माघ १ मा पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स परीक्षणका लागि सिंगापुर पठाइने भएको छ। दुर्घटनाको कारण पहिचान गर्न ब्ल्याक बक्स पठाउन लागिएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन्।
दुर्घटनास्थलबाट प्राप्त फ्लाइड डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर दुवैको परीक्षण सिंगापुरको ट्रान्स्पोर्टेसन सेफ्टी इन्भेस्टिगेसन ब्युरोका विज्ञहरुले गर्नेछन्।
‘अनुसन्धान गरिरहेको टोली शुक्रबार फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डरसहित नेपालबाट जानेछ। सिंगापुरमा त्यसलाई डाउनलोड गरेर विश्लेषण गरिनेछ,’ प्राधिकरणका प्रवक्ता राजेन्द्रकुमार केसीले भने।
सुरुमा ब्ल्याक बक्स फ्रान्स लगिने बताइएको थियो। किनभने सो एटीआर ७२ विमान फ्रान्समै बनेको हो। तर, प्राधिकरणले अहिले सिंगापुर पठाउने तयारी गरेको हो।
सो दुर्घटनाको छानबिन गर्न गठित टोलीले पनि काम गरिरहेको छ।
माघ १ मा विमानस्थलनजिकै पुगेको विमान सेती खोँचमा खस्दा ७२ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया