महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कमलपोखरीको संयुक्त टोलीले दिउँसै कार प्रयोग गरी चोरीमा संलग्न चार जनाको गिरोहलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा शैलुङका रवि कार्की, काठमाडौंका राजन खनाल, काभ्रेका उपेन्द्र खरेल र सुनचाँदी पसलका सञ्चालक खोटाङ दिक्तेलका मौलकुमार विक रहेका छन्।
उनीहरुले काठमाडौं भत्केको पुलस्थित डेरा गरी बस्ने विष्णु बहादुर कार्कीको डेराकोठाबाट गत पुस २८ गते २ लाख नगद, २० तोला सुनका गरगहना, मोबाइल चोरी गरेका थिए। चार जनालाई प्रहरी टोलीले यही माघ १५ गते बूढानीलकण्ठस्थित चुनिखेलबाट चोरीका सामानसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार चोरी गरेको सुन उनीहरुले गोकर्णेश्वर ५ मा रहेको निश्चल सुनचाँदी पसलमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ। पसलका मालिक मौलकुमार विक हुन्। उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यसैबीच, प्रहरीले गत पुस २० गते गल्कोपाखा सामाखुसी देवुमार्गमा रहेको अशोक कुमार यादवको डेराकोठाबाट नगद १ लाख २५ हजार र सुन चोरीमा प्रयोग भएको रवि कार्कीको नामको बा३च ६२७६ नम्बरको गाडी समेत फेला पारी अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले चार जनाबाट १ लाख ६० हजार, मोबाइल र पर्स समेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया