समाज


विषाक्त खानाले मरे तीन गैँडा

विषाक्त खानाले मरे तीन गैँडा

नेपालखबर
माघ १९, २०७६ आइतबार ८:१४,

चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन्।

शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ। गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो। श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ। यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उनले जानकारी दिए।

श्रेष्ठले भने, ‘ती गैँडाका अ‌गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ।’ मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अ‌गमा कुनै समस्या नदेखिएको उनले बताए। सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उनले विषाक्त तोरीका कारण मरेको पनि हुन सक्ने अनुमान गरिएको जानकारी दिए। यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकिन भन्न सकिने उनको भनाइ छ।

शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन्। यससँगै अन्य कालगतिले मरेका गैँडा बुढो भएर, जुधेर, दलदलमा फसेर र करेन्ट लागेर मरेको उनले बताए। गत कात्तिकदेखि चालु महिनासम्म प्राकृतिक कारणले धेरै गैँडा मर्ने गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । गत साल प्राकृतिक कारणले ४३ गैँडा मरेका थिए। यस वर्ष सात महिना पुग्न लाग्दा १४ गैँडा मरेका छन्।

तुलनात्मक हिसाबले कम गैँडा मरेका भए पनि निकुञ्जले प्राकृतिक कारणको मृत्यु दर अझ घटाउन गृहकार्यमा रहेको जनाएको छ। वन तथा वातावरण् मन्त्रालयले प्राकृतिक कारणले गैँडा मर्नाका कारण पत्ता लगाउन समितिसमेत गठन गरेको छ। अघिल्ला वर्षमा पनि वार्षिक २५ हाराहारी गैँडा कालगतिले मरेको तथ्यांक छ। हरेक पाँचपाँच वर्षमा गैँडा गणना गरिन्छ। पछिल्लो गणनानुसार सो निकुञ्जमा ६०५ गैँडा थिए । यस वर्ष निकुञ्जमा गैँडा गणना गरिँदैछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad