ad ad

समाज


६० किलो सुन प्रकरण : समातिएका तीन चिनियाँले हङकङबाट भारतमा पनि गरेका थिए तस्करी

भारतमा ‘एक्स्पोज’ भएपछि नेपाल सरेका थिए चिनियाँ सुन तस्कर
६० किलो सुन प्रकरण : समातिएका तीन चिनियाँले हङकङबाट भारतमा पनि गरेका थिए तस्करी

उजिर कार्की
भदौ ८, २०८० शुक्रबार २२:१७, काठमाडौँ

यसअघि भारतमा सुन तस्करी गर्ने चिनियाँ गिरोह नेपालमा भएको ६० किलो सुन तस्करीमा संलग्न रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  गरिरहेको अनुसन्धानका क्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको यसअघि भारतमा भएको सुन तस्करीमा पनि संलग्नता खुलेको हो।

भारतमा सुन तस्करीमा कारबाहीमा परेपछि उनीहरुले नेपालमा धन्दा सुरु गरेको खुलासा भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। नेपालमा सुन तस्करीमा पक्राउ परेकामध्ये तीन जना चिनियाँ नागरिकले यसअघि भारतमा पनि सुन तस्करीमा कारबाही भोगिसकेका पाइएको छ। 

राजस्व अनुसन्धान विभागले सुरुमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वाङ लिन, यो पुचेङ र ली वेन सुङ यसअघि भारतीय राजस्व गुप्तचर निर्देशनालयले गरेको कारबाहीमा परेको खुलेको हो। 

सेप्टेम्बर २०१९ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट याओ पुचेङ ६ किलो सुनसहित पक्राउ परेका थिए। विमानस्थलको टर्मिनल ३ बाट उनलाई नियन्त्रणमा लिएको थियो।

पुचेङसँग भारतीय नागरिकता समेत फेला परेको छ भने अन्य दुई जनासँग नेपाली नागरिकता र पासपोर्ट भेटिएको छ। ली वेनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता र राहदानी लिएको पाइएको छ। उनले छिरिङ लामाको नामबाट सन् २०२२ जनवरी १६ मा राहदानी विभागबाट राहदानी लिएको तथ्य भेटिएको हो। 

सीआईबी उच्च स्रोतका अनुसार राजस्वले बरामद गरेको ६० किलो सुन प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनीहरु नै मुख्य संलग्न हुन्। थप अनुसन्धान भइरहेको र केही पहिचान भइसकेका व्यक्तिहरु पनि फरार रहेकाले थप खुल्दै जाने अनुसन्धान अधिकारीले बताएका छन्। 

पक्राउ परेका अन्य चिनियाँ नागरिकको पनि विभिन्न भूमिका देखिएको छ। यस्तै प्रहरीले चिनियाँ नागरिकका भारतीय प्रेमिकालाई पनि पक्राउ गरेको छ। 

उनीहरुलाई यसअघि नै पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ। हालसम्मको अनुसन्धानमा उनीहरुको सुन तस्करीमा संलग्नता भने खुलिसकेको छैन। तर अनुसन्धान भइरहेकाले केही भूमिका हुन सक्ने आशंका प्रहरीको छ। 

अप्रेसन मोल्टेन मेटलमा पक्राउ परेका थिए भारतमा
सन् २०२१ नोभेम्बरमा भारतको राजस्व गुप्तचर निर्देशनालयले गरेको अप्रेसन मोल्टेन मेटलका क्रममा सुन तस्करको र्‍याकेट पर्दाफास गरेको थियो। हवाईमार्ग हुँदै हङकङबाट भारतमा सुन तस्करीमा संलग्न रहेको आरोपमा कैयौं भारतीय तथा विदेशी नागरिकहरुको पहिचान गरिएको थियो। तीमध्ये हाल नेपालमा पक्राउ परेका तीन जना चिनियाँ पनि रहेको खुलेको छ। 

खुफिया एजेन्सीले पहिले मेसिनरी पार्ट्सको रुपमा सुन तस्करी भएको जनाएको छ। भारतमा भित्र्याइसकेपछि उनीहरुले त्यसलाई गालेर अन्य स्वरुपमा बजार पुर्‍याउने गरेका थिए। 

त्यतिबेला अप्रेसनका क्रममा छत्तरपुर र गुडगाउँका धेरै भाडाका घरहरुमा खानतलासी गरेका थिए। त्यसक्रममा दुई जना दक्षिण कोरियाली, एक जना ताइवानी र एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। 

डीआरआईले करिब ८५.५३५ किलो सुन बरामद गरेको थियो। डीआरआईका अधिकारीहरुले गोप्य सूचनाका आधारमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको एयर कार्गो कम्प्लेक्समा जाँच गरेका थिए। चेकिङका क्रममा ट्रान्सफर्मर जडान गरिएका विद्युतीय उपकरणमा सुन फेला पारेका थिए। 

उनीहरुले आयात गरेका ८० वटा विद्युतीय उपकरणबाट सुरुमा एक किलो सुन बरामद भएको थियो। सोधपुछका क्रममा विदेशी नागरिकहरुले गैरकानुनी रुपमा दक्षिण दिल्ली र गुडगाउँका आलिसान इलाकाहरुमा भाडामा लिएका अपार्टमेन्टहरुमा सुन लुकाएको खुलेको थियो। 

त्यसपछि थप व्यक्तिलाई पक्राउ गरेर कारबाही गरिएको थियो। 

अहिले तिनैमध्यका केही व्यक्तिले नेपालमा सुन तस्करी गरिरहेको खुलेको हो। सीआईबीले थप अनुसन्धान गरिरहेको छ। यस सम्बन्धमा सीआईबीले भारतीय प्रहरीसँग पनि समन्वय गरेर थप अनुसन्धान गरिरहेको छ।

सुरुमा यो प्रकरणको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरे पनि अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएपछि सीआईबीलाई जिम्मा लगाइएको थियो। 

राजस्वले साउन ३ गते सुरुमा ब्रेक सुका रुपमा ल्याइएको सुन बरामद गरेको थियो। सँगै केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .