ad ad

समाज


जसले ६० प्रतिशत कलेजो दिएर दाजुको ज्यान बचाए

कृष्ण भन्छन् : मलाई दाजुभन्दा ठूलो अरु केही लागेन
जसले ६० प्रतिशत कलेजो दिएर दाजुको ज्यान बचाए

कलेजो प्रत्यारोपण गरेका जीवन र दाता भाइ कृष्णसँग चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी


यज्ञराज जोशी
पुस २६, २०७८ सोमबार ११:२७, काठमाडौँ

जीवन पुजाराले सिकर्मी काम गर्दै आएका थिए। सामान्य गुजारा हुने पेशा गर्दै आएका उनको दैनिकी ठीकैसँग चलेको थियो। तर एक दिन सास फेर्न गाह्रो हुने, पेट फुल्ने, खाना नपच्ने, सुत्न गाह्रो हुनेसहितको स्वास्थ्य समस्या देखियो

अचानक यो समस्याले सताउँदै गएपछि कैलालीको धनगढीका ३८ वर्षीय जीवनलाई भाइ कृष्ण (३२ वर्षीय) ले नेपालगञ्ज मेडिकल कलेज लगेर गए। उपचारका क्रममा कलेजोमा समस्या पत्ता लाग्यो। त्यहीँका चिकित्सकले प्रत्यारोपण गर्नुपर्ने सुझाव दिए।

चिकित्सकले प्रत्यारोपण सल्लाह दिए पनि तत्कालै उनीहरुले कुनै विकल्प निकाल्न सकेनन्। त्यसपछि जीवनले औषधि सेवनमा थाले। 

खोजीनीति गर्दै जाँदा कलेजो प्रत्यारोपण सेवा चितवन मेडिकल कलेजमै रहेको खुल्यो। यो खबर पाएपछि दाइलाई लिएर कृष्ण चितवन पुगे। कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सञ्जय यादव लगायतले जाँचपछि प्रत्यारोपणको विकल्प देखेनन्। उनले दाताको खोजी गर्न सुझाए।  

जीवन र कृष्ण परिवारका पाँच भाइ हुन्। जीवन जेठा हुन् भने कृष्ण माइला। चिकित्सकको सुझावअनुसार जीवनका लागि चारै भाइ कलेजो दिन तयार भए। तर माहिलो भएकाले कृष्ण आफैँ दाजुको जीवन बचाउन अघि सरे। 

‘मलाई दाजुको जीवनभन्दा ठूलो केही लागेन। चिकित्सकहरुले पनि डोनरलाई केही नहुने भनेर सम्झाएका थिए,’ कृष्णले नेपालखबरसँग भने, ‘म छँदाछँदै अरु भाइलाई किन भन्ने? मैले दिन नमिलेको भए अरु भाइलाई भन्थ्यौँ होला। दाजुसँग म नै अस्पताल आएको थिएँ। मैले नडराइ चिकित्सकलाई कलेजो दिन्छु भनेँ।’

उनीहरु धेरै दाजुभाइ भए पनि एउटै घरमा बस्छन्। सामूहिक परिवार छ। दुवैजना विवाहित हुन्। कृष्णले कलेजो दिने निर्णय आफ्नी श्रीमतीलाई पनि सुनाए। श्रीमतीले पनि दाजुका लागि कलेजो दिने कुरामा हौसला दिइन्। त्यसले कृष्णको मनोबल बढ्यो। 

तर केही गाउँलेले कलेजो दिँदा कमजोर भइन्छ भन्दै उनको मनोबल गिराउने प्रयास नगरेका होइनन्। एउटा भाइ त कमजोर भयो भयो, अर्को भाइ पनि कमजोर हुन्छ भन्थे। तर कृष्णले ती कुराको वास्तै गरेनन्। 

‘गाउँलेले कमजोर हुन्छ भनेर श्रीमतीलाई भन्दा रहेछन्,’ कृष्णले भने, ‘तिनीहरुको पछि लागेपछि परिवार नै बन्दैन। श्रीमतीले पनि राम्रो कामका लागि किन पछाडि भनेपछि मैले नडराएर कलेजो दिने निर्णय गरेँ।’ 

कलेजो दिन कृष्ण तयार भएपछि डा.यादवको टोलीले मिल्ने नमिल्ने जाँच गर्यो। सबैकुरा मिल्ने निश्चित भएपछि पुस ४ गते १२ घण्टा लगाएर कृष्णको ६० प्रतिशत कलेजो निकालेर दाजुलाई पुनर्जीवन दिइयो। 

‘कृष्ण पुजाराको ६० प्रतिशत कलोजो निकालेर जीवन पुजारालाई प्रत्यारोपण गरिएको हो,’ डा. यादवले भने, ‘४ देखि ६ हप्तामा प्रत्यारोपण गरेको कलेजो ९० देखि १०० प्रतिशत बन्छ। दुवैजना अहिले डिस्चार्ज भइसक्नु भएको छ। उहाँहरु दुवैको स्वास्थ्य अवस्था एकदमै राम्रो छ।’

प्रत्यारोपणमा चितवन मेडिकल कलेजका चिकित्सकहरुसहित भारतको एपोलो अस्पतालका चिकित्सकहरुको पनि साथ थियो। 

नयाँ जीवन पाएका दाइ जीवन भाइ कृष्णप्रति कृतज्ञ छन्। भाइलाई धन्यवाद भन्ने शब्द उनीसँग थिएन।

‘भाइले बचायो। के भन्नु, भाइ हो। नयाँ जीवन पाएँ। अहिले एकदम राम्रो महसुस गरिरहेको छु। खाना पनि रुच्न थालेको छ,’ प्रत्यारोपणपछि जीवनले संक्षिप्त प्रतिक्रिया दिए। 

भाइ कृष्णले फेरि फेरि दाजुभाइ नपाइने भएकाले अफ्ठ्यारो पर्दा सहयोग गर्नुपर्ने बताउँछन्।

‘दाजुभाइ भनेको 'दोबारा' पाइँदैन। अहिले हामी बाहिर भएको भए दाजुलाई अप्ठेरो पर्दा कसले सहयोग गर्थ्यो,’ उनी भन्छन्, ‘अफ्ठ्यारो परेपछि दाजुभाइ काम लाग्छन्। दाजुभाइलाई कहिल्यै छोड्नुहुन्न। बाहिर जे भए पनि दाजुभाइबीच सम्बन्ध राम्रै राख्नुपर्छ।’ 

दाजुलाई कलेजो दिएपछि पनि आफ्नो स्वास्थ्यमा केही असर नपरेको कृष्णले बताए। सबै रिपोर्ट सामान्य रहेकाले केही दिनपछि आराम गर्दै काममा फर्कने योजनामा छन् उनी।

डा. यादवका अनुसार हालसम्म नेपालमा महिलाले पुरुष कि त पुरुषले महिलालाई कलेजो दिएको उदाहरण थियो। पुरुषले पुरुषलाई कलेजो दिएको यो पहिलो उदाहरण हो। 

‘भाइ कस्तो हुनुपर्यो भन्दा म कृष्ण पुजारा जस्तो हुनुपर्ने भन्ने उदाहरण दिन्छु,’ डा. यादवले भने, ‘दाइका लागि उहाँ पाँच महिनादेखि निरन्तर फलोअपमा हुनुहुन्थ्यो। अन्ततः दाइलाई नयाँ जीवन दिनुभयो। अहिले दुवैजना निको भएका छन्।’ 

डा. यादवले कलेजो प्रत्यारोपणपछि दातालाई असर पर्छ भन्ने मानसिकता रहेकाले त्यसलाई बदल्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .