समाज


भारतले नेपालका विभिन्न संस्थालाई दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस

भारतले नेपालका विभिन्न संस्थालाई दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस

नेपालखबर
असार ३१, २०८० आइतबार १३:२८, काठमाडौँ

भारत सरकारले नेपालका विभिन्न संस्थाहरुलाई एम्बुलेन्स र स्कुल बस दिएको छ। 

भारतीय राजदूतावास काठमाडौंले आइतबार नेपालका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो। 

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा एम्बुलेन्स र स्कुल बसका चाबी हस्तान्तरण गरे। 

विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी, समाजसेवी आदिको सो समारोहमा उपस्थित थिए।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ। 

कार्यक्रममा बोल्दै राजदूत श्रीवस्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए।

उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिए। 

लामो इतिहास र विरासत बोकेको र नेपालका धेरै जसो भूभागमा फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उनले बताए।

कार्यक्रममा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे। 

उनले ती परियोजनाले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताए। 

मन्त्री राईले नेपालको हिमालदेखि तराईसम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रशंसा गरे।

सन् १९९४ यता भारतले आजको सहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ। 

यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्‍याउन र यस्ता सुविधाको सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले गर्दै आएको निरन्तर सहयोगको एक भाग रहेको दूतावासले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .