समाज


तराईका २२ जिल्लामा आज होली, मधेसमा दुई दिन सार्वजनिक बिदा

तराईका २२ जिल्लामा आज होली, मधेसमा दुई दिन सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
चैत १२, २०८० सोमबार ९:४४, काठमाडौँ

तराई मधेसका २२ जिल्लामा आज होली पर्व मनाइँदै छ। नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आइतबार होली मनाइएको थियो। 

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई मधेसका जिल्लामा होली पर्व मनाउने परंपरा छ। आज तराई मधेसका जिल्लामा साथीभाइ तथा आफन्तहरू मिलेर रंगहरु दलेर एक आपसमा खुसी साटासाट गर्दैछन्। 

होली पर्वको अवसरमा संघीय सरकारले आज तराई मधेस क्षेत्रका २२ जिल्लामा सार्वजनिक बिदा दिएको छ। मधेस सरकारले भोलि (मंगललबार) पनि मधेस प्रदेसमा होलीको बिदा दिएको छ। 

मधेस सरकारको मुख्यमन्त्री कार्यालयका उपसचिव विपिनकुमार ठाकुरले विगतको परंपराअनुसार भोलि पनि मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिए। 

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा आज होली मनाइँदै छ। 

सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरङ्गित तुल्याउने होलीलाई उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिने गरिन्छ।  

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको संस्कृतिविद्हरुको भनाई छ। धार्मिक महत्व सँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न पनि होलीको विशेष भूमिका छ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको हो। 

रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ। 

मधेस प्रदेशमा होलीलाई विशेष पर्वको रुपमा मनाउने प्रचलन छ। तराई मधेस क्षेत्रमा होलीमा गाइने जोगिरा सरर ...गीत प्रख्यात छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad