समाज


अध्यागमनमा बायोमेट्रिक प्रणाली, यात्रुको निगरानीमा खटिए पूर्वसैनिक र विद्यार्थी

अध्यागमनमा बायोमेट्रिक प्रणाली, यात्रुको निगरानीमा खटिए पूर्वसैनिक र विद्यार्थी

दीपक खरेल
पुस १४, २०७६ सोमबार १३:२८,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझको दृश्य अलि फरक थियो। अध्यागमनको आगन्तुक कक्षमा विदेशी पर्यटकलाई व्यवस्थित रुपमा डेस्कसम्म पुग्न, लामबद्ध राख्न केही व्यक्तिहरुले सहयोग गरिरहेका थिए। केहीले तिनको नजिकबाट निगरानी पनि गरिरहेका थिए।

आगन्तुक कक्षमा खटिएकाहरु नेपाली सेनाका अवकाशप्राप्त अधिकारी हुन्। उनीहरू अध्यागमनकाे बहिर्गमन कक्षमा समेत परिचालित भएका छन्। 

यस्तै  अध्यागमनको आगन्तुक कक्षमा पनि देख्न सकिन्थ्यो। तर, यहाँ सहयोग गर्नेहरु थिए, टाइसुटमा ठाँटिएका विद्यार्थी। जसले नेपाल भित्रने  विदेशी तथा स्वदेशी नागरिकहरुलाई आवश्यक सहयोग गरिरहेका थिए।

विभागले पहिलो चरणमा १३ जना सेनाका पूर्वअधिकारीहरुले अध्यागमनमा परिचालन गरेको छ। एकैप्रकारको पोसाकमा खटिने यस्ता अधिकारीहरुले विमानस्थलको अध्यागमन डेस्कमा हुने भीड ब्यवस्थापनदेखि शंकास्पदहरुको निगरानीसम्मको जिम्मेवारी पाएका छन्। उनीहरुलाई पहिलो चरणका लागि पर्यटन मन्त्रालयले उपलब्ध गराएको बजेटबाट करिब ८ महिनाका लागि तलब दिइने छ। त्यसपछिको अवधिका लागि विभाग आफैँले व्यवस्थापन गर्नेछ।

यस्तै  नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई ६ महिना अवधिका लागि इन्टर्नसिपमा परिचालन गरिएको हो। विद्यार्थीहरु आगमन डेस्कमा खटिने छन्।

ex_army_on_duty.JPG

यतिमात्र होइन, अध्यागमनको भौतिक संरचनादेखि सेवासुविधामा समेत परिवर्तन गरिएको छ। नेपाल आउने र नेपालबाट बाहिरिने विदेशी तथा स्वदेशीहरुले पनि यो परिवर्तन अनुभव गर्न थालेका छन्।

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको दुरावस्था भएको भन्दै आलोचना भएपछि यसलाई सुधार्न सरकारले ‘मिसन अध्यागमन’ नै सुरु भएको विभागका महानिर्देशक ईश्वरराज पौडेल बताउँछन्।

‘मिसन अध्यागमन’ कार्यन्वयनको तहमा पुगेको हो,’ महानिर्देशक पौडेलले नेपालखबरसँग भने, ‘हामी केही दिनमै अन्तर्राष्ट्रिय स्तरका आधुनिक उपकरण समेत प्रयोगमा ल्याउदै छौं।’

विमानस्थल अध्यागमन कार्यालयको पुरानो भौतिक संरचना हटाएर विभागले आधुनिक तथा यात्रु अनुकूल डेस्क स्थापना गर्दै त्यहीँबाट सेवा प्रवाह सुरु गरिसकेको छ।

ती संरचना विभागकै प्राविधिकले डिजाइन गरेको हुनाले मौलिक तथा यात्रुका लागि अनुकूल रहेको दाबी विभागको छ।

student_assisting.JPG

सरकारी सफ्टवेयरको प्रयोग
अध्यागमनमा सूचना तथा व्यक्तिगत विवरण राख्न निजी क्षेत्रले उपलब्ध गराएको कम्प्युटर सफ्टवेयर इमीलाई पनि विभागले हटाएको छ। अहिले विभाग आफैँले बनाएको नेपाल पोर्ट नामक सफ्टवेयर प्रयोग गर्न थालिएको छ।

विभागले नेपाली इन्जिनियरहरुलाई परामर्शदाता छनौट गरेर निर्माण गरेको यो सफ्टवेयरका सम्पूर्ण तथ्यांक नेपाल सरकारसँग सुरक्षित हुनेछन्।

महानिर्देशक पौडेलले राष्ट्रिय सुरक्षाका दृष्टिकोणले समेत नेपाल पोर्ट प्रयोगमा ल्याउन अनिवार्य भएकाले यसको निर्माण गरिएको नेपालखबरलाई बताए।

नयाँ सफ्टवेयर प्रयोग गर्नुअघि विभागका २ सय कर्मचारीलाई त्यससम्बन्धी तालिम दिइएको थियो।

new_goods.JPG

अध्यागमनको तथ्यांकको भण्डारण जीआईडीसीमा
अध्यागमन विभागसँग नेपाल भित्रिने तथा बाहिरिने विदेशी तथा स्वदेशी यात्रुका व्यक्तिगत विवरण हुन्छन्। सुरक्षाका दृष्टिकोणले यस्तो तथ्यांकलाई अति सम्वेदनशील मानिन्छ।

अब विभागले ती विवरण सिंहदरबारभित्र रहेको सरकारी एकीकृत तथ्यांक केन्द्र (जीआईडीसी) मा राख्ने भएको छ। जीआईडीसीमा अध्यागमन विभागका लागि बेग्लै स्थान दिएर तथ्यांक भण्डार गरिनेछ।

यस्तै सिंहदरबारस्थित जीआईडीसीमा समस्या उत्पन्न भए हेटौँडामा रहेको लाइभ सेन्टर खोलेर समेत सुरक्षित राख्न सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक पौडेलले जानकारी दिए।

बायोमेट्रिक प्रणाली जडान गरिने
विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजपत्र पहिचान गर्ने मेसिन नहुँदा समस्या पर्ने गरेको थियो। तर, यो समस्या अब टरेको छ। विभागले विमानस्थल अध्यागमन कार्यालयलाई शंका लागेका कागजपत्र जाँचका लागि एफडीयू (फेक डकुमेन्ट चेकर मेसिन) उपलब्ध गराएको छ।

कार्यालयले नेपाल भित्रिने र बाहिरिने स्वदेशी तथा विदेशी नागरिकले उपलब्ध गराएका कागजपत्रमा शंका लागेमा तत्काल यो मेसिनबाट चेक गर्नेछन्। विशेषगरी नक्कली भिसा, पासपोर्टमा छेडछाड र कागजपत्र पत्ता लगाउन यसले सजिलो बनाउने विभागको भनाइ छ।

यस्तै विभागले केही दिनमै विमानस्थल अध्यागमन कार्यालयमा बायोमेट्रिक प्रणाली जडान गर्ने भएको छ। जसअन्तर्गत आखाँको रेटिनाको परिचय राख्ने आइरिस र आगन्तुकहरुको तस्बिर लिने व्यवस्था हुने छ।

नेपाल भित्रिने पर्यटकको बायोमेट्रिक विवरणका साथै उनीहरुको आँखाको रेटिना सहितको तस्बिर विभागसँग सुरक्षित हुनेछ।

IMG_8876.JPG

अध्यागमनमा २४ घण्टै इन्जिनियर
विमानस्थल अध्यागमनमा २४ सै घण्टा द्रूतगतिको इन्टरनेटका साथै तीनवटै सिफ्टमा एकजना इन्जिनियर रहनेछन्। विभागले ‘ट्रवलसुटर’ पद दिएका यी इन्जिनियरहरुले कार्यालयको सफ्टवेयरदेखि अन्य सबै प्राविधिक समस्या आएमा त्यसको समाधान तत्काल गर्नेछन्।

विमानस्थल अध्यागमन कार्यालयमा बारम्बार प्राविधिक समस्या देखाउदै ‘सेटिङ’ मा मानवतस्करी हुनेगरेकाले विभागले यस्तो व्यवस्था गरेको हो।

सोधपुछका आइसोलेसन रुम
विमानस्थल अध्यागमन कार्यालयमा बेग्लै सोधपुछ कक्ष नहुँदा कसुर गर्ने वा शंकास्पद व्यक्तिसँग सोधपुछ तथा प्रारम्भिक अनुसन्धानका काम प्रभावित हुँदै आएको छ। यसको समाधानार्थ विभागले विमानस्थलमा बेग्लै सोधपुछ कक्ष सहितको भौतिक संरचना निर्माण गरेको छ।

यो कोठबाट अध्यागमन अधिकृतको अनुमतिबिना कोही पनि बाहिरिन पाउने छैनन्।

मिसन पर्यटन वर्ष २०२०
नेपालमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनामा काम गरिरहेको सरकारले त्यसअघि सन् २०१९ अन्त्यसम्ममा अध्यागमनको हालत सुधारिसक्ने योजना अघि सारेको थियो।

अध्यागमन विभागको योजनाअनुसार गृहमन्त्रालयले सरोकारवाला मन्त्रालयको समन्वयनमा एक वर्ष अवधिको विशेष कार्य योजना अनुसार यी कार्य भएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयसहित १३ स्थानमा रहेका अध्यामगन कार्यालयमा एकै प्रकारको सेवा सुविधा सहितको सेवा अब उपलब्ध हुने महानिर्देशक पौडेलको भनाइ छ।

अध्यागमन सुधारका लागि कर्मचारी परिवर्तन भन्दा नीतिगत सुधार र प्रविधियुक्त व्यवस्थापनलाई जोड दिइएको पौडेलले दाबी गरे। एउटै विषयमा अध्यामगन कर्मचारी अनुसारको फरक निर्णय र आर्थिक प्रलोभनमा अवैध काम हुने गरेको छ।

अध्यागमनमा बेइमान कर्मचारी छाड्न नमान्ने र इमान्दार कर्मचारी बस्न नसक्ने अवस्थामा सुधार ल्याउनु सबैभन्दा ठूलो चुनौती रहेको महानिर्देशक पौडेल स्वीकार्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad