बाँकेका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको निधन भएको छ।
९२ वर्षीय गुप्ताको गएराति उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो।
केही वर्षयता अस्वस्थ रहेका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो। सेनानी गुप्ताका छोरा तथा पूर्वनगरप्रमुख विजयकुमार गुप्ताले उपचारका क्रममा उनको निधन भएको बताए।
नेपालगञ्जको पत्रकारितामा छुट्टै पहिचान बनाएका सेनानी गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गरेका थिए। पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासङ्घले एक दशकअघि सेनानीको उपाधि दिएको थियो।
अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनले बाँकेको पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले बताए। रासस

प्रतिक्रिया