झापाको बिर्तामोड नगरपालिका-५ बस्ने इलामको माई नगरपालिका-१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
प्रहरीले बिर्तामोड नगरपालिका-८ गरामनी घर भई त्यही नगरपालिका-५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई
पक्राउ गरेको हो।
झापाको अर्जुनधारा नगरपालिका-६ स्थित बिहानी टोल रोड नम्बर १६ भित्र सडकको दक्षिण किनारा बिग ब्रदर कबडहल अगाडि माया माघ ८ गते मृत भेटिएकी थिइन्।
उक्त घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो।
बिग ब्रदर कबडहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले विवाह प्रस्ताव गर्दा माया पुलामीले दाहिने आँखामा हातले हानेको विषयमा ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ।
प्रसाईविरुद्ध झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Shares

प्रतिक्रिया