पोखराका निशान्त आचार्य मामाको बरखीमा सहभागी हुन आइतवार काठमाडौंबाट हिँडेका थिए।
तर उनको यो यात्राले मामाघरसम्मको बाटो तय गर्न सकेन। उनी पोखराको आकाशमै बिलाए। अहिले उनको परिवारका कोही यो दुखान्तलाई शब्दमा व्यक्त गर्न नसक्ने पीडामा छन्।
सोमबार मात्रै गण्डकी अस्पतालबाट शब बुझेका पिता भरत आचार्य छोराको आधा जलेको शव हेर्दै टोलाइरहन्छन्। आमाको बोली फुट्न सकेको छैन।
निशान्त सानैबाट संगीतबारे उत्सुक थिए। गीत गुनगुनाउँथे। संगीत मन पराउँथे। निशान्तका बुवा टेलिकमका जागिरे, गीत र कविता लेख्थे।
कला मन पराउँथे। उनी छोराले संगीतमा देखेको सपनासँग खुशी थिए। पोखराको खाउन डाँडामा हुर्किएका निशान्त ७ वर्षदेखि काठमाडौंको धापासीमा बस्थे।
सानैदेखि संगीतमा रुची भएका उनले सामाजिक सञ्जालबाटै गिटार बजाउन र गाउन सिकेका थिए। आफैँ सिक्दै सिकाउँदै गिटारिस्टका रुपमा स्थापित हुँदै गरेका निशान्त एल्बम निकाल्ने र सांगीतिक टुरमा निस्कने योजनामा थिए।
केसिक्स बिफोर नामको उनको आफ्नै ब्याण्ड छ। उनी यही ब्याण्डमार्फत सांगीतिक टुरमा निस्कन चाहान्थे।
ब्याण्डका पियानो बाधक तथा निशान्तका साथी सञ्जय श्रेष्ठ भन्छन्, ‘बच्चैदेखि म्यूजिक भनेर हिँड्यो। सिक्दै सिकाउँदै आफ्नै पहिचान पनि बनाएको थियो। उसको अहिलेको सबैभन्दा ठूलो सपना एल्बम लन्च गर्नु थियो। बिहीबार मात्रै एल्बमको एउटा गीत रेकर्ड गराएका थियौं। अर्को एउटा तयार थियो। बाँकी गीतको काम हुँदै थियो। ऊ आफैँ अस्तायो।’
सञ्जय र निशान्तको दोस्ती स्कुलदेखिकै हो। काठमाडौंमा पनि उनीहरु नजिकै बस्थे। एउटै ब्याण्डमा काम गर्थे। अधिकांश समय उनीहरु सँगै हुन्थे। कतै निस्किँदा निशान्त सधैँ सञ्जयलाई भनेरै निस्कन्थे। तर आइतबार उनले पोखरा जाने कुरा बताएका थिएनन्।
सञ्जय भन्छन्, ‘पोखरा जानु र काठमाडौं आउनु हाम्रा लागि सामान्य कुरा थियो। फेरि ऊ मामाको बरखीमा हिँडेको थियो। यो यात्रा नै अन्तिम हो भन्ने कसलाई थाहा थियो र? ऊ सधैं झैँ शान्त रुपमा घरको यात्रामा निस्किएको थियो। मलाई पनि नभनी निस्कियो।’
आइतबार पोखराको सेती खोँचमा भएको विमान दुर्घटनामा निशान्तको निधनको खबरपछि अहिले सञ्जय पोखराको खाउन डाँडा पुगेका छन्। सँगै थुप्रै सपना देखेका सञ्जय साथीको अन्तिम बिदाइमा सरिक हुँदै छन्।
उनले गला अवरुद्ध पार्दै भने, ‘उसमा कसैको रिस थिएन। आफूसँग भएको र सिकेको ज्ञान बाँड्न चाहन्थ्यो। उसलाई सिग्नेचर गिटार निकाल्नु थियो। त्यो निकाल्यो। ऊ निक्कै शान्त र खुशी थियो। सायद चाँडै अस्ताउनु रहेछ। त्यही भएर चाँडै चम्किलो भएर उदाएको थियो संगीतमा । ऊ नभए पनि उसका सपना पूरा गर्ने छौँ।’
केही दिनअघि मात्रै निशान्तले टिकटकमा एउटा भिडिओ बनाउँदै भनेका थिए ‘आज मेरो जिन्दगीको सबैभन्दा ठूलो दिन हो । म आज आफ्नै सिग्नेचर गिटार निकाल्दै छु ।’
उनले उक्त भिडिओमा सिग्नेचर गिटारबारे फ्यानहरुलाई जानकारी दिएका थिए। उनको यो खुशीमा खुशी व्यक्त गरिरहेका उनका शुभचिन्तक एकाएक मृत्युको शोकमा डुबेका छन्। श्रद्धाञ्जली लेख्न विवश छन्।
युवा पुस्ताका दर्शक–स्रोताले निक्कै रुचाएका निशान्त गिटारिस्ट मात्रै थिएनन्। उनी गायक तथा संगीतकार पनि हुन्। उनी टिकटकमार्फत फ्यानहरुलाई गिटार बजाउन सिकाउँथे। आचार्यले मृत्युको अघिल्लो दिनमात्रै ‘लेफ्ट ह्यान्ड’ ले गिटार बजाउने तरिकाबारे सिकाएका थिए।
उनले उक्त भिडिओमा आफू लेफ्ट ह्यान्ड गिटारिस भएको बताएका छन्। आचार्यले भिडिओको सुरुमा जीवनमा सोचेजति प्रगति गर्न नसक्दाको फ्रस्टेसनसमेत पोखेका छन्।
उनले सामान्य रुपमा गिटार बजाउने साथीहरु सँगै सिकेर निक्कै अगाडि बढिसक्दा आफू पछाडि परेको बताएका थिए। त्यसपछि उनले लेफ्ट ह्यान्ड गिटार पनि मज्जाले बजाउन सकिने भन्दै अरुलाई हिम्मत दिएका थिए। भनेका थिए, ‘अरुले भन्दा धेरै दुःख चाहिँ गर्नु पर्छ।’
आचार्यको यो नै अन्तिम गिटार प्रशिक्षण बनेको छ। आचार्यका शुभचिन्तक गिटार सिक्दा सिक्दै उनलाई समवेदना लेखिरहेका छन्। उनको मृत्युको शोकमा धेरैले आफ्नै जीवनको भर नभएको बताइरहेका छन्। केसिक्स बिफोर ब्याण्डमा आवद्ध निशान्तले गिटार बजाएरै दर्शकको मन जितेका थिए।
पोखरा घर भएका उनले युट्युब र टिकटकजस्ता इन्टरनेटका भिडिओ प्लेटफर्मबाट ट्युटोरियल सिकाउँदै आएका थिए। उनको गिटार ट्युटोरियल सिकेर पछिल्लो समय संगीततर्फ आकर्षित भएका थुप्रै तन्नेहरु छन्। उनीबाट प्रभावित भएर संगीतमा लागेका तन्नेरी पुस्ता अहिले शोकमा डुबेका छन्।
निशान्तको मृत्युपछि शोकाकुल रक गायक रविन तामाङले लेखेका छन्, ‘विमान दुर्घटनामा प्रियजन गुमाउनु पर्दा आज पीडा र सम्झनाको बाढी आए । आफ्ना प्रियजन गुमाउनु हुने सम्पूर्ण परिवारमा सहानुभूति छ । निशान्त आचार्य भाइ तिम्रो आत्माले शान्ति पाओस्, परिवार र साथीभाइमा गहिरो समवेदना ।’
देशको चर्चित रक ब्याण्ड मंकी टेम्पलले निशान्त अदभूत गिटारिस्ट भएको उल्लेख गरेको छ। यो ब्यण्डले केही वर्षअघि निशान्तसँग मिलेर ‘सँगै बाँचौँ न’ बोलको फिङ्गगर स्टाइल गीतसमेत रिलिज गरेको छ। ब्याण्डले उनीसँगको सहकार्यको सम्झना गरेको छ।
निशान्त विश्वकै ठूलो कम्पनीमा रुपमा परिचित ‘सोनी म्यूजिक’सँग पनि सांगीतिक सहकार्य गरिरहेका थिए।
उनी साहना गिटारमा आवद्ध थिए भने Treasure Music Store को ‘ब्राण्ड एम्बास्डर’ थिए। विशेष गरी युवा पुस्तामाझ लोकप्रिय तथा प्रेरणाका स्रोत रहेका निशान्त नगष्तबचाचघबप ले चिनिन्थे।
उनीसँग संगीतका लागि थुप्रै सपना थिए। आइतबार भएको विमान दुर्घटनासँगै उनका तमाम सपना पोखराको आकाशमा बिलाएका छन्। उनको मंगलबारै पोखरामा अन्त्येष्टि गरिँदै छ।
प्रतिक्रिया