समाज


प्रहरी अधिकृतहरूले अब आफूखुसी कार्यक्रममा जान र बोल्न नपाउने

प्रहरी अधिकृतहरूले अब आफूखुसी कार्यक्रममा जान र बोल्न नपाउने

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८० शुक्रबार १४:१७, काठमाडौँ

नेपाल प्रहरीले मातहतका प्रहरी कर्मचारीहरूका लागि कडा निर्देशन जारी गरेको छ। 

प्रहरी महानिरीक्षक वसन्त कुवँरको सचिवालयले केही दिनअघि मातहतका सबै विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका प्रही कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाममा पत्र पठाउँदै यस्तो निर्देशन जारी गरेको हो।

प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न सरकारी तथा गैह्र सरकारी संघ-संस्थाका नीति निर्माण कार्य, साधारण सभा प्रशिक्षण, अन्तर्क्रिया, सम्मान लगायत कार्यक्रममा गएर आफूखुसी बोल्ने क्रमले समस्या ल्याएको जनाएको छ।

‘निमन्त्रणा भएका सम्बन्धित प्रहरी अधिकृतहरूले कार्यक्रमको विषय-वस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा राय सुझाव के-कस्ता हुन सक्छन् भन्ने नजरअन्दाज गरी प्रहरी महानिरीक्षकको सचिवालयमा कुनै जानकारी नदिई आफूखुशी सहभागी हुने र अभिव्यक्ति पनि दिएको देखिएकाले यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, उक्त निर्देशनमा भनिएको छ।

नक्सालले अबदेखि कुनै पनि कार्यक्रममा सहभागी भएर बोल्नुअघि अनुमति लिनुपर्ने पनि नियम ल्याएको छ। ‘प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकता, अनुशासन, कर्तव्य एवम् जिम्मेवारी वोध गरी उदाहरणीय बनी नेतृत्व गर्नुपर्ने  हुँदा अबउप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई आउने निमन्त्रणाबारे प्रहरी प्रधान कार्यालयका विभागहरू, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयहरुले यस सचिवालयमा जानकारी दिई अनुमति लिनु हुन...’ पत्रमा भनिएको छ, ‘काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयहरूले काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट र प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयहरुले प्रदेश प्रहरी कार्यालयलाई जानकारी दिई त्यसबारे प्रहरी महानिरीक्षकको सचिवालयमा विवरण दिने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad