समाज


पल शाहका वकिलको जिकिर : मेडिकल रिपोर्ट र निवेदन बाझियो, गायिकाको उमेर ढाँटियो

पल शाहका वकिलको जिकिर : मेडिकल रिपोर्ट र निवेदन बाझियो, गायिकाको उमेर ढाँटियो

नेपालखबर
चैत १०, २०७८ बिहिबार १७:५६, काठमाडौँ

बलात्कार मुद्दा लागेका नायक पल शाहको पक्षबाट १२ जना कानुन व्यवसायीले बहस गरेसँगै बिहीबार थुनछेक बहस सकिएको छ। 

अबको केहीबेरमा जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने आदेश जारी गर्नेछ। 

शाहको पक्षबाट बहस गरेका वकिलहरूले ग्रान्डडिजाइनका साथ फसाइएको जिकिर गरेका छन्। 

बहसमा सहभागी अधिवक्ता कमलामोहन वाग्लेले पल निर्दोष रहेको जिकिर गरे। 

‘केटीले स्वास्थ्य कार्यालयमा दिएको बयान र प्रहरी कार्यालयमा लेखाएको ब्यहोरामा ठूलो भिन्नता छ। निवेदकका कुराहरु बाझिएका छन्’, वाग्लेले भने। 

यस्तै समयमा उजुरी नपरेको र पीडित सामाजिक क्षेत्रमा काम गरिरहेको र उमेर पुगेको भन्ने आम जानकारीमा रहेको जिकिर शाह पक्षका वकिलको तर्क छ। 

‘अहिले उनको उमेर नपुगेको जम्मा ३ महिना भनेर आएको छ। जबकि उनको विद्यालयको प्रमाण पत्र पनि पेश गरिएको छैन, अस्पतालको प्रमाण पत्र पनि छैन। उमेरबारे शंका गर्ने पर्याप्त ठाउँहरु छन्’, वाग्लेले भने।

उनले २०७८ साल वैशाख १४ गते घटना भएको भने पनि यति लामो समय तिनै पल शाहसँग विभिन्न किसिमका भिडिओहरु सुटिङ गरेर घुमिरहेको अवस्था देखिएको बताए। 

मलाई पल शाहले बलात्कार गरेको र कृष्ण जोशीले वातावरण मिलाइदिएको भने पनि घटना हुँदा कृष्ण जोशी काठमाडौंमा भएको वकिलको तर्क छ। 

उनीहरु बसेको घरका साहु–साहुनीले छुट्टा छुट्टै कोठामा लगेर सुताएको बताइसकेकाले पनि बलात्कार नभएको पुष्टि गर्ने उनीहरुको तर्क छ।

उहाँहरूकै टिमको कमल भन्नेले मसँगै पल शाह राति आएर सुतेका हुन्। कतिखेर आएर सुते मलाई थाहा भएन। बिहान थाहा पाउँदा मसँगै सुतिरहेका थिए भनेर भनेको पनि कानुन व्यवसायीले बहसका क्रममा उठाए।

‘केटीलाई कहीँ कतै घाउ खत लागेको अवस्था छैन। स्वाबहरु कहीँ कतै खसेको अवस्था छैन’, वाग्लेले बहसमा भने, ‘उनले प्रहरीमा कागजात गर्दाको अवस्थामा योनिभित्र नै वीर्य झारेको भनेकी छन्। अस्पतालमा पर्दामा स्खलन गराएको भनेकी छन्। यसरी फरक फरक भनाइ आइरहेको अवस्था छ, त्यही भएर पनि घटना नभएको पुष्टि हुन्छ, पल निर्दोष छन्।’

बहसमा पल शाहका वकिलले भने, ‘१४ गते जबर्जस्ती करणी गरिएको भनिएको छ। १५ गते बिहान एउटै गाडीमा ढोरवाराही मन्दिर दर्शनमा गएका छन्। फर्किएर सँगै सुटिङ गरेको अवस्था छ। यस्तो पनि कहीँ हुन्छ? आफूलाई रातभरि करणी गर्नेसँग भोलिपल्ट बिहानै मन्दिर गइन्छ दर्शन गर्न? त्यसैसँग गीतहरू सुटिङ गरिन्छ? यी सबै बनावटी कुरा मात्रै हुन्।’

बहसमा को को?

पीडितको पक्षमा जिल्ला न्यायाधिवक्ता रामचन्द्र पौडेल, सह-न्यायाधिवक्ता विपिनराज तिवारी, वैतनिक वकिल शिवराज काफ्ले र ६ जना निजी कानुन व्यवसायीले बहस गरेका थिए।

निजी कानुन व्यवसायीहरु मोहना अन्सारी, राधिका खतिवडा, किशोर सापकोटा, टेकनारायण गौतम, सरिता तिवारी, विरोध प्रसाद लामिछाने, शिवराज काफ्लेसहितले पीडितको पक्षबाट बहस गरेका थिए।

प्रतिवादी शाहको पक्षबाट १२ जना वकिलले बहस गरेका छन्। जाहेरवाला पक्षको बहस बुधबार नै सकिएको थियो। 

वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, कमलामोहन वाग्ले, लव मैनाली, यज्ञ राना, परशुराम गिरीसहित १२ जना वकिल शाहको पक्षबाट बहसमा सहभागी भएका थिए।  

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको बन्द इजालसमा बुधबारदेखि बहस भएको थियो। प्रतिवादीको तर्फबाट कानुन व्यवसायीले बुधबारदेखि नै बहस गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad