ad ad

समाज


बाढीले सबै अन्न भिजायो, अब के खाने!

बाढीले सबै अन्न भिजायो, अब के खाने!

कृष्ण बहाब
कात्तिक ५, २०७८ शुक्रबार ७:४७, काठमाडौँ

बेमौसमी वर्षापछि आएको बाढीले सुनसरीकाे इटहरीमा ३ जनाको मृत्यु भयो। बेपत्ता १ जनाको खोजी जारी छ। यसको तथ्यांक त सरकारी संयन्त्र छ तर बाढीले कति परिवारको बिचल्ली भएको छ, बेखबरझैँ छ। 

सुगम सहरको दुर्गम बस्ती हो– टेंग्रा टोल। इटहरी उपमहानगरपालिकाको मूल चोकदेखि करिब ३ किलोमिटर दक्षिणपश्चिममा मुसहर बस्ती छ। मुसहर समुदायको बाहुल्य रहेको उक्त बस्तीलाई टेंग्रा टोल पनि भनिन्छ। जहाँ मुसहर समुदायका मात्र ८० परिवार छन्। 

गत मंगलबारको बाढीले मुसहरलगायत उक्त टोलका धेरैजसोको घरमा पानी पस्यो। जोहो गरिएका थोरै अन्न पनि निकाल्न पाएनन्, स्थानीयले।

‘रातिदेखि पानी परेको बिहान त सबै डुबायो’, स्थानीय आशा सदाले नेपालखबरसँग भनिन्, ‘आदि बोरा गहुँ र अलिकति चामल थियो, भिज्यो।’

उनको मात्र होइन, छिमेकीका पनि अन्न सबै पानीले नष्ट गर्यो। उनीहरूलाई वडा कार्यालयले दुई छाक भने खुवायो। वडाध्यक्ष रोहित चौधरीको पहलमा मुसहर परिवारले दुई छाक भने पनि खान पाएका हुन्। तर अबका दिनमा कसले खाना खुवाउँछ भन्ने चिन्तामा उनीहरू छन्।

फोटो खिच्दै गर्दा एक स्थानीयले राहत कहिले आउँछ भनेर सोधे।

उनले भने, ‘अलिकति चामल थियो भिज्यो, मेरो पनि फोटो खिच्दिनु ल, राहत दिन्छ कि?’​​

ठूलालाई खानाको, सानालाई किताबको चिन्ता!
घरभित्रको पानी सुक्न थालेपछि भिजेका सामान बाटैभरि बिस्कुन बनेका छन्। स्थानीयले भिजेका धान, गहुँ, मकै सुकाउन बाटोमा राखेका हुन् (माथि तस्बिर)। 

अन्नसँगै बाटामा भिजेका लुगा पनि बग्रेल्ती छन्। लुगा र अन्नकै लहरमा साना बालबालिका भने बिहीबार आफ्ना किताब सुकाउँदै थिए (तल तस्बिर)।

जनता मावि कक्षा ४ मा पढ्ने राधिका सदा फटाफट आफ्नो किताब घाममा ल्याइरहेकी थिइन्। नयाँ किताब पाएपछि कोरोना महामारीका कारण उनी स्कुल गएकी थिइनन्। 

कात्तिक ५ गतेदेखि स्कुल लाग्ने भए पनि बाढीले राधिका सदाको किताब काम नलाग्ने बनायो। 

‘कति पढ्न मिल्ने छन् कति नमिल्ने पनि’ राधिकाले सुनाइन्,  ‘गणितचैँ हरायो अरू खोज्दै छु।’

जनता माविकै कक्षा ८ मा पढ्ने अनु सदाका पनि सबै किताब पानीले भिजायो। उनी पनि भिजेका किताब बाटोमा सुकाउन निस्किएकी थिइन्। 

नच्यातिएको त सुकाएर पढ्न मिल्छ तर च्यातिएका किताब कसरी पढ्ने भन्ने? भर्खरै मात्र स्कुलले नयाँ किताब दिएकाले फेरि नदिने हो कि भन्ने चिन्ता अनुलाई छ। 

‘अस्ति भर्खर त किताब दिएको हो, स्कुल पनि लागेको थिएन। खै के गर्नु हुन्छ सरहरूले अब’, उनले भनिन्।

अनुले भनेपछि किताब सुकाउन आएकी कक्षा ७ मा अध्ययनरत आसिका सदा बोलिन्। वडाले खुवाएको भात खान जाँदा स्कुलले नयाँ किताब दिने भनेर आसिकाले सुनेकी रहिछन्। 

अनुतिर हेर्दै उनले भनिन्, ‘हिजो भनेको नयाँ किताब दिन्छ अरे!’

नभन्दै वडा  नम्बर ८ का वडाध्यक्ष रोहित चौधरीले किताब व्यवस्थाका लागि पनि वडा कार्यालयले पहल गर्ने नेपालखबरलाई सुनाए। 

‘राहत दिने लगत पनि संकलन हुँदै छ। किताब भिजेको भन्ने तपाईँको विषयलाई समेत टिप्न भन्छु म’, चौधरीले भने, ‘एक दुई दिनमा खाद्यान्नको व्यवस्थापन गर्न लागेका छौँ, किताबको विषयमा पनि स्कुलसँग म कुरा गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .