समाज


सुरक्षा परिषद्को विश्लेषण : दुर्गा प्रसाईंको प्रदर्शनमा २० हजार आसपास भेला हुने, ३ दिन नटिक्ने

धार्मिक आवरणमा भेला गरी बैंकलाई निशाना बनाइएको निष्कर्ष
सुरक्षा परिषद्को विश्लेषण : दुर्गा प्रसाईंको प्रदर्शनमा २० हजार आसपास भेला हुने, ३ दिन नटिक्ने

दुर्गा प्रसाईँको प्रदर्शनमा सम्भावित सहभागिताबारे राष्ट्रिय सुरक्षा परिषद्ले गरेको प्रदेशगत आकलन


रामबहादुर रावल
मंसिर ६, २०८० बुधबार २२:९, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ को प्रदर्शनमा सुरुमा ५ लाख समर्थक भेला गर्ने भने पनि २ लाखसम्म पुग्ने आकलन उनको सहयोगी समूहले गरेको छ। 

एमालेनिकट युवा संघले काठमाडौँमा ‘बस्न नदिएको, ठाउँठाउँबाट मान्छे फर्काइदिएको र प्रस्थानबिन्दुबाट पनि आउन नदिएकोले’ अपेक्षाभन्दा कम सहभागी हुने प्रसाईं नेतृत्वको ‘जनता बचाऊ अभियान’को भित्री आकलन छ। 

तर, सरकारका चारवटै सुरक्षा अंगहरूको सहभागिता रहने राष्ट्रिय सुरक्षा परिषदले भने प्रसाईंको शक्ति प्रदर्शनमा २० हजार आसपास मात्र सहभागी हुने अनुमान गरेको छ। 

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग गरी सबै सुरक्षा संयन्त्रबाट प्राप्त सूचना र विश्लेषणका आधारमा परिषदले यो निष्कर्ष निकालेको हो।

परिषद् स्रोत भन्छ, ‘२० हजारमा ४ हजार जति प्लस वा माइनस (तल वा माथि) हुन सक्छ। धेरै फरक पर्दैन।’

यसअनुसार, कम्तीमा १६ हजार र बढीमा २४ हजार हुन्छ।

कोशी: ७,०००
सुरक्षा निकायहरूले बुझाएको प्रतिवेदनअनुसार प्रसाईंको पक्षमा सबैभन्दा बढी कोशी प्रदेशबाट, त्यसमा पनि झापा जिल्लाबाट मान्छे उतारिँदै छ।

कोशी प्रदेशभरिबाट ७ हजार र झापा जिल्लाबाट मात्र ४ हजार जति आउने आकलन छ। झापा प्रसाईंको गृहजिल्ला पनि हो।

त्यसपछि मोरङ र सुनसरीबाट २ हजारले सहभागिता जनाउनेछन्। डेढदेखि २ हजार जति कोसीका अन्य जिल्लाबाट आउनेछन्।

पहाडी जिल्लामा प्रसाईंको प्रभाव नगन्य देखिएको छ।  

मधेस प्रदेशः ६,०००
मधेस प्रदेशबाट कुल ६ हजार जना सहभागी हुने सुरक्षा संयन्त्रको विश्लेषण छ। त्यसमा बारा र पर्साका मात्र ४ देखि साढे ४ हजार हुनेछन्। मधेसका बाँकी ६ जिल्लाबाट डेढ हजारले सहभागिता जनाउने सम्भावना छ।

बागमतीः ७,०००
काठमाडौँ उपत्यकासहित बागमती प्रदेशबाट ७ देखि ८ हजारले सहभागिता जनाउने सुरक्षा संयन्त्रको आकलन छ। सुरक्षा परिषद्‌मा मंगलबार साँझ गरिएको ब्रिफिङअनुसार, उपत्यकाका तीन जिल्लाबाट ५ हजार र आसपासका अरु जिल्लाबाट बढीमा ३ हजार सहभागी हुनेछन्।

गण्डकीः ३,०००
गण्डकी प्रदेशबाट ३ हजार जतिको सहभागिता हुने आकलन छ। परिषद् स्रोतका अनुसार, गण्डकीका पनि तनहुँ र कास्कीबाट धेरै मानिस काठमाडौँ उतार्ने प्रसाईंको तयारी छ। यी दुई जिल्लाबाट २ हजार ५ सय र गोरखालगायतका जिल्लाबाट ५ सयको सहभागिता हुने अनुमान छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमः १,०००
लुम्बिनी प्रदेशबाट १ हजारदेखि १ हजार ५ सयको बीचमा सहभागी हुने आकलन छ।

भारतीय धार्मिक अतिवादको प्रभाव
प्रसाईंले ऋणब्याज मिनाहाको नारा लगाए पनि उनलाई शक्ति प्रदर्शनका लागि ढाढस दिने खास शक्तिचाहिँ धार्मिक संघ–संस्थाहरू रहेको सुरक्षा संयन्त्रको विश्लेषण छ। यसमा पनि दक्षिणी छिमेकी भारतका हिन्दु अतिवादीहरूको साथ रहेको निष्कर्ष सुरक्षा परिषद्ले निकालेको छ।

नेपाल प्रहरीले सुरक्षा परिषद्‌मा गरेको ब्रिफिङअनुसार, प्रसाईंको शक्ति प्रदर्शनको पृष्ठभूमिमा सिंह थरका एक भारतीय हिन्दूवादी नेता रहेका छन्। उनले नै नेपालका धार्मिक संघसंस्था र उग्रवादी संगठनहरू परिचालनमा उत्प्रेरणा दिइरहेको प्रमाण सुरक्षित रहेको प्रहरीको विशेष ब्युरोले परिषद्लाई जानकारी गराएको छ।

हिन्दु युवा बाहिनी दस्ता, बजरंग दललगायत विभिन्न नामका धार्मिक आवरणका संगठनहरूले परिस्थितिलाई भड्काउने र दंगा सिर्जना गर्न सक्ने सम्भावनासम्बन्धी सुराक पनि सुरक्षा निकायहरूले पाएका छन्।

गुलेली आयात, निशानामा बैंक
प्रसाईंको प्रदर्शनकै क्रममा विभिन्न बैंक तथा तिनका शाखाहरूलाई निशाना बनाएर आक्रमण हुन सक्ने सुरक्षा परिषद्ले विश्लेषण गरेको छ।
प्रसाईं स्वयं विभिन्न बैंकबाट ऋण लिएर नतिरेका व्यक्ति हुन्। उनले अरु व्यवसायीलाई पनि व्यवस्था पल्टाउन साथ दिए ऋणमुक्त गराइदिन्छु भन्ने प्रलोभन बाँड्दै हिँडेका छन्।

प्रसाईंको समूहले गुलेलीलगायतका हतियार पनि भित्र्याएको हुन सक्ने आशंंका गरिएको छ। प्रसाईंका एक सहयोगीले यो आन्दोलनमा २० करोड खर्च गर्ने तयारी गरेको नेपालखबरलाई बताएका छन्। 

यति मात्र होइन, २५ देखि ३० जनाका टोली बनाएर आक्रमण वा प्रतिकारका लागि परिचालन गरिरहेको सूचना सुरक्षा संयन्त्रले संकलन गरेको छ। यस्ता २५ वटा जति समूह रहेको सूचना गुप्तचर संयन्त्रबाट प्राप्त भएको छ। 

यसअघि नेपालखबरसँगको कुराकानीमा प्रसाईंका कार्यक्रम प्रमुख हरि कार्कीले ५ हजार जतिको युवा दस्ता रहेको बताएका थिए। 

‘टिक्दैन ३ दिन’
प्रसाईंले आफ्नो प्रदर्शन तीन दिनसम्म चल्ने भने पनि त्यति लामो अवधि नटिक्ने विश्लेषण सुरक्षा निकायहरूले गरेका छन्। 

परिषदका एक अधिकारी भन्छन्, ‘अपेक्षा गरेभन्दा कम उपस्थिति हुने र आफू कमजोर देखिने भएकाले बिहीबार नै वा त्यसको भोलिपल्ट प्रसाईंले कार्यक्रम स्थगित गर्नेछन्। 

रकम जति प्रसाईँको हातमा
सुरक्षा निकायहरूका अनुसार, आर्थिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रसाईँ स्वयंले लिएका छन्।

उनले एक त अभियानकै नाममा बैंक खाता खोलेर देश–विदेशबाट सहयोगका लागि आह्वान गरेका थिए।

दोस्रो, आर्थिक सहयोग गर्न चाहने प्रत्येक व्यक्तिलाई आफैकहाँ बोलाएर रकम बुझ्ने गरेका छन्।

खर्च आवश्यक परेका ठाउँमा प्रसाईँले आफ्नै हातबाट दिने गरेका छन्। सुरक्षा परिषदका एक अधिकारी भन्छन्, ‘प्रसाईँले ठूल्ठूलो रकम कताबाट व्यवस्था गरेका छन् भन्ने स्पष्ट भइसकेको छैन। तर, जहाँ चाहिन्छ, उनले आफैले पैसा दिने गरेको पाइएको छ।’

नेपालखबरले प्रसाईँनिकटस्थ तथा चन्दादाता व्यापारीहरूसँग बुझ्दा पनि यस कुराको पुष्टि भएको छ कि आर्थिक संकलनको काम प्रसाईँ स्वयंले गरेका छन्। उनको भक्तपुरस्थित निवासमै पुगेर रकम बुझाउने व्यापारीले यस कुराको पुष्टि गरेका हुन्।

प्रसाईँका सहयोगीहरूका अनुसार, कतिपयले स्वस्फूर्त रूपमा खाद्यान्न दिएका छन् भने केही पार्टी प्यालेसले सित्तैमा वा कम भाडा लिएर बस्ने व्यवस्था गरिदिएका छन्। 

यस्तै तुल, ब्यानर, पर्चा आदिको जोहो मात्र स्थानीय स्तरबाट वा समर्थक संघसंस्थाहरूले गरेका छन्।

करिब ४३ वटा संघसंस्थाको गतिविधि प्रसाईँलाई सघाउने खालका देखिएका छन्। तीमध्ये अधिकांश स–साना धार्मिक संघसंस्था र तराईँमा धार्मिक आवरणमा केही राजनीतिक तथा हिंसात्मक गतिविधि गरिरहेका संगठन पनि रहेको सुरक्षा परिषद्को विश्लेषण छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .