समाज


सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमणः कस्तो छ काठमाडौंमा उपचाररत घाइते असईको अवस्था?

सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमणः कस्तो छ काठमाडौंमा उपचाररत घाइते असईको अवस्था?

नेपालखबर
माघ २६, २०७६ आइतबार ३:३,

सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८ अन्तर्गत तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा मध्यराति आक्रमण भएको घटना अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ।

प्रहरी चौकीका इन्चार्जसहित दुई प्रहरी घाइते हुने गरी भएको घटना अनुसन्धान गर्न सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

गत शुक्रबार मध्यराति मोटरसाइकलमा आएका १२/१५ जनाले तिपेनी प्रहरी चौकीमा ढुंगामुढा गर्दा त्यहाँका इन्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन्। असई झाको अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने हवलदार मगर स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि आराम गरिरहेका छन्।

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरे पनि अन्य फरार छन्।

छानबिन समितिका संयोजक प्रहरी निरीक्षक रामचन्द्र घिमिरले घटनाको गम्भीर ढंगले अनुसन्धान सुरु भइसकेको जानकारी दिए।

‘अहिलेसम्म एक जना मात्र नियन्त्रणमा लिन सफल भएका छौं,’ प्रहरी निरीक्षक घिमिरेले आइतबार बिहान नेपालखबरसँग भने, ‘अन्य ६ जना पहिचान गरिसकेका छौं, तिनको व्यापक खोजी भइरहेको छ।’

तर घटनाको ‘सिरियस्ली’ अनुसन्धान भइरहेकाले पक्राउ परेका र पहिचान भएका व्यक्तिको नाम अहिले सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ। ‘अहिल्यै नाम सार्वजनिक गर्दा उनीहरू भाग्ने तथा घटना अनुसन्धानमा असर पर्ने भएकाले गोप्य राखिएको हो,’ उनले भने।

खास आक्रमण कस्तो समूहले कुन उद्देश्यले गरेको हो? नेपालखबरको प्रश्नमा उनले भने, ‘अहिलेसम्म ठ्याक्कै यही हो भन्ने किटान भइसकेको अवस्था छैन, त्यही मादक पदार्थ खाएर आएको उच्छृंखल समूहले अनाहकमा प्रहरी चौकीमा आक्रमण गरेको देखिन्छ।’

घटनामा कतै विद्रोही विप्लव समूहको संलग्नता त छैन?  उनले भने, ‘अहिलेसम्म त्यस्तो कुनै जानकारी प्राप्त भएको छैन, घटनाको अनुसन्धान पूरा भएपछि मात्र यसबारे वास्तविक कुरा भन्न सकिएला।’

‘आज हामी बैठक बसेर यस विषयमा निर्णय गर्दै छौं,’ उनले भने, ‘त्यसपछि अभियुक्तहरूलाई कस्तो कानुनी कारबाही अघि बढाउने भन्ने पनि निर्णय हुन्छ।’

कस्तो छ घाइते असईको अवस्था?
उच्छृंखल समूहको आक्रमणबाट घाइते भएका तिपेनी प्रहरी चौकीका प्रमुख असई  सन्तोषकुमार झा अहिले काठमाडौंको प्रहरी अस्पतालमा उपचारत छन्।

उनको अवस्था सुधारोन्मुख रहेको जानकारी पाइएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।

स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि शनिबार बिहान काठमाडौं ल्याइएका असई झालाई हिजो आईसीयूमा राखेर उपचार गरिएकामा अवस्था सुधार भएकाले अहिले उनलाई सामान्य वार्डमा सारिएको छ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार उनको नाकको डाँडी भाँचिएको छ भने टाउको, निधार र कम्मरमा चोट लागेको छ। आक्रमणकारीले उनलाई चिर्पट, ढुंगा, काठ जे पायो त्यहीले अन्धाधुन्ध प्रहार गरेको प्रहर निरीक्षक घिमिरेले जानकारी दिए।

यसैगरी घटनामा घाइते प्रहरी हवलदार हरिबहादुर मगरको पनि हात, कम्मरलगायत शरीरका विभन्नि भागमा चोट लागेको छ। तर उनी असईभन्दा कम घाइते छन्। स्थानीय मेलम्ची स्वास्थ्य केन्द्रमा उपचारपछि अहिले उनी ब्यारेक फर्किसकेका छन्।

‘दुवैको अवस्था खतरामुक्त भइसकेको छ,’ प्रहरी निरीक्षक घिमिरले भने।

याे पनि : सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमणः घाइते असईलाई उपचारका लागि काठमाडौं ल्याइयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad