समाज


कान्तिमा बालिकाको मृत्यु प्रकरणमा गल्ती भेटिए कारबाही हुन्छ : स्वास्थ्यमन्त्री

कान्तिमा बालिकाको मृत्यु प्रकरणमा गल्ती भेटिए कारबाही हुन्छ : स्वास्थ्यमन्त्री

त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री बस्नेत। तस्बिर : रासस


नेपालखबर
भदौ २४, २०८० आइतबार १२:४९, काठमाडौँ

स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने बताएका छन्। 

इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै केही दिनपहिले कान्ति बाल अस्पतालमा ५ वर्षीया रेजिशा गोपालीको समयमा उपचार अभावमा मृत्यु भएको घटनाका दोषीलाई कारबाही हुने बताए।

‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु’, उनले भने, ‘मैले इजिप्टबाटै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भए कारबाही हुन्छ।’

मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका विषयमा बृहत् छलफल भएको समेत बताए।

जनसङ्ख्या र स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै एकैसाथ अघि बढाउन सकिए अन्य क्षेत्रको पनि विकास हुने उनको भनाइ छ। 

इजिप्टका स्वास्थ्य मन्त्रीले यसको आवश्यकतालाई ध्यानमा राखेर अर्को वर्ष पनि यो कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए।इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसङख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ गएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .