समाज


कपाल मुण्डन गरेर बुवाको किरियामा बसिन् एमाले नेतृ उषाकला

कपाल मुण्डन गरेर बुवाको किरियामा बसिन् एमाले नेतृ उषाकला

नेपालखबर
माघ १२, २०८० शुक्रबार १८:२४, काठमाडौँ

नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राई कपाल मुण्डन गरेर बुवाको काज-किरियामा बसेकी छन्।

कोशी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री एवम् संविधानसभा सदस्यसमेत रहेकी राईका पिता ८७ वर्षीय रुद्रकुमार राईको बिहीबार राति काठमाडौंमा निधन भएको थियो। उनी लामो समयदेखि बिरामी थिए।

बुवाको निधनपछि कपालसमेत मुण्डन गरेकी उनले काठमाडौंस्थित आफ्नो घरमै काज-किरिया थालेकी हुन्। 

उषाकलाले नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा बुवाको अन्तिम संस्कारका क्रममा दागबत्ति दिएकी थिइन्।

त्यसपछि उनी कपाल मुण्डन गरेर घरमै किरियापुत्री बसेकी हुन्। उनका पति एवम् एमाले नेता शेरबहादुर तामाङका अनुसार उषाकला ६ दिनसम्म काठमाडौंमा किरियापुत्री बसेर बाँकी ७ दिनको संस्कार कार्य पूरा गर्न जन्मथलो खोटाङ जाने छिन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले घर भएका उषाकलाका पिता साविक खाल्ले गाविसका पूर्वगाविस अध्यक्ष हुन्।

उनी नेकपा एमाले जिल्ला कमिटी खोटाङका तत्कालीन सचिव थिए। उनी हाल नेकपा एमालेनिकट जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय केन्द्रीय सदस्य पनि थिए।

उषाकला रुद्रकुमारकी एक मात्रै सन्तान हुन्। उषाकलाले यसअघि २०७५ साल पुसमा आमाको निधन हुँदा पनि कपाल मुन्डन गरेर काज–किरिया गरेकी थिइन्।

उषाकलाले सिन्धुपाल्चोक घर भएका पूर्वमन्त्री शेरबहादुर तामाङसँग विवाह गरेकी छन्। पछिल्लो समय छोरीहरू पनि बुवाआमाको निधन हुँदा किरियापुत्रीका रुपमा बस्ने गरेका छन्। 

उषाकलाको यो कदमलाई पति शेरबहादुर तामाङले व्यहारिक रुपमा अन्त्य नभएको लिङ्गीय विभेदलाई पनि एउटा सन्देश दिएको बताए। आफ्ना बाबुआमाको काज-किरिया गर्न छोरो नै चाहिन्छ भन्ने मान्यतालाई यसले तोड्न मद्दत गर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad