डीदेखि बुटवलसम्मका धेरै ठाउँमा चुरेमा पहिरो गएको छ। कतै मन्दिरका लागि बनाइएको सिँढीसमेत भासिएको छ। अहिलेको वातावरणीय अवस्थामा चुरेमा ठूला संरचना बनाएर धान्न सक्ने अवस्था देखिँदैन।’ 

राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका कार्यक्रम कार्यान्वयन एकाइ (बुटवल) का प्रमुख अजय कार्कीले चुरे क्षेत्रमा बनाउन लागिएका संरचना निर्माणका काम रोक्न सरकारलाई सुझाव दिएका छन्। 

‘सरासर हेर्दा त हामीले चुरे चलाउनै हुँदैन भन्छौं। एउटा ठूलो विज्ञको टोलीले अध्ययन गर्दै छ। त्यसको रिपोर्ट नआउँदासम्म निर्माणको काम रोकौं भनेर मैले मुख्यमन्त्रीलाई भनेको छु’, उनले भने। 

बुटवलमाथिको चुरेको पहिरो सम्बन्धमा मंगलबार लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बन्धित मन्त्रालयका सचिव, राष्ट्रपति चुरे समितिका प्रतिनिधि, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधि, पहिरोपीडित स्थानीयलगायत सरोकारवालासँग छलफल गरेका थिए। त्यस क्रममा आफूले बुटवलमा बन्न लागेका केबलकारको पूरक ईआईए गर्न सुझाव दिएको कार्कीले बताए। 

‘केबलकारको तत्कालीन अवस्थाको अनुमति भयो। त्यो बेला यस्तो पहिरो थिएन। त्यसैले पूरक ईआईए गर्नुपर्छ भन्ने हाम्रो सुझाव हो। नभए फेरि ठूलो क्षति भयो भने अर्को समस्या आउन सक्छ’, उनले भने ‘मुख्यमन्त्रीसँगको छलफलमा बन्ने संरचनाहरू धेरैको फेरि अध्ययन गर्ने सुझाव दिएका थियौं।’ 

लुम्बिनी केबलकारका लगानीकर्ता तथा बुटवल ५ का वडाध्यक्ष तेजबहादुर सुनारले भने वातावरणीय अध्ययन पटकपटक भएकाले केबलकार निर्माणले कुनै असर नपर्ने दाबी गरे। 

‘वातावरणले चार/पाँचपटक अध्ययन गरेर स्वीकृति पाएको हो। माटो भएको पहिरो जाने ठाउँमा हामीले टावर राख्दैनौं। चट्टान भएको ठाउँमा टावर राखेर ढलान गरेर झन् बलियो पार्ने हो’, उनले नेपालखबरसँग भने, ‘त्यहाँको बस्तीलाई असर नपर्नेगरी नै हामीले केबुलकार निर्माण गर्छौं।’ 

सुनारले कोरोना महामारी र वर्षाका कारण निर्माण रोकिएको भन्दै दसैंपछि पुनः थालिने जानकारी दिए। निर्माण सुरु भएको एक वर्षमा केबलकार तयार हुने उनले बताए।

उपमहानगरको योजनाअन्तर्गत बुद्ध मूर्ति पनि चुरेलाई क्षति नहुनेगरी बनाइने वडाध्यक्ष सुनारको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .