समाज


सिरहा छुरा प्रहार प्रकरण : बल प्रयोग गरेर राजमार्ग खुलाइयो, ९ प्रहरी घाइते

सिरहा छुरा प्रहार प्रकरण : बल प्रयोग गरेर राजमार्ग खुलाइयो, ९ प्रहरी घाइते

शैलेन्द्र महतो
पुस ५, २०७८ सोमबार १९:३९, काठमाडौँ

छुरा प्रहार गर्नेलाई कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा स्थानीय बासिन्दाले अवरुद्ध गरेको पूर्व पश्चिम राजमार्ग ७ घण्टापछि खुलेको छ। 

प्रहरीले आइतबार गरेको सहमति बमोजिम २४ घण्टा भित्र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले सिरहाको गोलबजारमा बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध गरेका थिए। अपराह्न ४ बजे सडक अवरुद्ध खुलेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए। 

शनिबार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ हटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो भने उनका साथी निकेश सदा गम्भीर घाइते छन्। 

दोषीलाई कारबाहीको माग गर्दै दोश्रो दिन गरेको सडक अवरुद्ध खुलाउन प्रहरीले दिउँसो बल प्रयोग गरेको थियो। प्रदर्शनकारीमाथि लाठीचार्ज गर्दै बन्द खुलाउन खोज्दा ढुंगामुढाबाट ९ जना प्रहरीसहित १० जना घाइते भएका छन्।

ढुंगामुढाबाट नेपाल प्रहरीका ५ जना र सशस्त्र प्रहरीका ४ जना र एकजना प्रदर्शनकारी घाइते भएको डिएसपी बुढाथोकीले नेपालखबरलाई जानकारी दिए। 

डिएसपी बुढाथोकीका अनुसार राजमार्ग खुलाउने क्रममा तनाव उत्पन्न हुँदा प्रहरीले ७ सेल अश्रु ग्यास समेत प्रहरीले प्रहार गरेका थिए।  

छुरा प्रहार घटना विरुद्ध आइतबार बिहानैदेखि स्थानीयहरु राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए। सो क्रममा राजमार्ग खुलाउन स्थानीय र प्रहरीबीच दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कारबाही गर्ने, मृतक परिवारको क्षतिपुर्तिको लागि पहल गर्ने र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने सहमति भएको थियो। 

तर, सहमति अनुसार प्रहरीले २४ घण्टा भित्र दोषी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दा पुनः आज १० बजेदेखि सडक अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए। भोलि मंगलबार बिहानसम्म दोषीलाई पक्राउ नगरे पुनः राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गर्ने स्थानीय शिवचन्द्र सदाले चेतावनी दिए।

प्रहरीले छुरा प्रहार गर्ने समूहका दुईजनालाई आइतबार नै पक्राउ गरेको डिएसपी बुढाथोकीले बताए। तर उनले अनुसन्धान भइरहेका भन्दै पक्राउ परेकाको परिचय खुलाउन मानेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .