ad ad

समाज


८ वर्षीया छोरीलाई बलात्कार गरिएको थाहा पाएपछि बाबुले गरे आत्महत्या!

८ वर्षीया छोरीलाई बलात्कार गरिएको थाहा पाएपछि बाबुले गरे आत्महत्या!

कृष्ण बहाब
फागुन २३, २०७८ सोमबार ६:८, इटहरी

८ वर्षीया प्रतीक्षा (परिवर्तित नाम) कक्षा ३ मा पढ्छिन्। रामधुनी नगरपालिका–१ कि उनी मोबाइलमा गेम खेल्न एक जना २४ वर्षका छिमेकी युवककाे घरमा गइरहन्थिन्। एकदिन ती युवकले उनलाई फकाउँदै मोबाइल चलाउन दिए, चकलेट दिए। अनि आफ्नो कोठामा लगेर बलात्कार गरे।

घटना थाहा पाएपछि पीडितको परिवारले यही फागुन १९ गते प्रहरीमा जाहेरी दियो। तर डिप्रेसनका बिरामी उनका बाबुले सहन नसकेर भोलिपल्ट आत्महत्या गरेका छन्। 

घटनामा संलग्न युवक भने फागुन २१ गते इलाका प्रहरी कार्यालय (पकली) मा आएर आत्मसमर्पण गरेको प्रहरी निरीक्षक प्रकाश श्रेष्ठले बताए। ‘उनलाई अहिले म्याद गरी थप अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक श्रेष्ठले भने।

आफूविरुद्ध भएका गलत क्रियाकलापबारे पीडित बालिका भन्छिन्,  ‘सुरुमा मोबाइल दिएर फकाउनुभयो। उहाँको कोठामा लैजानुभयो। मोबाइलमा भिडिओ हेर्न थालेपछि मेरो लुगा खोल्दिनुभयो। अनि आफ्नोपनि खोल्नुभयो। त्यसपछि म कराउन थालेँ। उहाँले मुख छोपिदिनुभयो।’

गत पुसमा पहिलोपटक त्यस्तो घटना भएको थियो। त्यसको केही दिनपछि ती युवकले पुनः उक्त हर्कत दोहोर्‍याएको पीडित बालिका बताउँछिन्। बालिकाको स्वास्थ्य परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।  

जब परिवारले थाहा पायो
बलात्कार गरेपछि अरूलाई भनिस् भने मारिदिन्छु भनेकाले प्रतीक्षाले घटना परिवारलाई सुनाइनन्। घटनाका बेला उनका बुबालाई भने डिप्रेसनको उपचार गराउन आमाले काठमाडौं लगेकी थिइन्। घरमा हजुरआमा र १० वर्षीय दाजु मात्र थिए।
पहिलोपटक बलात्कार भएको मिति प्रतीक्षालाई थाहा छैन। 

दोस्रोपटक त्यस्तै घटना भएको केही दिनपछि उनका बाआमा काठमाडौंबाट फर्किए। शौच गर्दा पनि रगत आउन थालेपछि  पीडित बालिकाले याे कुरा आमालाई सुनाइन्। 

‘मैले त त्यस्तो केही सोचेको थिइनँ। बिरामी भएको होला भन्ने लाग्यो। मेडिकलमा गएपछि तीन हजारको औषधि दिएको थियो’, प्रतीक्षाकी आमा भन्छिन्। 

गाउमा खेल्ने साथीमध्ये एक हुन्– प्रतीक्षाका १० वर्षीय दाइ। उनले दाइलाई भने घटना सुनाएकी थिइन्। प्रतीक्षा र उनका दाजुबीच एकदिन खेल्ने निहुँमा झगडा पर्‍यो। त्यही रिसमा दाइले बहिनीले आफूलाई सुनाएको कुरा हजुरआमालाई भन्दिए। तर हजुरआमाले इज्जत जाने डरले कसैलाई सुनाइनन्। 

खेल्ने क्रममा आफूजस्तै साथीहरूलाई प्रतीक्षाले यो घटना सुनाइन्। उनका साथीले आफ्ना बाआमालाई सुनाए। यही फागुन १८ गते गाउँकै एक जना महिलाले प्रतीक्षाकी आमालाई यो कुरा सुनाइन्। श्रीमान् डिप्रेसनको बिमारी रहेकाले उनी यसै पनि तनावमा थिइन्, त्यसमाथि छोरीलाई बलात्कार भएको सुन्दा आत्तिइन्। 

‘मैले छोरीलाई सोध्दा उसले सुरुमा भनिन र पछि सबै कुरा भनी। म रुनुसम्म रोएँ’, प्रतीक्षाकी आमा भन्छिन्। 

बालिकाका बाबु बिरामी रहेकाले  उनीहरूले पीडकविरुद्ध जाहेरी पनि गुपचुपमै दिए। तर प्रतिक्षाका बाबुले गाउँलेमार्फत फागुन १९ गते घटना थाहा पाइहाले। त्यस रात उनी काकाको घर गए। बिरामी भएकाले उनका दाजु पनि सँगै त गएका थिए। 

‘राति १ बजेसम्म ऊ बाहिर–भित्र गरिरहेको थियो। मैले यो कुरा चाल पाइरहेको थिएँ। अन्तिमपटक ऊ ट्वाइलेट गयो। तर लामो समय नआएपछि खोज्न थालेँ। बाहिर–भित्र नभेटिएपछि माथिल्लो तलामा पुग्दा ऊ झुन्डिएको अवस्थामा भेटेँ’, मृतकका दाजु भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .