समाज


नाबालिग बलात्कार मुद्दामा सन्दीपलाई कारागार पठाउन आदेश

नाबालिग बलात्कार मुद्दामा सन्दीपलाई कारागार पठाउन आदेश

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १४:४३, काठमाडौँ

नाबालिग बलात्कारको मुद्दामा राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

गत मंगलबारदेखि जारी निरन्तर सुनुवाइको क्रममा शुक्रबार पीडितको पक्षबाट जवाफी बहस सकिएसँगै जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन्। 

थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपका लागि जेलको बाटो देखाएको हो। 

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध परेको मुद्दामा जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी र निजी वकिल शान्ति रिसाल काफ्लेले जवाफी बहस सकेपछि आदेश आएको हो। 

बिहीबार लामिछानेका तर्फबाट बहस सकिएको थियो। शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको मुद्दामा सरकारी पक्षलाई प्रतिवाद गर्ने समय दिइएको थियो। 

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरेको थियो। 

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको थियो। यस्तै ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग पनि अभियोग पत्रमा गरिएको थियो। 

तर लामिछानेले भने आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान सरकारी वकिल र इजलासमा पनि दिएका थिए। 

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी हिरासतमा राखेको थियो।

गौशाला प्रहरी बृत्तको हिरासतमा राखिएका उनले पटक म्याद थप गर्दै अदालतमा हाजिर हुँदा किशोरी नाबालिग नरहेको बताएका थिए। 

सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको भन्ने तीनवटा प्रमाण नै पेश गरेका थिए। तर अन्तिम निर्णय नहुन्जेललाई अदालतले सन्दीपलाई पुर्पक्षका लागि जेल पठाएको हो। 

अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट बयानका क्रममा सन्दीपले किशोरीको उमेर १८ वर्ष बढी रहेको प्रमाण पेश गरेका थिए। 

त्यस्तै उनका वकिल मुरारी सापकोटाले पनि जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण इजलासमा पेस गरेका थिए। 

उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएको जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेस गरेका थिए। जसमा किशोरीको उमेर १८ वर्षभन्दा बढी छ। 

लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ। त्यसपछि उनीविरुद्ध गत भदौ २१ गते उनीविरुद्ध गौशाला प्रहरी बृत्तमा बलात्कारसम्बन्धी जाहेरी परेको थियो। 

नेपाली राष्ट्रिय टिमसहित क्रिकेट खेल्न केन्या हुँदै वेस्टइन्डिज पुगेका उनी बलात्कार आरोप लागेपछि एक महिना विदेशमै बसे। त्यसपछि उनी गत असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

पछिल्लो एक वर्षमा बलात्कार मुद्दामा जेल जाने सन्दीप दोस्रो सेलिब्रिटी हुन्। यसअघि नायक पल शाह पनि नाबालिग गायिका बलात्कार प्रकरणमा अहिले तनहुँ कारागारमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .