समाज


चिसो बढेपछि सुनसान बन्यो हिल्सा नाका

चिसो बढेपछि सुनसान बन्यो हिल्सा नाका

नेपालखबर
पुस ८, २०७६ मंगलबार २:५९,

चिसो बढेपछि हुम्ला जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ।

नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो।

हिल्सा क्षेत्रमा मंसिर अन्तिम सातादेखि भारी हिमपात भइरहेको छ। तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले कोही बस्न सक्दैनन्। सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा अहिले सुनसान छाएको छ।

उत्तरी हिल्सानाका क्षेत्र आसपासमा अहिले चार फिट हिउँ जमेको छ। हिमपातले हिल्सानाका मात्रै नभएर जिल्लाको टाके, न्यारु, चुवाखोलालगायत उच्च हिमाली भेगमा रहेका सीमामा पर्ने नाकाका बाटाहरु हिउँले बन्द छन्।

हुम्लीहरुको आयस्रोतको रूपमा हेरिने हिल्सानाका हिमपातले छ महिना बन्द र छ महिना सञ्चालन हुने गर्छ।

Hilsa

हुम्लीहरु वैशाखको अन्तिमदेखि काम र व्यापारका सिलसिलामा हिल्लानाका भएर चीनको ताक्लाका जाने गर्छन्। हिल्सानाकामा यहाँका स्थानीयवासीले होटल, पसल व्यवसायसमेत गर्ने गरेका छन्। चीनको सीमानाका हिल्सामा मात्रै ४० होटल तथा पसल रहेको कैलाश होटलका सञ्चालक कार्मा तुन्डुप लामाले जानकारी दिए।

हिउँ पर्न थालेपछि होटल कुरुवा एक जना बसेका छन्। अन्य सबै कामदार र होटल मालिक कोही शहर त कोही बेँसीतिर झरेका लामाले बताए। बर्खाको सिजनमा होटल व्यवसायबाट राम्रो आम्दानी हुने भएकाले जेठबाट यी होटल सञ्चालनमा आउने र पुस पहिलो सातासम्म होटल बन्द हुने गरेका छन्।

वैशाखको अन्तिम र जेठ पहिलो सातादेखि कैलाश मानसरोवर दर्शनका लागि जाने विदेशी तथा स्वदेशी पर्यटकको मुख्य बाटो पर्ने भएकाले पनि जेठदेखि असोजसम्म यहाँ रहेका होटल तथा पसल भरिभराउ हुने लामाले बताए।

चिसो बढेपछि प्रहरी चौकी पनि सारियो
अत्यधिक हिमपात भएर चिसो हुन थालेपछि सिमानाकामा रहेका प्रहरी चौकी सदरमुकाम सिमकोट सारिएका छन्।

सदरमुकाम सिमकोटभन्दा बढी हिमपात हुने भएकाले हिउँदमा सीमा क्षेत्रमा प्रहरी बस्न सक्दैनन्।

प्रहरीले चिसो खप्न नसक्दा वर्षेनी हिउँदको छ महिना सिमकोट सार्ने गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले जानकारी दिए।

भन्सार कर्मचारी पनि बेँसी झरे
हिस्सामा रहेको भन्सार कार्यालयमा रहेका कर्मचारी पनि बेँसीतिर झरेका छन्। करीब आठ वर्षपछि हुम्लामा मंरि महिनामै अत्यधिक हिमपात भएकाले जिल्लामा चिसो बढेको छ।

पुस, माघ, फागुन तीन महिनामात्रै हिमपात हुने भएता पनि यो वर्ष मंसिरमै भारी हिमपात हुँदा उत्तरी क्षेत्रका बस्तीको जनजीवन थप प्रभावित बनेको छ।

यहाँ बिहान–बेलुका बढी चिसो हुनुका साथै तापक्रम माइनस १० डिग्रीमा झरेको छ।

उत्तरी क्षेत्रमा रहेका तिल, जान, हल्जी, यारीमुचु, याङ्गारलगायतका बस्तीमा मानिसको बसोबास पातलिएको छ। उत्तरी क्षेत्रका मानिस प्रायःजसो हिउँदको समयमा चिसो छल्न र व्यापारको सिलसिलामा तराई–मधेस जाने गर्छन्।

तातो मौसम शुरु भएपछि जिल्ला भित्रने र छिमेकी राष्ट्र तिब्बतमा कामको सिलसिलामा जाने गरेका छन्।

यस्तै जिल्लाको चङ्खेली गाउँपालिकाको टाकेनाकामा रहेको प्रहरी चौकी पनि चिसो बढेपछि बेँसीतिर झारिएको छ।

जिल्लाका उच्च क्षेत्रमा रहेका व्यापारी नाकाबाट आयात हुने मदिराको आयात पनि यो वर्ष ठप्प रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad