भिजिट नेपाल २०२० को यती मस्कट बनाउने जिम्मेवारी पाएपछि प्रेमप्रभात गुरुङले स्केचका लागि आङछिरिङ शेर्पालाई अनुरोध गरे। दुई सातामा आङछिरिङले स्केच तयार पारे। अनि त्यो कागजी स्केचलाई आकार दिए मुर्तिकार विजय महर्जनले।
महाराजगञ्जमा विजयको आफ्नै स्टुडियो छ। जहाँ विजयले कुँदेका भगवान, प्रकृति, जनावरदेखि प्रेमिल जोडी सम्मका मुर्ति सुसज्जित छन्। त्यही स्टुडियोमा आकार पाएको यती विश्वभरका पर्यटकलाई नेपाल आकर्षित गर्ने मस्कट बनेको छ।
२० वर्षदेखि मुर्तिकर्ममा लागेका विजयले स्केच हातमा आएपछि शुरुमा माटोको सानो ‘मास्टर पिस’ बनाए। त्यो बनाउन ५ दिन लाग्यो। डिजाइनर आङछिरिङ विजयको स्टुडियो नजिकै बस्थे। उनको डिजाइनले मुर्तिको रुप लिँदा आङछिरिङ पनि निरन्तर सहकार्यमै हुन्थे। जब स्केचमा खिचिएका कतिपय कुराहरु प्राविधिक रुपमा मुर्ति निर्माण गर्न नमिल्दा लाग्छन्, आङछिरिङ र विजय आवश्यक ‘मोडिफिकेसन’ गर्ने निचोडमा पुग्थे।
‘नेपालमा आर्टिस्ट र मुर्तिकारको सहकार्यमा सम्पन्न सायद यो पहिलो ठूलो प्रोजेक्ट होला,’ विजय भन्छन्, ‘भविष्यमा स्केचलाई मुर्तिमा ढाल्न र पेन्टिङ गर्न अप्ठेरो नहोस् भनेर सहकार्यमै डिजाइनलाई केही परिवर्तन गर्यौं। टिमवर्कले ‘मेड इन नेपाल’ यती बनाउन सकियो।’
हिममानव यतीलाई अहिलेसम्म जसले पनि रौंहरु सहितको बाँदर प्रकृतिको बनाएका थिए। आङछिरिङको पहिलो डिजाइन पनि रौंयुक्त नै थियो। त्यसलाई मुर्तिमा ढाल्न र पेन्टिङ गर्न गाह्रो हुने भयो। त्यसैकारण दुई खुट्टाको बीचमा दुई हातहरुसहितको यतीले अन्तिम रुप पायो।
तस्बिरहरू : प्रविन काेइरालात्रिभुवन विश्वविद्यालयबाट फाइन आर्ट्समा स्नातकोत्तर विजयले अन्तिम स्केचलाई माटोको ‘मास्टर पिस’ मा ढालेपछि त्यसलाई मुल आयोजक समितिले स्वीकृत गर्यो। त्यसपछि शुरु भयो, महाराजगञ्जको उनकै स्टुडियोमा त्यसको साँचो निर्माणको काम। साँचोसहित पहिलो मुर्ति तयार गर्न १६ दिन लागेको विजय बताउँछन्। त्यसपछि हप्तामा ३ वटासम्म मस्कटहरु निर्माण गर्न सकियो।
मे २०१९ मा जिम्मा पाएका विजयले भिजिट नेपाल २०२० को शुभारम्भको अघिल्लो दिन डिसेम्बर ३१ सम्म २० वटा मस्कट तयार गर्न सके। जनवरी १ (पुस १६) मा राष्ट्रपति विद्यादेवी भण्डारीले रंगशालामा आयोजित भ्रमणवर्षको शुभारम्भ समारोहमा विजयले आकार दिएका यतीलाई सार्वजनिक गरिन्।
विजय र उनको टिम अहिले यतीका १ सय ८ वटा यस्ता मस्कट बनाउँदैछन्। त्यो संख्या मागअनुसार बढ्दै जानेछ। अहिले वासिंगटनस्थित विश्व बैँकको मुख्यालयदेखि युरोप, अष्ट्रेलिया, एसियाका मुख्य शहरहरु, विभिन्न विमानस्थलहरु, म्यूजियमहरु, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, यूनेस्को सूचिका सांस्कृतिक तथा ऐतिहासिक सम्पदामा एक एक वटा मस्कट राख्ने निर्णय भएको छ।
हरेक थान यती निर्माण गरेवापत उनीहरुले ५ लाख रुपैयाँ पाउँनेछन्। त्यो पैसा केमिकल (रसायन), कामदार, कच्चा पदार्थ, यातायात, चित्रकार लगायतबीच बाडिँनेछ।
विजयले यसअघि पनि केही ठूला आकारका मुर्तिहरु बनाएका थिए। तर, यत्रो संख्यामा ठूलै बजेटको योजना सम्पन्न गरेको भने यो नै पहिलो प्रोजेक्ट हो। जसमा पाएको सफलताले उनी अहिले दंग छन्।
‘नेपाली कलाकारहरुले ढुंगाका ठूला मुर्ति बनाउन सक्छन्। यहाँ अधिकांश हातले नै बनाइन्छ तर मेसिनले बनाउनु पर्ने ठूला प्रोजेक्टहरु भने अहिले प्रायः चीन जान्छन्’, विजय भन्छन्, ‘यसपाली पहिलो पटक नेपालमै ठूलो संख्यामा काम मात्रै भएन त्यसलाई सफलताका साथ सम्पन्न गरियो।’
‘यसले नेपाली मुर्ति निर्माण क्षेत्रलाई एउटा उद्योगका रुपमा स्थापित गरेको उनको ठहर छ।
‘अब नेपाली मुर्ति क्षेत्रमा आवद्धहरु जस्तोसुकै प्रोजेक्टमा पनि काम गर्न सक्षम छन् भन्ने उदाहरण प्रस्तुत भएको छ’, उनले थपे।
आफैंले तयार पारेको यतीको एउटा मस्कटलाई विजयले मार्भल कमिक्स तथा चलचित्रका पात्र ‘आइरन म्यान’को स्वरुप समेत दिए। प्रोजेक्ट संयोजक प्रेमप्रभात समेत आइरन म्यानका फ्यान भएकाले उक्त छवि निर्माणका लागि विजयलाई अह्राएका थिए। जुन प्रेमको ठमेलस्थित दलाई ला बुटिक होटलका अगाडि आगन्तुकहरुलाई स्वागत गरिरहेको छ।

समस्या चिर्दै निकास खोज्दै
प्रोजेक्ट हातमा लिँदा विजयलाई पुस १५ भन्दा पहिले नै जसरी पनि सके बढी नत्र कम्तीमा २० वटा मस्कटहरु तयार गर्नुपर्ने निर्देशन थियो। त्यसअघि यस्तो ठूलो प्रोजेक्ट नपाएकाले विजयसँग टिम नै थिएन। त्यसमाथि फाइबरलाई सही रुपमा प्रयोग गर्न जान्ने मान्छेहरुको कमी थियो।
शुरुमा विजयले केहि मान्छे सामेल गरेर १० जनाको टिम बनाए। टिम त बन्यो तर केमिकल लगायतका सामानहरु नेपालमा उपलब्ध थिएन। कि चीन कि भारतबाट मगाउनुपर्थ्यो। चीनबाट झिकाउँदा ढिलो हुने भएपछि भारतबाट झिकाउने निर्णय भयो।
तर, भारतीय कम्पनीहरुले यसअघि पनि बिग्रिसकेको केमिकल पठाएका हुँदा त्यसबारे उनी सचेत थिए। केमिकलमा सानो खोट हुँदा त्यसले मुर्तिलाई नै असर पार्थ्यो। त्यसैले उनी आफैं भारत गए र एक एक केमिकल चेकजाँच गरेर ल्याए।
वर्षातको मौसममा फाइबरबाट ‘बडी’ को सेटिङ तयार गर्न चाहिने ताप पर्याप्त हुन्थेन। त्यसले काम रोकिन्थ्यो। बीचमा आएका दशैँ, तिहार र छठ जस्ता चाडले पनि काम धकेलिँदै जाँदा समयमै काम नसकिने हो कि भन्ने चिन्ता थपिँदै गयो।
‘यो मेरा लागि कठिन निर्णयको क्षण जस्तो नै भयो, भगवानले पनि मेरो कामको प्रतिक्षा गर्या जस्तो,’ विजय सम्झन्छन्, ‘तर, पनि हामी खटिरह्यौं। आकार ल्याउनका लागि चिसो मौसममा हिटर बालेर ततार्यौं। रातारात काम गर्यौं। केमिकलको गन्धले टाउको बेस्सरी दुख्थ्यो। त्यो पनि झेल्यौं। मैले २० वर्षे मुर्तिक्षेत्रको सम्पूर्ण अनुभव यसैमा खन्याएको महशुस हुँदैथियो।’

प्राज्ञिक मुर्तिकार
विजयलाई सानैदेखि मुर्तिसँगको लगाव बिछट्टै थियो। बाल्यकालमा पनि अरु साथिहरु समुहमा खेल्दा उनका लागि भने मुर्तिहरु नै साथीसंगी हुन्थे। मुर्तिहरु अरुले बिगारिदेला भनेर उनी खाटमुनि लुकाएर राख्थे। बालापनको त्यो रुचि कलेज जीवनसम्म पनि जारी रह्यो। उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पनि यसै विषयमा गरे।
‘कलेज पढ्दा मेरो मन किताबमा भन्दा कल्पनामै हुन्थ्यो,’ उनी भन्छन्, ‘कल्पना गरेका कुराहरुलाई मुर्तिको आकार पनि दिन थालेँ। त्यसले यसक्षेत्रमा लाग्न मलाई झनै लोभ्यायो।’
भोटाहिटीमा उनको कलेज पूरानो भवनमा थियो। मुर्ति बनाउने कोठा भुईंतल्लामा भएकाले चिसो हुन्थ्यो। तर, सबैजना आफूजस्तै मुर्ति बनाउने देख्दा उनी त्यसमै आनन्दित हुन्थे। कक्षामा उनी कमै भेटिन्थे। बरु बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म दिनमा १२ घण्टासम्म मुर्तिलाई आकार दिँदा त्यो चिसो कोठामा बिताएको उनलाई पत्तै हुन्थेन।

स्नातकोत्तरको अध्ययनले भने उनलाई गम्भीर भएर लाग्न प्रेरित गर्यो। उच्च शिक्षाले आफूले के गरिरहेको छु, कसरी फरक गर्नसक्छु र आफ्नो क्षेत्रमा विश्व कहाँ पुग्यो भन्ने ज्ञान सिकाएको उनी मान्छन्।
‘स्नातकोत्तरको अध्ययनले मलाई विश्वमा मेरो काम कुन स्तरमा छ भन्ने ज्ञान दिलायो,’ उनी भन्छन्, ‘उत्तर आधुनिक युगको विशेषता नै एक सोचलाई अर्को सोचले काट्ने हो। कलामा पनि ठ्याक्कै त्यही लागु हुन्छ। मैले आफ्नो कामलाई कसरी फरक र श्रृजनशिल बनाउने भन्ने फाइदा उच्च शिक्षाले दियो।’
भगवान शिवले बदलेको जीवन
बच्चादेखि नै विजयलाई मुर्तिअघि बस्नुपथ्र्यो। आफूले बनाएका सबै मुर्तिहरु आफ्नै अगाडि होस् भन्ने चाहन्थे। त्यही सपनालाई मुर्तरुप दिँदै उनले महाराजगञ्जमा आफूले बनाएका सबै मुर्तिहरु आफ्नै अगाडि हुनेगरि स्टुुडियो निर्माण गरे।
‘अहिले म यहाँ बस्दा मेरा सबै मुर्तिहरु मेरो अघि हुन्छन्,’ आफ्नो स्टुडियो देखाउँदै प्रशन्न मुद्रामा उनले भने, ‘मान्छेहरुले नदेखेको स्वर्गको कल्पना गर्छ। तर मेरो लागि कहीँ जानुपर्दैन। मेरो स्वर्ग यही हो।’
स्टुडियोको एक किनारमा भगवान शिवको मुर्ति राखिएको थियो। शिवको त्यही मुर्तिलाई उनी आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट’ मान्छन्।

एक समय उनलाई आर्थिक समस्याले ग्रस्त बनाएको थियो। त्यससँग जोडिएका अन्य समस्याले पनि पिरोलेको थियो। त्यहीबेला उनले ६ महिना लगाएर शिवको मुर्ति बनाए। त्यो मुर्ति भारतकी आशाराज्य राणाले ५० लाखमा किनिन्। त्यसको दोस्रो थान गायक योगेश्वर आमात्यले ३५ लाखमा किने। त्यसपछि विजयको ‘करियर’ ले कोल्टे फेर्यो।
‘मुर्ति बनाउँदा शिवसँग ‘भगवान म तपाईंलाई बनाउँछु, तपाईं मेरो जीवन बनाइदिनुस्,’ भनेर मनमनै कुरा गरिरहन्थें,’ उनले स्मरण गरे, ‘भगवानले मेरो कुरा सुनेर मलाई बनाइदिए झैं भयो।’

त्यही पैसाले विजयले महाराजगञ्जमा आफै स्टुडियो खोले। उनको जीवन सहज हुँदैगयो। यसपाली यतीको प्रोजेक्टबाट भएको आम्दानीले कारखाना बिस्तार गर्ने उनको योजना छ।
‘आर्टस् असीमित छ, तपाईंको कामको मुल्य तपाईं जतिपनि तोक्न सक्नुहुन्छ,’ मुर्तिकलाप्रति नवआगन्तुकलाई हौसला दिँदै विजय भन्छन्, ‘बजार असीमित छ, असीमित विजनेश गर्न सकिन्छ। असीमित पैसा तान्न सकिन्छ। त्यसका लागि दत्तचित्त भएर, डटेर मन्त्रमुग्ध पार्ने काम भने तपाईंले देखाउनै पर्छ।’
याे पनिः अब विश्वले चिन्नेछ ९ कक्षा ‘ड्रपआउट’ आङछिरिङको यती-कला

प्रतिक्रिया