समाज


अधुरै रह्यो बुवाआमालाई पक्की घरमा राख्ने अनिलको सपना

अधुरै रह्यो बुवाआमालाई पक्की घरमा राख्ने अनिलको सपना

फाइल तस्बिर


यज्ञराज जोशी
चैत २३, २०७८ बुधबार १४:२२, काठमाडौँ

सुर्खेत गुर्भाकोटका अनिल गुरुङको बाल्यकाल टायल लगाएको घरमै बित्यो। बुवा लालबहादुर साधारण कृषक थिए। परिवारले दुःखले गुजारा चलाउँथ्यो।

लालबहादुर भारत गएर नोकरी गर्थे। त्यसैबाट छोरालाई पढाए, लेखाए। बाँकी पैसाले घरधन्दा चलाए। 

उनका दुई छोरा र एक छोरीमध्ये अनिल जेठा हुन्। परिवारको आर्थिक अवस्था सुधार्न अनिलले विदेश जाने योजना पनि बनाए यो योजना बुबालाई सुनाए। 

त्यसबेला लालबहादुरले पनि केही हुने आशमा एक टुक्रा जग्गा बेचेर अनिललाई विदेश पठाए। तर प्रक्रिया नमिलेको भन्दै अनिल घरै फर्किएका थिए। 

घर फर्किएको केही समयपछि लालबहादुरलाई एकजना आफन्तले नेपाली सेनामा भर्ना खुलेको सुनाए। लालबहादुरले उक्त कुरा सुनाएपछि अनिल भर्ना हुन तयार भए। 

२०६६ सालमा सुर्खेतस्थित चार नम्बर बाहिनीबाट अनिल फौजमा भर्ती भए। सेनामा भर्ती भएको १२ वर्षपछि गत पुस ८ गते उनी शान्ति सेनाको कंगो मिसन छानिए।

मिसनमा गएको साढे ३ महिनापछि अफ्रिकी मुलुक कंगोमा मंगलबार विद्रोहीको आक्रमणमा उनको निधन भयो।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार अनिल संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत थिए।

‘अपरेसन बाली’का क्रममा मंगलबार शान्ति सेनाको नेपाली टोलीलाई विद्रोही मिलिसियाले आक्रमण गरेका थिए। प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा चलाइएको कारबाहीमा विद्रोहीको अब्जेटिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा गुरुङ घाइते भएका थिए। 

उनलाई हेलिकप्टरमार्फत उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो तर उपचारका क्रममा निधन भएको सेनाले जनाएको छ। 

संयुक्त राष्ट्रसंघले पनि विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै ती नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।    

शान्ति मिसनका क्रममा कंगोमा ज्यान गुमाएका अनिलले जागिरकै क्रममा बसेको प्रेमलाई बिहेमा परिणत गरेका थिए। उनका १२ वर्षीय छोरा पनि छन्। श्रीमती गृहणी हुन्। 

‘हामी सुखी होइन, दुःखी परिवार हौँ। जेठाको कमाइबाट खर्च पानी चलेको थियो,’ बुबा लालबहादुरले नेपालखबरसँग भने, ‘मान्छे भएको र नभएकोमा धेरै अन्तर हुन्छ। छोराको ज्यान त गइहाल्यो। अब बुहारी र नातीलाई राहात मिले राम्रो हुन्थ्यो।’

सधैँभरी टायलले छाएको घरबाट बुवाआमालाई पक्की घरमा सार्ने अनिलको योजना थियो। 

सेनाको जागिरबाट आउने र अरु पैसा जोडजाड गरेर उनले एकतले घर पनि बनाउन सुरु गरेका थिए। तरको अझै प्लास्टरसहित काम बाँकी नै छ।

‘राम्रोसँग बस्नुहोला। म एक वर्षपछि आउँछु, अनि नयाँ घरमा सरौँला भन्थ्यो,’ लालबहादुरले भने, ‘भाइलाई पनि आर्मी बनाउँला भनेथ्यो। आर्मीमा नभए विदेश पठाउने योजना बनाएको थियो।’ 

अनिलको शव बिहीबार काठमाडौं आइपुग्ने जानकारी लालबहादुरले पाएका छन्। त्यहाँबाट आफन्तले सुर्खेत पुर्‍याएपछि अन्तिम संस्कार गाउँमै गरिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .