समाज


स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

नेपालखबर
साउन १२, २०८३ मंगलबार १३:३५, काठमाडौँ

स्वास्थ्यकर्मीमाथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ फेरि सक्रिय बनाउने तयारी गरेको छ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ५ बमोजिम समिति गठन हुने गरेको छ। समितिलाई पुनः नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना बढ्दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो। ऐनअनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालयलगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। 

अदालतको फैसला बमोजिम क्षतिपूर्तिसम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ। ऐनअनुसार समितिको अध्यक्ष मन्त्रालयको सचिवले तोकेको मन्त्रालयको बाह्रौँ तहको कर्मचारी र उपाध्यक्ष सम्बन्धित महाशाखा प्रमुख रहने व्यवस्था छ। 

साथै, गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिङ संघ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालका प्रतिनिधि सदस्य रहने व्यवस्था छ। मन्त्रालयले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ। 

हालै नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग उठिरहेको छ। यस्तो बेला मन्त्रालयले निष्क्रिय रहेको यो समितिलाई सक्रिय बनाएर तत्काल देखिएका समस्या समाधान तथा आवश्यक नीतिगत निर्णय अघि बढाउने तयारी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad