समाज


बोल्नै नसक्ने अवस्थामा सचिन परियार, टिचिङ अस्पतालको आईसीयूमा उपचार हुँदै

बोल्नै नसक्ने अवस्थामा सचिन परियार, टिचिङ अस्पतालको आईसीयूमा उपचार हुँदै

तस्बिरः गायक रविन लामिछानेको फेसबुकबाट


नेपालखबर
पुस ८, २०७९ शुक्रबार ८:१, काठमाडौँ

एकताका सामाजिक सञ्जाल र युट्युबमा निक्कै चर्चामा थिए, सचिन परियार। केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ।

सचिनको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

सचिनको उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसन मार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले थप आर्थिक सहयोगको पनि खाँचो रहेको उल्लेख गरेका छन्।  

सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए। ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।

गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो। 

पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’मा पनि हिट थिए।

सचिनको स्वरमा चलेका कलाकारले पनि लिप्सिङ दिए। टिकटक बनाए। उनलाई टेलिभिजन कार्यक्रममा निम्त्याइयो।

म्युजिक भिडिओमा सचिनलाई खेलाउने होडबाजीजस्तै थियो। चलेका कलाकारले पनि उनीसँग कम्मर मर्काए। सचिनलाई लिएर बनाइएका म्युजिक भिडिओहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन्थे। अहिले सचिनको नाम सबै तिरबाट हराएको छ। सामाजिक सञ्जालमा भेटिन छोडेका छन्। 

उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्।

सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्।

उनी भन्छन् ‘भर्खरै अस्पताल पुगेका साथिहरु र बाबुको आमालाई सोध्दा सचिन बाबुको अवस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पतालको आइसीयूमा उपचाररत सचिन बाबुको थप उपचार,  खर्च अभावका कारण रोकिन सक्ने खतरा भएकाले माया गर्ने सबै जनाले बाबुको लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .