समाज


परराष्ट्रमन्त्रीलाई भेटेर विपिनका बाबुआमाले भने- छोरोलाई जसरी पनि सकुशल ल्याइदिनुपर्‍यो

परराष्ट्रमन्त्रीलाई भेटेर विपिनका बाबुआमाले भने- छोरोलाई जसरी पनि सकुशल ल्याइदिनुपर्‍यो

मन्त्री साउदलाई शनिबार महेन्द्रनगरमा भेट गर्दै विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशी। तस्बिर : रासस


रासस
मंसिर २, २०८० शनिबार १२:४१, महेन्द्रनगर

त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्। मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन्। 

‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनुपर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनुपर्‍यो।’

भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए। 

भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए। ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उनले भने। 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उहाँसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए।

गत असोज २० गते हमास समूहले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .