समाज


गृहमन्त्रीको चेतावनी : नेता र स्वार्थ समूहले सिफारिस गरे जसको नाम आउँछ उसैलाई कारबाही

भन्छन्- गृह मन्त्रालय हिजोको जसरी चल्दैन
गृहमन्त्रीको चेतावनी : नेता र स्वार्थ समूहले सिफारिस गरे जसको नाम आउँछ उसैलाई कारबाही

नेपालखबर
चैत १, २०८० बिहिबार २०:४४, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेता, तस्कर र स्वार्थ समूहले सरुवा–बढुवाका लागि सिफारिस गरे जसको नाम आउँछ उसैलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

७७ वटै जिल्लाका सुरक्षा समितिका अधिकारीलाई भर्चुअल निर्देशन दिँदै मन्त्री लामिछानेले सरुवा–बढुवाको चिट आउने र गल्ती गर्दा बचाउन सिफारिस गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेका हुन्।

उनले भने, ‘तपाईंहरूको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस्। तर, तपाईंको स्वार्थमा मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन। अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ, उसलाई कारबाही गर्छु।’

मन्त्री लामिछानेले दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्न सबै जिल्लाका सुरक्षा अधिकारीहरूलाई निर्देश गरेका छन्।

निषेधित क्षेत्रः लोकतन्त्रको मजाक
मन्त्री लामिछानेले सबैतिर निषेधित क्षेत्र तोक्नु लोकतन्त्रको भद्दा मजाक भनेका छन्। सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउन नहुने उनको धारणा छ। 

अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्न निर्देशन पनि उनले दिए। 

हिजोको जसरी चल्दैन
तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने पनि सुरक्षा अधिकारीहरूसमक्ष स्पष्ट पारेका छन्।

‘समस्या लिएर आउनेको तत्काल काम गरिदिनूस्। काम नहुने छ भने कारण भनेर कन्भिन्स गरिदिनुस्। नागरिक समस्या लिएर सिंहदरबार आउनु नपरोस्। समाधान नभएका समस्या तपाईंहरूमार्फत सिंहदरवार आओस्,’ सेवाग्राहीमैत्री भएर प्रस्तुत हुन निर्देशन दिँदै उनले भने, ‘चोटाकोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन। गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन। गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नुपर्छ।’

कति दिन रहन्छु, थाहा छैन

उनले गृह मन्त्रालयमा आफू कति दिन रहन्छु थाहा छैन भन्दै जति रहे पनि राम्रो गर्ने र नागरिकलाई आशा दिनुबाहेक अर्को स्वार्थ नरहेको दाबी पनि गरे।

गृह मन्त्रालयले राम्ररी काम गर्न सके मात्र नागरिकले सरकार छ भन्ने अनुभूत गर्ने उनको भनाइ थियो। उनले भने, ‘तर, यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको छ। हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं। सहजरूपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निराश हुन्छ। यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो।’ 

९० दिनको समयसीमा
मन्त्री लामिछानेले सुधारका लागि ९० दिनको समयसीमा तोकेका छन्। अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्ने भन्दै उनले गएन भने गम्भीर समीक्षा हुने चेतावनी पनि दिएका छन्। काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन गर्ने उनले भनेका छन्।

एकपटक समस्या समाधानको प्रण गर्न निर्देशन दिँदै उनले भने, ‘प्रत्येक दिन नागरिकसँग ठोक्किने तपाईं नै हो सरकार, सुधार तपाईंहरूबाटै सुरु गर्नुपर्ने हो। काम गर्ने शैली थोरै परिवर्तन गर्दा परिणाम आउँछ।’ 

एक/दुई जनाले राज्यलाई चुनौती दिए

एक/दुई जनाले राज्यलाई चुनौती दिइरहेको भन्दै मन्त्री लामिछानेले यो क्रम नियन्त्रण गर्न सुरक्षा संयन्त्रसँग भनेका छन्। उनको भनाइ थियो, ‘एक/दुई जनाले राज्यलाई चुनौती दिइरहेका छन् तर हामी मौनजस्तै छौं। यो क्रम कहिलेसम्म?’

सरकारले काम गर्न नसक्दा नै समाजमा निराशा बढेको, बेथितिमा रमाउने बानी परेको र समाज कस्तो हुनुपर्छ भन्ने पनि बिर्सिएको उनको टिप्पणी थियो। उनले अगाडि भने, ‘मलाईभन्दा तपाईंलाई थाहा छ, कहाँ बिग्रिएको र कहाँ सुधार्नुपर्छ भन्ने। तर, खै त सुधारेको?’ 

कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad