समाज


टीकापुरमा युवकको हत्या : मेजरसँग झगडा गरेका होटल सञ्चालकका छोरासहित संलग्न

टीकापुरमा युवकको हत्या : मेजरसँग झगडा गरेका होटल सञ्चालकका छोरासहित संलग्न

टीकापुरमा हत्या गरिएका युवक भुपेन्द्र बडुवाल


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ११:२५, काठमाडौँ

कैलालीको टीकापुरमा चक्कुले हानेर एकजना युवकको हत्या अभियोगमा होटल सञ्चालकसहित ८ जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार लम्कीचुहा नगरपालिका-१ का निवासी युवा भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको अभियोगमा ५ युवक र होटल सञ्चालक पनि समातिएका हुन्। 

चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेश पनि उक्त प्रकरणमा पक्राउ परेका अधिकारीले बताएका छन्। 

‘युवकको हत्या घटनामा होटल सञ्चालक दम्पती र छोरा नवीन पनि संलग्न भएको पाएका छौँ', अधिकारीले भनेका छन्, 'अहिले छोरा नवीनको खोजी गरिरहेका छौँ।' 

युवकको मृत्युपछि स्थानीयले संगम होटलमा तोडफोड प्रयास गरेका थिए। घटनास्थलमा भेटिएको स्कुटी पनि हर्कबहादुरका छोरा महेशको रहेको खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार युवकमाथि चक्कु प्रहार गरेर हत्या गरेको अभियोगमा आर्यन देवकोटासहित पाँच युवक समातिएका हुन्। 

आइतबार राति नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाहीसँग होटलका सञ्चालक रावल पनि विवादमा मुछिएका थिए। 

होटल सञ्चालकको विवादका क्रममा आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको गाडीमा क्षति पुर्‍याएका थिए। हर्कबहादुरका छोरा नवीन र महेशसहितका स्थानीयले प्रतिकारमा उत्रिँदा शाहीको टाउको पनि फुटेको थियो। 

एसपी अधिकारीले पुरानो रिसिबीका कारण दुई समूहबीच झडप भएको बताए। टीकापुरस्थित कृषि हाटबजार नजिकै बडुवाललाई ४-५ जनाको समूहले लखेटेर चक्कु हानेका थिए।

बडुवालमाथि चक्कु प्रहार गर्नेमध्येमा चिसापानीको संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा नवीन रहेका खुलेको छ। घटनामा संलग्न महेश पनि हर्कबहादुरका कान्छा छोरा हुन्।

गत आइतबार हर्कबहादुरका छोरासहितले मेजर शाहीको गाडी तोडफोड गरेका थिए। मदिराले मातेका शाहीले आइतबार राति संगम होटल सञ्चालक हर्कबहादुर रावलसँग झगडा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .