ad ad

समाज


भूकम्प प्रभावित क्षेत्रमा राहतभन्दा भीआईपी ‘आतंक’

भूकम्प प्रभावित क्षेत्रमा राहतभन्दा भीआईपी ‘आतंक’

राष्ट्रपति सवार हेलिकप्टर अवतरण गर्दा भूकम्पपीडित भागाभाग भए। तस्बिर : नेपालखबर


दिनेश बुढा
कात्तिक २२, २०८० बुधबार १६:३३, सुर्खेत

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भूकम्प गएको बुधबार पाँच दिन पूरा भएको छ। गत शुक्रबार (कात्तिक–१७) गते राति ११.४७ मिनेटमा गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रकुमपश्चिमा १५३ जनाले ज्यान गुमाए। 

भूकम्पबाट सयौँ घाइते भए। उनीहरूमध्ये धेरैको अहिले पनि उपचार जारी छ।  

कात्तिक १७ गते राति भूकम्प गएर ठूलो मात्रामा जनधनको क्षति भएपछि शनिबार (कात्तिक १८) बिहानैदेखि राहत घोषणा हुन थाले। 

यसरी घोषणा गरेको राहत सामाग्री भूकम्प प्रभावित जिल्लाको सदरमुकामसमेत पुग्यो। तर, भूकम्पको पाँच दिन पुगिसक्दा पनि ग्रामीण क्षेत्रका भूकम्पपीडितले राहत नपाएको गुनासो झन् झन् चर्को हुँदै गएको छ।

भूकम्पको दोस्रो दिन शनिबार बिहान (कात्तिक १८) गते प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ प्रभावित क्षेत्र जाजरकोटको भेरी नगरपालिका पुगे। 

उनीसँगै सत्तारुढ नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्मा र अर्का उपमहासचिव तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायत नेताहरू हेलिकप्टबाट जाजरकोट पुगे। 

त्यसबेला प्रधानमन्त्री प्रचण्डले भूकम्पको क्षतिबारे जाजरकोटका प्रमुख जिल्ला अधिकारी सरेश सुनारसँग प्रारम्भिक जानकारी लिए। 

त्यसपछि रुकुपश्चिममा भएको भूकम्पबाट क्षतिको निरीक्षण गरे। प्रधानमन्त्रीलाई ल्याएर आएको नेपाली सेनाको हेलिकप्टरबाटले जाजरकोटको नलगाडका सातजना घाइतेलाई उद्धारसमेत गर्यो। रुकुम पश्चिम र जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि प्रधानमन्त्री सुर्खेत हुँदै काठमाडौँ फर्किए। 

भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल
त्यसयता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि भूकम्प प्रभावित क्षेत्र पुगेर घुमिसकेका छन्। 

यस्तै, संघीय सरकारका ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, कर्णालीकै आर्थिक मामिला तगा योजनामन्त्री बेदराज सिंह र आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी जाजरकोट पुग्दै फर्किने क्रम चलिरहेको छ।

यतिमात्रै नभएर राहत तथा उद्धारका नाममा सत्तारुढ नेताहरूले हेलिक्टरमा सवार भएर भूकम्प प्रभावित क्षेत्रमा घुमघाम र घाइतेहरुको उपचार गराइरहेका अस्पतालमा पुग्ने क्रम दैनिकी जस्तै भएको छ। 

कात्तिक २० गते कर्णालीका सामाजिक विकास मन्त्री खड्क पोखरेल र पर्यटन मन्त्री कृष्णबहादुर बिसी सवार गाडीका कारण जाजरकोकोटको रिम्नामा झण्डै तीन घण्टा सडक जाम भयो।

उक्त जाममा प्रभावित क्षेत्रका लागि राहत बोकेका र छाडेर आएका सवारी साधन रोकिएका थिए। भूकम्पबाट घरबावास गुमाएका नागरिकले सुरक्षित छानो खोजिरहेका बेला भीआईपीका नाममा जाजरकोटमा भइरहेका गतिविधिले राहत ढुवानी तथा वितरणमा समस्या बढाएका छन्। 

भूकम्प प्रभावित क्षेत्रमा उपप्रधानमन्त्री खड्का

हेलिकप्टरसँगै स्थलमार्गबाट पनि भीआईपीहरु जाजरकोट आउने जाने चलिरहेको छ। राहतका नाममा विभिन्न संघसंस्था व्यक्तिगत सहयोग तथा विभिन्न पार्टीका नेताहरूको आउजाउले ४ दिनसम्म जाजरकोटको खलंगा बजार भरिएको थियो। भीआईपीहरूको लर्कोबीच मंगलबार (कात्तिक २१) गते बिहान राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगे। 

उनीसँगै रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारकारका आर्थिक मामिला मन्त्री बेदराज सिंह, जाजरकोटका प्रदेशसभा सांसद राजीवविक्रम शाह थिए। यसै समयमा नेपाली कांग्रेसका अधिकांश नेता तथा कार्यकता जाजरकोट पुग्ने होडमा देखिए।

साता लामो युरोप भ्रमण स्थगित गरेर ढिलो गरि भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका राष्ट्रपति पौडेलको प्रशांसा हुनुपर्नेमा उल्टै आलोचना भयो। काठमाडौंबाट सिधै जाजरकोटको भेरी नगरपालिका–१ थाल्पे चौरमा उनी सवार हेलिकप्टर बस्यो।

पौडेल सवार नेपाली सेनाको हेलिकप्टर अवतरण गराउन भूकम्पपीडितहरूको अस्थायी बस्ती हटाइयो। राष्ट्रपति पौडेलको हेलिकप्टर ल्यान्ड गराउने क्रममा भूकम्प प्रभावितका लागि टाँगिएको त्रिपाल हटाएर बस्ती खाली गराइएपछि उनको आलोचना भयो।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्रीसहितको टोली

राष्ट्रपति पौडेलको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई एक साथ परिचालन गरिएको थियो। 

प्रहरीले राष्ट्रपति जाजरकोट आउने भएपछि जाजरकोटको सदरकुकामसमेत रहेको भेरी नगरपालिकास्थित चौर खाली गरेको थियो। 

राष्ट्रपति आउने भएपछि चौरमा पानी खन्याएर धुलो कम गर्ने उपाय लगाइएको थियो। मंगलबार दिनभर जाजरकोट, रुकुमपश्चिममा राहत ढुवानीको कामसमेत ठप्प बनेको थियो। 

राष्ट्रपति पौडले सदरमुकाम खलंगामा रहँदा जिल्ला अस्पतालमा उपचाररत घाइते र बिरामीको अवस्था बुझेर रुकुमपश्चिमका प्रभावित क्षेत्र पुगे। नागरिकलाई राहत र घर बनाइदिने आश्वासन बाँडेका उनी सुर्खेत हुँदै काठमाडौं फर्किए। 

यस्तै, बुधबार नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेत प्रभावित क्षेत्रमा पुगेका छन्। यससँगै जाजरकोटमा भीआईपीहरूको लर्को लाग्ने क्रम जारी छ।

राहत तथा पुनर्स्थापनाको अनुगमनका नाममा भीआईपीको लस्कर र तामझामले नागरिकहरूलाई थप पीडा भएको छ। सदरमुकामबाहिरका कयौँ भूकम्पपीडितले अहिलेसम्म एउटा त्रिपाल पनि पाएका छैनन्।

संघीय र प्रदेश सरकारले आफूहरूलाई बेवास्ता गर्दा राहत वितरण प्रभावकारी हनु नसकेको गुनासो भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती मगरले गरेका छन्। उनले भीआईपीहरू सवार हेलिकप्टरले आतंकै मच्चाएको बताएका छन्। 

भूकम्पपीडितलाई राख्न बनाइएका टेन्ट हटाएर राष्ट्रपति सवार हेलिकप्टरका लागि हेलिप्याड बनाएपछि भूकम्पपीडितहरु अझ रुष्ट बनेका छन्। 

पीडामा परेका नागरिकले राहतस्वरुप एउटा पाल नपाएको अवस्थामा भीआईपीको आतंक देख्नु परेको गुनासो गरिरहेका छन्। जाजरकोटमा अहिले नै अत्यधिक चिसो छ। यस्तोमा धेरै भूकम्पपीडितले न त गतिलो त्रिपाल पाएका छन् न तातो खानेकुरा नै खान पाएका छन्। 

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री

भेरी नगरपालिकाका नगरप्रमुख घर्तीले राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरू हेलिकोप्टरमा जाँदा नागरिक खुला आकाशमुनि रात बिताउन बाध्य हुनुपरेको बताए। 

राहत वितरणमा ढिलाइ भएकोमा प्रमुख घर्तीले सामाजिक सञ्जालमा संविधानले दिएको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार नमिच्न संघीय सरकार र प्रदेश सरकारालई अपील गरे।

उनले भूकम्प प्रभावित भेरी नगरपालिकामा हेलिकप्टर आतंक बन्द गर्न  चेतावनीसमेत दिएका छन्।

‘विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर। संविधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज’, उनले भनेका छन्। 

भूकम्प प्रभावित क्षेत्रमा मन्त्रीहरूको लर्को

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .