ad ad

समाज


मंगलबार स्थानीय तहका १६५० कर्मचारीको सरुवा गरिँदै

मंगलबार स्थानीय तहका १६५० कर्मचारीको सरुवा गरिँदै

तस्बिर : रासस


सन्तोष घिमिरे
मंसिर २०, २०७८ सोमबार १९:२३, काठमाडौँ

​संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत १६५० कर्मचारीको सरुवा गर्ने भएको छ। 

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको हो। 

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा हुन लागेको बताए।

‘भोलि मंगलबार कर्मचारी सरुवाको सूची वेबसाइटमा सार्वजनिक गरिनेछ,’ अधिकारीले नेपालखबरसँग भने। 

लोक सेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको र हाल आफूलाई पायक पर्ने स्थानीय तहमा कामकाजमा जान खोज्ने कर्मचारीको प्रवृत्ति देखिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तरस्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्नेछ। यसरी दोहोरो सहमति लिएर निवेदन पेस गरेका स्थानीय तहका कर्मचारीको सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

‘यस मन्त्रालयले स्वीकृत मापदण्ड अनुरुप रहेका तथा दोहोरो सहमति सहितको निवेदन पेस गरेका हालसम्म प्राप्त सबै कर्मचारीको अन्तर स्थानीय तह कामकाजमा खटाउने निर्णय प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ प्रवक्ता अधिकारीले भने। 

कामकाजमा खटाइएका कर्मचारीको पत्र स्थानीय तहमा इमेलमार्फत पठाइने उनले बताए।

यद्यपि, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सर्तसम्बन्धी कानुन हालसम्म जारी भइसकेको छैन। सेवा सर्तसम्बन्धी कानुनको अभावमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरुवा नै गर्न सक्ने अवस्था छैन। 

‘अर्को व्यवस्था नभएसम्म यस्ता कर्मचारीलाई स्थानीय तहको दोहोरो सहमति र निवेदनका आधारमा कामकाजमा खटाउने गरिएकाले समस्यामा परिरहेका कर्मचारीहरुको तत्कालीन व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा लिएका छौँ,’ प्रवक्ता अधिकारीले भने। 

ती कर्मचारीलाई हाजिरी गराउने, रमाना दिनेजस्ता प्रशासनिक प्रक्रियाहरु प्रचलित कानुन बमोजिम सहज र निर्बाध रुपमा गरिदिन सबै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई मन्त्रालयले अनुरोध गरेको छ। 

सरुवामा भेदभाव गरिएको छैनः मन्त्री श्रेष्ठ 
पत्रकार सम्मेलनमा बोल्दै सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सरुवामा कर्मचारीलाई कुनै भेदभाव नगरिएको बताए।

‘मैले यो सरुवामा कर्मचारीलाई कुनै भेदभाव गरेको छैन। अबका दिनमा हुने सरुवामा पनि कुनै विसंगति हुने छैन। कार्यक्षमता र अनुभवका आधारमा कर्मचारीको सरुवा हुनेछ। म भइन्जेल यस मन्त्रालयले सुशासनका लागि काम गर्नेछु। यसमा म प्रतिबद्ध छु,’ मन्त्री श्रेष्ठले भने। 

मन्त्रालयअन्र्तगतका कुनै पनि निकायले भ्रष्टाचार र अपारदर्शिता गरेको भेटिए उनीहरुलाई कारबाही गरिने उनले बताए। 

अब चक्रीय प्रणालीमार्फत् सरुवा 
आगामी दिनमा चक्रीय प्रणालीबाट कर्मचारीको सरुवा हुने पनि उनले बताए। 

‘योग्यताअनुसारको काम र कामअनुसारको मूल्यांकन हुनेछ,’ मन्त्री श्रेष्ठले भने। 

उपत्यकाबाहिर स्थानीय तहमा सरुवा भएर गएको केही समयपछि नै  फेरि केन्द्रमा वा सुगम स्थानमा सरुवा मिलाउन दौडिने प्रवृत्ति कर्मचारीमा देखिएको बताउँदै उनले यस्ता प्रवृत्ति निरुत्साहित गरिने बताए। 

‘दुर्गममा प्रशासनका ४० कर्मचारीको पद रिक्त छ भने ६० प्रतिशत प्राविधिक कर्मचारीको पद रिक्त छन्। किनकि दुर्गममा कर्मचारी सरुवा भएर जानै चाहँदैनन् र गइहाले पनि धेरै समय बस्दैनन्। यो प्रवृत्ति निरुत्साहित हुन आवश्यक छ,’ मन्त्री श्रेष्ठले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .