समाजिक सञ्जालमा साथी बनाएर विदेशबाट विदेशबाट बहुमूल्य सामान पार्सल पठाएको भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इमो भाइवरमा साथी बनाएर सामान पठाइदिएको छु भन्दै ठगी गर्ने दुई विदेशी नागरिकसँगै पाँच जनालाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४० वर्षीय नाइजेरियन नागरिक सिरिल चिनोन्सो इबे, आइभेरीकोस्टका २३ वर्षीय आसापे अड्जी, चितवनका ४० वर्षीय रामचन्द्र गैरे, काठमाडौँ ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन कालिकानगरका ३१ वर्षीय हरि ओझा रहेका छन्।
उनीहरुले सामाजिक सञ्जालमा साथी बनाएर विभिन्न बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भनी इमेलमा झुटो विवरण पठाउने र पठाएको सामान विमानस्थलमा अल्झियो झिक्नका लागि पैसा चाहिन्छ भनि ठगी गर्दै आएको प्रहरीले जनाएको छ। रकम लिनका लागि उनीहरुले नेपालका विभिन्न व्यक्तिहरुको बैंक खाता प्रयोग गर्दै आएको जनाएको छ।
पक्राउ परेका पाँचै जनामाथि ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बडढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। साथै प्रहरीले उनीहरुबाट पीडित व्यक्तिहरुका बारेमा बुझ्ने काम समेत गरिरहेको जनाएको छ।

प्रतिक्रिया