ad ad

समाज


योगेश्वरको १२ बिघा जग्गामा कसरी पर्‍यो गिरोहको आँखा?

योगेश्वरको १२ बिघा जग्गामा कसरी पर्‍यो गिरोहको आँखा?

उजिर कार्की
कात्तिक २५, २०७८ बिहिबार २०:३३, काठमाडौँ

बारामा रहेको १२ बिगा जग्गा गायक योगेश्वर अमात्यले भोग चलन गरिरहेका छन्। धनीपुर्जा पनि उनीसँगै छ। 

तर केही समयअघि उनलाई एक जना आफन्तले सुनाइदिए– तपाईंको जग्गा त अर्कैको भइसक्यो। 

योगेश्वर अच्चम्भित भए। पुर्ख्यौली अंशबाट पाएको जग्गामा आँपका बिरुवा हुर्किंदैछन्। धनीपुर्जा पनि कसैले लगेको छैन, कसरी भयो त अर्कैको? 

उनको जाहेरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्यो। मालपोतको रेकर्डमा पनि उनकै नाममा देखियो। 

तर अमात्य दम्पत्ति सञ्चालक रहेको बिलुवा भूमि वन नामक संस्थाको नाममा रहेको जग्गा भूमाफियाको गिरोहले आफ्नो नाममा लगिसकेको रहेछ। एसकुमार महर्जन र मुक्तिनाथ गौतम सञ्चालक रहेको डेनियल टे«डिङ्सको नाममा ल्याएको कागजात तयार पारिएको भेटिएको छ।

सोही कीर्ते कागजात राखेर कुमारी बैंकको न्युरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा निकालिएको खुल्यो। तर प्रहरीले अनुसन्धान थाल्नुपहिले नै कुमारी बैंकले उक्त कर्जा सल्टाइसकेको पाइएको छ। 

यदि सो कर्जा नसल्टाएको भए गायक अमात्य नभएर बैंक फस्ने देखिएको छ। अमात्यको जग्गाको नक्कली धनीपुर्जा तयार गरेको र सोही जग्गा राखेर कुमारी बैंकले ऋण दिएको खुलेको छ। कर्जा लगानी गर्दा वीरगज्न शाखा, न्युरोड शाखा र केन्द्रीय कार्यालयको समेत संलग्नता देखिएको सीआईबीले जनाएको छ। 

कुमारी बैंकले नजिकै भएकाले बाराको जग्गा वीरगञ्ज शाखालाई फेरि यकिन गर्न भन्यो। डाइनामिक कन्सलटेन्सीले उक्त १२ बिघा जग्गाको मूल्य ३८ करोड रुपैयाँ हुने मूल्यांकन गर्यो। बैंकले मूल्यको ५० प्रतिशत ऋण लगानी गर्छ। डाइनामिक कन्सलटेन्सीका राजेश्वर चौरासियाले १९ करोड कर्जा दिन सकिने सिफारिस गरे। 

सोही सिफारिसअनुसार केन्द्रीय बैंकले स्वीकृति दिएपछि न्युरोड शाखाले १९ करोड रुपैयाँ कर्जा दिएको थियो। वीरगन्ज शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुरले धितोबन्धक कागजातमा हस्ताक्षर गरेका थिए। 

कुसन प्रधान बैंकका कन्सलटेन्ट हुन्। कन्सल्टेन्ट भएकाले उनको बैंकका कर्मचारीसँग राम्रो सम्बन्ध हुने नै भयो। उनले पनि १९ करोड कर्जा लगानी गरे फरक नपर्ने बताए। उनले पनि कर्जा लगानीमा सहजीकरण गरेको खुलेको छ। 

किन ताके अमात्यको जग्गा? 
भूमिसम्बन्धी ऐन २०२१, अनुसार ११ बिघाभन्दा बढी जग्गामा हदबन्दी लाग्छ। हदबन्दी लाग्ने भएकैले व्यक्तिले यस्तो जग्गा हतपती बेच्दैनन्। बेच्नु पर्दा बढी भएको जग्गा सरकारलाई दिनुपर्छ। 

हदबन्दीभन्दा बढी भएकै कारण हतपत बिक्री नहुने र किर्ते गरेर ऋण निकालेको पनि थाहा नपाउने गरी अमात्यको जग्गा गिरोहको निशानामा परेको सीआईबीका अनुसन्धान अधिकृतको ठम्याइ छ।

‘जग्गा हदबन्दीभन्दा बढी रहेछ। त्यही भएर किनबेच नहुने भएकाले जग्गा धनीले थाहा पाउँदैनन् भनेर नै यो जग्गालाई निशाना बनाएको देखिन्छ,’ उनले नेपालखबरसँग भने। 

भूमि ऐन अनुसार जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हद पहाडमा ७० रोपनी, भित्री मधेस समेत सम्पूर्ण तराई क्षेत्रमा १० बिघा र काठमाडौं उपत्यकामा २५ रोपनी हो। 

सोही ऐनमा घरबारीको निमित्त भित्री मधेस समेत सम्पूर्ण तराई क्षेत्रमा १ बिघा र अन्य ठाउँमा काठमाडौं उपत्यकामा ५ रोपनी थप राख्न सकिने व्यवस्था छ। 

हदबन्दीमा पर्ने जग्गा बेचबिखन, दान, सट्टापट्टा गर्न समेत नपाइने व्यवस्था छ।

बैंकका सीईओसँग दुई पटक बयान 
यसरी नक्कली धनीपुर्जा राखेर कर्जा लगानी गर्न कुमारी बैंकको केन्द्रीय कार्यालयदेखि वीरगन्ज शाखाका कर्मचारीको समेत संलग्नता देखिएको छ। वीरगन्ज शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर पक्राउ परिसकेका छन्। सोही शाखाका सहायक म्यानेजर राजेश साह फरार छन्। 

सीआईबीले यो प्रकरणमा कुमारी बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई दुई पटक बोलाएर सोधपुछ गरेको छ। सोधपुछका क्रममा उनले बैंकका कर्मचारीको पनि कमजोरी भएको स्वीकार गरेको सीआईबी श्रोत बताउँछ। 

बैंकले भने कर्जा असुलिसकेको पाइएको छ। नक्कली धनीपुर्जा भएको थाहा पाएपछि अर्को जग्गा धितोमा राखेर कर्जा पनि सल्टाइसकेको पाइएको हो। 

नक्कली धनीपुर्जा भएको थाहा पाएपछि बैंकले एसकुमार र मुक्तिनाथको ललितपुरमा रहेको जग्गा धितो राखेको थियो। अहिले उनीहरुले बैंकको कर्जा चुक्ता गरिसकेका छन्। 

पक्राउ परेका बैंकका कर्मचारी ठाकुरले कोरोनाका कारण फिल्डमा गएर जग्गा नहेरेको बताएका छन्। 

यस्तै मालपोत रोक्काको काममा पनि आफूलाई सही छाप गर्न लगाएको र आफूले राम्रोसँग नबुझी सहीछाप गरिदिएको उनले प्रहरीलाई बताएका छन्। थप अनुसन्धान भइरहेको र केही दिनमै मुद्दा बुझाउने सीआईबीको तयारी छ। 

मालपोत पनि तानिन सक्छ 
प्रहरीले अहिले उनीहरुबाट बरामद भएका कागजात परीक्षणका लागि ल्याबमा पठाएको छ। मालपोत रोक्का, राजीनामा लिखत, लालपुर्जा र स्थानीय तहको चारकिल्ला प्रमाणित गरिएको कागजात ल्याबमा पठाएको सीआईबी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए। 

यदि यी कागजात नक्कली नभएर मालपोतकै छाप भएको प्रमाणित भएमा मालपोतका कर्मचारीको पनि संलग्नता पुष्टि हुने सीआईबीले जनाएको छ। यो प्रकरणमा चार जना अझै फरार छन्। अहिले पक्राउ परेकाले मुख्य योजनाकार अर्कै व्यक्ति भएको बताएका छन्। 

पक्राउ परेकाहरुले न्युरोडकी व्यापारी शोभा श्रेष्ठलाई मुख्य योजनाकार भनेका छन्। उनी हाल फरार छिन्। शोभाले नै सबै किर्ते कागजात तयार गर्ने कामको नेतृत्व गरेको अन्य अभियुक्तको बयान छ। शोभाले एसकुमार र मुक्तिनाथलाई ९ करोड रुपैयाँ दिन बाँकी रहेको र जग्गाबाट ऋण निकालेर मिलाउन खोजेको देखिएको प्रहरीको भनाइ छ। 

यस्तै शोभा र कुसन प्रधानको बीचमा पनि लेनदेन देखिएको छ। शोभाले कुसनलाई रकम दिएको खुलेको छ। तर कुसनले भने घरभाडावापतको रकम दिएको बताएका छन्। 

डीआईजी सिंहले भने, ‘केही अभियुक्त अझै फरार छन्। उनीहरु पक्राउ परेपछि मात्रै वास्तविकता पत्ता लाग्छ। अहिले एउटाले अर्कोलाई देखाइरहेका छन्।’

प्रहरीले भने उनीहरुलाई किर्तेको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। किर्ते मुद्दामा २५ दिन भित्रमा मुद्दा बुझाइसक्नु पर्छ। हदम्यादका कारण केही दिनभित्रैमा मुद्दा बुझाउने सीआईबीले जनाएको छ। 

घटनामा संलग्न ५ जनालाई सीआईबीले फरकफरक मितिमा पक्राउ गरेको थियो। पक्राउ पर्नेमा नक्कली जग्गाधनी एसकुमार महर्जन र मुक्तिनाथ गौतम, कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश्वर चौरासिया र बिचौलिया कुसन प्रधान छन्। 

कुसन भने मुटुको रोगी रहेकाले नर्भिक अस्पतालमा छन्। अरुलाई सीआईबीको हिरासतमा राखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .