ad ad

समाज


एसईई दिने विद्यार्थीको पीरः कोर्स सकिएको छैन, परीक्षा कसरी दिने?

एसईई दिने विद्यार्थीको पीरः कोर्स सकिएको छैन, परीक्षा कसरी दिने?

एसईई परीक्षा तयारी गरिरहेका सजिता चौँलागाईं, हार्दिक थपलिया, माल्भिका बर्देवा र मिलन श्रेष्ठ (तस्बिरः विक्रम राई)


मीना खड्का
फागुन ४, २०७८ बुधबार १०:३२, काठमाडौँ

एसईई परीक्षा आउन दुई महिना मात्र बाँकी छँदा तिलगंगास्थित शारदा माविकी माल्भिका बर्देवाको चिन्ता बढ्दैछ। उनलाई गाह्रो लाग्ने विषयको तयारी पुरा भएको छैन। पाठ्यक्रम पनि सकिन बाँकी छ।

कोरोना महामारीको कारण विद्यालय बन्द भएपछि घरमै बसेर अनलाइन माध्यमबाट पढ्नुपर्यो।   

‘भौतिक उपस्थितिमा पढ्न नपाउँदा गणित विषयको कोर्स सकिए पनि गाह्रो लाग्छ,’ उनले भनिन्, ‘कोरोना महामारीका कारण ९ कक्षादेखि नै विद्यालयमा आएर पढ्न सकिएन। १० कक्षामा पनि दुई महिनाजति त स्कुलमै आएर पढेका थियौँ तर फेरि बन्द भयो।’​

माल्भिकाले ऐच्छिक गणित लिएकी छन्। कोर्स नसकिएकाले र अनलाइन कक्षामा बुझ्न गाह्रो भएकाले कसरी पास हुने भन्ने चिन्ता उनलाई छ।

शारदा माविकै मिलन श्रेष्ठको पढाइले पनि गति लिन सकेको छैन। कक्षा १ देखि ८ कक्षासम्म बोर्डिङ स्कुलमा पढेका उनलाई सामाजिक अध्ययन अरु विषयभन्दा गाह्रो लाग्छ।  

उनका अनुसार कोर्स सक्ने समय नै नभएको अवस्थामा दोहोर्याएर पढ्ने सम्भावना छैन। 

‘सोसिओलोजी अरुभन्दा अलि गाह्रो लाग्छ। यसको कोर्स समयमै सकिएको भए रिभिजन गर्छु भनेर सोचेको थिएँ,’ उनले भने, ‘पर्याप्त समय नभएपछि कसरी राम्रो गर्ने भनेर चिन्ता छ।’

यसबेलासम्म सबै विषयका सबै पाठहरु पढाइ भइसकेको छैन। 

‘पढाइ नै पुरा हुँदैन कि भन्ने पीर छ। यसरी त के आधारमा परीक्षा दिने,’ उनले भने, ‘परीक्षा तालिका नै सार्वजानिक भइसकेको अवस्थामा अब जतिसक्यो छिटो कोर्स सक्काउनु छ।’​

अनलाइन कक्षाका कारण छैनन् विद्यार्थी ढुक्क
घरमै थन्किएका ग्लेसिएर इन्टरनेसनल बोर्डिङ स्कुलका विद्यार्थी आइतबार उत्साह र हौसलासहित स्कुल गए। तर, यसवर्ष आफ्नो विद्यालयमा एसईई परीक्षा सञ्चालन नहुने भएपछि उनीहरु झन् चिन्तित छन्।

ग्लेसिएर इन्टरनेसनल बोर्डिङ स्कुलमा अध्ययनरत सजिता चौँलागाईंले अनलाइन कक्षा लिएकी थिइन्। कक्षा निरन्तर सञ्चालन भयो। तैपनि भौतिक उपस्थितिमै हुने पठनपाठनजस्तो राम्रो सिकाइ भएन। अनलाइन कक्षामा नबुझेको कुरा सोध्ने र छलफल गर्ने वातावरण बनेन।  

‘के के नपुगेको जस्तो लागिरहेको छ। तर हामी राम्रो मेहनत गरिरहेका छौँ। गत वर्षजस्तो विद्यालयले मूल्यांकन गर्दैनन् र परीक्षा केन्द्रमै गएर परीक्षा दिनुपर्छ भन्ने पिरले सताएको छ,’ उनले भनिन्, ‘नयाँ ठाउँमा के होला कसरी परीक्षा दिने भन्ने डर लागिरहेको छ।’  

जोरपाटीका हार्दिक थपलिया पनि परीक्षाको तयारी गरिरहेका छन्। तर, उनी पनि ढुक्क छैनन्।

‘कोरोनाले पढाइ प्रभावित बन्यो, अनलाइन कक्षा सञ्चालन गरेर कोर्स सकिए पनि केही अन्योल छ,’ उनले भने, ‘नबुझेका पाठहरु रिभिजन गर्दै परीक्षाको तयारी गर्ने सोच्दै छु।’

ग्रामीण क्षेत्रका विद्यार्थी मर्कामा
पढाइ पुरा नभई परीक्षा तालिका सार्वजानिक भएपछि राजधानीकै विद्यार्थी चिन्तित हुँदा ग्रामीण क्षेत्रका विद्यार्थीको अवस्था झन् खराब छ।

वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्दा शिक्षा मन्त्रालयले विद्यार्थीलाई प्रविधिका कुनै पनि साधनमा पहुँच नभएका, अनलाइन, रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँचमा भएका गरी पाँच समूहमा वर्गीकरण गरेको थियो। 

कोभिड–१९ पछि विद्यालय शिक्षामा ‘डिजिटल असमानता’ पैदा भएको अवस्थामा दुर्गम क्षेत्रका विद्यार्थी सबैभन्दा बढी मर्कामा परेका छन्।

सल्यानको सुर्योदय माविमा अध्ययनरत दीपिका बिसीलाई अनलाइन कक्षामा पनि पठनपाठन हुन्छ र जस्तो लाग्छ। 

उनले विद्यालय सञ्चालन अवधिमा भौतिक उपस्थितिमा विद्यालयमा नै गएर पढिन्। त्यसबाहेक उनको पढाइ ठप्प छ।

‘कोरोनाले स्कुल जान रोक्यो। भौगोलिक विकटताका कारण अनलाइनबाट पढ्न सम्भव थिएन,’ उनले भनिन्, ‘फोन गर्न त नेर्टवक हुँदैन अनलाइन क्लास त झन् कसरी गर्ने?’  

उनको कोर्स आधा पनि सकिएको छैन। तर परीक्षा आउन दुई महिना मात्रै बाँकी छ। 

‘गणित र विज्ञानका केही पाठ पढाइ भएको छैन। अंग्रेजी पनि पढ्न बाँकी छ। नेपाली विषयको कोर्स नसकिँदै सरको सरुवा भयो,’ उनले सुनाइन्।

उनका अनुसार नेपाली विषयका ६ वटा पाठहरु पढ्न बाँकी थिए। नयाँ शिक्षक कहिले आउने अझै थाहा छैन। विज्ञान विषयका शिक्षक पनि अध्ययनका लागि बाहिर गएपछि स्कुल खुलेपनि पढाइ भएको छैन।

‘घरमै पढेको आधारमा एसईई दिनुपर्ने भएको छ। नयाँ ठाउँमा कस्तो परीक्षा होला, चिन्ता छ। अब जस्तो भए पनि परीक्षा त दिनैपर्यो,’ उनले भनिन्।

कोर्स नसकिएको चिन्ता एकातिर छ, परीक्षा हुन्छ, हुँदैन भन्ने अन्यौल अर्कोतिर। यसपटक परीक्षा हुन्छ भन्ने टुंगो लागेको पनि भर्खर नै हो। 

‘गत वर्षहरुमा कोरोना माहामारीका कारण परीक्षा सञ्चालन गरिएन यस वर्ष पनि हुँदैन कि भन्ने लागेको थियो,’ उनले भनिन्, ‘नजिकैको केन्द्रमा नै गएर परीक्षा दिनुपर्ने भयो रे।’ 

अघिल्ला कक्षाहरुमा उनीहरुले गणित, विज्ञान र अंग्रेजीको ट्युसन पढेका हुन्थे तर यो वर्ष त्यो पनि भएन। 

‘ट्युसनले नै पनि बुझिन्थेन तर झन् स्कुलमा आधा पनि नपढेको विषयको परीक्षा कसरी गर्ने?’ उनले भनिन्, ‘पोहोर ९ कक्षामा पनि यस्तै भयो। ८ कक्षादेखि नै राम्रोसँग पढ्न पाइएको छैन। आधा पढेर जाँच दिएका हौँ।’

कोरोनाको कारणले विद्यालय बन्द भएको कारण कोर्स नसकिएको सूर्योदय माविका शिक्षक राजेश देवकोटाले बताए। चैतसम्म कोर्स सकिने उनको भनाइ छ।

‘पढाइ नै भएको छैन, कसरी कोर्स सक्नु’, उनले भने, ‘स्कुलमा त पोहोर परार पनि कोर्स सकिएको थिएन यति छिटै। अहिले झन कोरोनाको कारणले विद्यालय बन्द थियो।’

सोही स्कुलबाट सरुवा भएर गएका नेपाली विषयका डिल्ली रावतले पढाइ अस्तव्यस्त भएको बताए।

‘कक्षा १० को नेपाली किताब पाठ ६ का व्यापारिक चिठीसम्म मात्रै पढाइ भएको छ,’ उनले भने, ‘कोरोनाको कारणले कक्षा सञ्चालन भएनन।त्यसैले पढाइ अस्तव्यस्त बन्यो।’

गत साल कोरोना माहामारीका कारण परीक्षा लिन नसकेपछि सरकारले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेको थियो। यस वर्ष भने वैशाख ९ बाट २० गतेसम्म देशैभर एकसाथ एसईई सञ्चालन हुन लागेको छ।

देशभरका करिब २ हजार परीक्षा केन्द्रहरूबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .