समाज


कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १३:२२, काठमाडौँ

कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

ग्रहणले अपराह्न ४:५२ बजे स्पर्श गर्ने छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले बताए। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे ७ बजे छाड्ने छ।

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ। ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ। यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४:५२ बजेदेखि भोजन गर्नु हुँदैन।

ग्रहणका समयमा नित्यकर्म गर्नुहुन्छ। घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ। ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad