सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र सबैलाई समान व्यवहार गर्नुपर्ने बताएका छन्।
पुष्पलाल मञ्च नेपालद्वारा आइतबार धनगढीमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलन, संघीयता र समृद्धि’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेता नेपालले गुटका आधारमा कार्यकर्तालाई हेप्ने र च्याप्ने प्रवृत्ति बढेको बताए। ‘पार्टीमा एउटै गल्ती गर्दा कसैलाई फसाउने, कसैलाई पूजा गर्ने प्रवृत्ति बढेको छ’, उनले भने, ‘नियमकानुन सबैलाई बराबर लागू हुनुपर्छ, कसैलाई पाखा त कसैलाई काखा गरिनुहुन्न।’
योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्नेमा त्यस्ता व्यक्तिमाथि अपमान भइरहेको उनको आरोप थियो। उनले पार्टीमा हाटहुटे व्यक्ति हावी भएमा पार्टी सकिने बताउँदै सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार गरेर अघि बढ्नुको विकल्प नभएकामा जोड दिए।
उनले पार्टीको ८९ सदस्यीय सचिवालयमा तीन जनाको नाम थप्न समेत प्रस्ताव गरे। सचिवालय अपूर्ण रहेको भन्दै महिला र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गराउन समेत माग गरे। उनले तत्कालीन एमालेका उपाध्यक्ष र उपमहासचिवलाई सचिवालयमा ल्याउनुपर्ने उनको भनाइ थियो। ‘सचिवालय अलिकति मिलेको छैन,’ उनले भने, ‘उपाध्यक्ष त माथिको पद हो, पूर्व एमालेको हकमा उपाध्यक्ष र उपमहासचिव रहेकाहरुलाई पनि अहिलेको सचिवालयमा ल्याउनुपर्छ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसीसी अनुदान सहयोग नेपालको हितविपरीत भएको जिकिर गर्दै त्यसमा रहेका केही बुँदा सच्याउनुपर्ने बताए। नेता नेपालले तीनै तहका सरकारले एकापसमा समन्वय गरेर विकासनिर्माणका कामलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिए।
उनले भ्रमण वर्ष सफल पार्न तीनै तहका सरकारले विशेष योजना बनाएर अघि बढ्नुपर्ने तथा सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि योजनाबद्धरुपमा लाग्नुपर्ने सुझाब पनि दिए।

प्रतिक्रिया