ad ad

समाज


पहिलो दिनको एसइई शान्तिपूर्ण, परीक्षा हलमा पर्यवेक्षण र तस्बिर लिन निषेध

पहिलो दिनको एसइई शान्तिपूर्ण, परीक्षा हलमा पर्यवेक्षण र तस्बिर लिन निषेध

तस्बिर : रासस


नेपालखबर
चैत १५, २०८० बिहिबार १४:३०, काठमाडौँ

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए।

उनका अनुसार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो।

चैत २७ गते सम्पन्न हुने परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित आवश्यक तयारी गरिएको उनले बताए। 
 
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए।

परीक्षामा केही परीक्षार्थीको सङ्ख्या घटेको हुनसक्ने परीक्षा नियन्त्रक पौडेलले बताए। उनका अनुसार कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन्।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनैपर्ने बताए।

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ।

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए। विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्।

परीक्षा हलमा पर्यवेक्षण र तस्बिर लिन रोक
यस वर्षको एसइई परीक्षाका क्रममा हलमा प्रवेश गरेर पर्यवेक्षण गर्न र तस्बिर लिन रोक लगाइएको छ। 

परीक्षार्थीले परीक्षा दिइरहेका अवस्थामा हलभित्र प्रवेश गरी पर्यवेक्षण गर्न र तस्बिर खिच्न नपाउने निर्णय गरिएको हो।

यससँगै पत्रकार, पर्यवेक्षक वा अन्य व्यक्तिलाई तस्बिर खिच्न रोक लगाइएको शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरकी प्रमुख कमला ज्ञवालीले जानकारी दिइन्।
    
समितिकोे बैठकले गरेको निर्णयानुसार आजदेखि सुरु भई १७ गते सम्पन्न हुने एसइई परीक्षाको हलभित्र परीक्षा दिइरहेको अवस्थामा प्रवेश गरी तस्बिर लिन रोक लगाएको उनले जानकारी दिइन्।

परीक्षा हलमा अनुगमन, पर्यवेक्षक र पत्रकारको नाममा जथाभावी प्रवेश गर्ने र तस्बिर लिने गर्दा विद्यार्थीलाई परीक्षामा बाधा पुग्ने गुनासो धेरै ठाउँबाट आएपछि यस्तो निर्णय गरिएको ज्ञवालीले बताइन्।
        
उनका अनुसार शिक्षा विकास तथा समन्वय एकाइसँग समन्वय गरी आधिकारिक परिचयपत्रसहित बाहिरी वातावरणको मात्र पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .