ad ad

समाज


कोरोना महामारी पछिको उल्लासमय दसैँ, भारतबाट मात्रै भित्रिए १३ हजार नेपाली

कोरोना महामारी पछिको उल्लासमय दसैँ, भारतबाट मात्रै भित्रिए १३ हजार नेपाली

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०७९ शनिबार २१:५, काठमाडौँ

कोरोना महामारीका दुई वर्ष नेपालीले धुमधामसँग दसैँ, तिहारलगायतका चाडपर्वहरु मनाउन पाएनन्। यस वर्ष भने कोरोना महामारीको त्रास हटिसकेकाले दसैँको चहलपहल बढेको छ। 

रोजगारीका लागि भारतमा रहेका नेपालीको पश्चिमी नाका गड्डाचौकीमा भीड लागेको छ। महेन्द्रनगरबाट दसैँ मनाउन जन्मथलो फर्किनेको बसपार्कमा भीड छ। बजारमा किनमेल गर्नेको चहलपहल पनि उत्तिकै छ। 

बैतडीको देहिमाण्डौका कविराज भट्ट दसैँ मनाउन दुई वर्षपछि जन्मथलो फर्किए। ‘हरेक वर्ष दसैँ मनाउन म जन्मघर बैतडी जाने गर्थे कोरोना महामारीका कारण दुई वर्ष जान पाएन।’ उनले भने, ‘यस पटक छोराछोरी परिवारसहित दसैँ मनाउन जन्मघर जाँदैछु।’ उनले विगतका वर्षमा जस्तो त्रासका बीच चाडपर्व मनाउनुपर्ने बाध्यता यसपटक नरहेको बताए।

‘विगतमा बजारमा सरसामान किन्न जान डरै हुन्थ्यो, आफन्तकाहाँ  टीकाटालो गर्न पनि त्रास हुन्थ्यो’, उनले भने, ‘कोरोनाका कारण  मान्यजनको हातबाट जमरा र आशीर्वाद ग्रहण नगरेको पनि दुई वर्ष भयो।’ उनले यस पटकको दसैँ उल्लासमय रहेकाले भव्यताका साथ मनाउने बताए।

भीमदत्त नगरपालिका–६ ऐठपुरका सन्तोष पन्तले पनि कोरोना महामारीपछि साथी भाइसँग पिङ खेल्न र बजार घुमफिर गर्न पाएकामा खुशी छन। महेन्द्रनगरस्थित कञ्चन समाजले हालेको पिङ खेल्न  अहिले घुइँचो लागेको छ। ‘महेन्द्रनगर नजिकमा अरू ठाउँमा पिङ देख्न पाइएन यहाँ कञ्चन समाजले पिङ हालेको छ साथीहरुसँगै पिङ खेल्न आएको छु।’ उनले भने, ‘दुई वर्ष त घरभित्रै थुनियो अहिले दसैँको रौनक छ सबैतिर।’

पछिल्लो समय दसैँको रौनकता भने घट्दै गएको बताए। ‘पहिला–पहिला हामीलाई दसैँ आउन महिनादिन अगाडिदेखि रौनक छाइसक्थ्यो।’ उनले भने, ‘पिङ हाल्ने, चङ्गा उडाउने, नयाँ लुगा किन्ने क्रियाकलापले रमाइलो हुन्थ्यो।’ त्यसैगरी काठमाडौँबाट दसैँ मनाउन घर फर्किएका दीपेश कार्कीले पनि यस वर्षको दसैँ उल्लासमय रहेको बताए। ‘कोरोना पछिको यो दसैँ विशेष हुन्छ किनकि कोरोनाका कारणले आफन्त एक ठाउँमा भेला हुन पाएका थिएनौँ’, उनले भने, ‘यस वर्ष भने आफन्तहरुको भेटघाटले पनि यो दसैँ विशेष उल्लासमय हुन्छ’

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिले विजय पाएको दिनका रूपमा विजयादशमी मनाउने चलन छ। घटस्थापनाका दिन राखिएको जमरा दशमीको दिन दुर्गादेवीको प्रसादका रूपमा लगाउने र टीकाका दिन परिवारका ज्येष्ठ सदस्यबाट टीका तथा जमरा लगाइने प्रचलन छ।

दसैँ मनाउनकै लागि भारतबाट यो महिनामा मात्रै १३ हजार नागरिक स्वदेश फर्केका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार असोज १ देखि हालसम्म १३ हजार एक सय ६१ नेपाली गड्डाचौकी नाकाबाट स्वदेश फर्केका छन्।

त्यसैगरी महेन्द्रनगरबाट सुदूरका पहाडी जिल्लाहरुमा पनि करिब २० हजार नागरिक बाहिरिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महेन्द्रनगरबाट सुदूरका पहाडी जिल्ला जाने यात्रुको चाप अत्यधिक छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले पहाडी जिल्ला फर्किने यात्रुको चाप बढेकाले यात्रुको सुरक्षाका लागि ट्राफिक प्रहरीले यात्रुको यान्त्रिक जाँच गरिरहेको बताए।

‘सुरक्षित यात्राका लागि सवारीको यान्त्रिक जाँच गर्ने क्षमताभन्दा बढी यात्रु हाल्न नदिने कार्यक्रमअन्तर्गत यात्रुसँग एक मिनेट कार्यक्रम सञ्चालन गरिराखेका छौँ’ उनले भने। विभिन्न कामको सिलसिलामा महेन्द्रगरमा बसाइँ गर्ने नागरिक दसैँका लागि कुलपूजामा सहभागी हुन पहाडी जिल्ला दार्चुला, बैतडी, बाजुरा, बझाङ, अछाम र डडेल्धुरा जाने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .