ad ad

समाज


नेपालमा सुन बरामद भएपछि भागेका चिनियाँ भारतमा पक्राउ

नेपालमा सुन बरामद भएपछि भागेका चिनियाँ भारतमा पक्राउ

उजिर कार्की
भदौ २७, २०८० बुधबार २२:५७, काठमाडौँ

नेपालमा तस्करीको सुन राजश्वको टोलीले बरामद गरेपछि भागेका चिनियाँ नागरिक भारतमा पक्राउ परेको खुलेको छ। 

गत साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ६० किलो ७ सय १७ ग्राम सुन बरामद भएपछि भागेका चिनियाँ नागरिक पेङ योङसिन साउन ४ गते भारतमा पक्राउ परेको खुलेको हो। 

पेङ नेपालमा भित्रिएको तस्करीको सुन हङकङबाट पठाउने मध्येका मुख्य व्यक्ति भएको सीआईबीको निस्कर्ष छ। पश्चिम बंगालको शिलगढीको खरिबारी क्षेत्रबाट भारत प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

भारतीय सशस्त्र सीमा बल उनलाई भारत प्रवेश गर्ने क्रममा पक्राउ गरेको हो। उनलाई जासुसी गरेको आशंकामा पक्राउ गरेको छ। उनको साथबाट एसएसबीले चिनियाँ राहदानी पनि बरामद गरेको छ। 

३९ वर्षीय पेनलाई खरिबारी प्रहरी ठानामा राखिएको छ। सुन प्रकरणमा कारबाही गर्नका लागि उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेको सीआईबी स्रोतले जनाएको छ। 

हङकङबाट नेपालमा ब्रेकप्याडमा रेडि ट्रेडको नाममा एक वर्षमा ३ सय ६२ किलो सुन भित्रिएको सीआईबीको निस्कर्ष छ। झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान गर्ने क्रममा सुन भित्र्याउन प्रयोग गरिएका ब्रेक प्याडका आधारमा उक्त परिमाणमा चिनियाँ गिरोहले सुन ल्याएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

हङकङबाट सुन पठाउनेमा लिन, मिस ली, पेन योङसिन, दावजिङ योङ र झोङ जिङचुआन रहेको सीआईबीको दाबी छ। दावजिङ योङ यसअघि भेपको ९ किलो सुन विमानस्थलमा पक्राउ परेपछि नेपालबाट भागेका थिए। उनी चिन फर्किसकेको प्रहरीले जनाएको छ। 

करिव ६१ किलो सुन प्रकरणमा सीआईबीले ९ विदेशीसहित ३२ जनालाई पक्राउ गरेको थियो। तर भन्सार अधिकृत र टक्सी चालकसहित ७ जनाविरुद्ध मुद्दा नचलाउने राय सीआईबीले दिएको छ। 

पक्राउ परेका मध्ये २५ जनालाई प्रतिवादी बनाउन र फरार चार जनालाई पनि मुद्दा चलाउनु पर्ने निस्कर्ष सीआईबीको छ। फरार रहनेमा अमला रोका, भोला सराफ, जीवन चलाउने र चिनियाँ नागरिक लोरुङ गोम्बो रहेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .